अर्बपति चौधरीलाई त्रिपाठीसँगको प्रतिस्पर्धा कति सहज ?

मेचीकाली संवाददाता

२ कार्तिक २०७९, बुधबार
268 shares

हरि शर्मा
परासी । डलर अर्बपति विनोद चौधरी यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसबाट चुनाव लडेका चौधरी हरेक दिन मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् ।

मतदातालाई रिजाउन उनी मोटरसाइकलमा चढेर विभिन्न स्थानमा आयोजना गरिएका कार्यकर्ता भेटघाट कार्यक्रममा पुग्ने गरेका छन् । कहिले किसानको गोठमा पुगेर गाईवस्तुको बारेमा जिज्ञासा राख्ने, कहिले किसानको खेतमै पुग्ने त कहिले स्थानीयसँग बसेर कागजको प्लेटमा भात खाँदै गरेका फोटालाई अहिले जिल्लाका अन्य राजनीतिक दलले रोचकका साथ हेरिरहेका छन् ।

चौधरीले केही फोटाहरु आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरेका छन् भने केही फोटा कांग्रेस कार्यकर्ताले अपलोड गरेका छन् । सार्वजनिक गरिएका फोटाहरुमा कतिपयले अग्रीम शुभकामना दिएका छन् त कतिपयले नयाँ पाहुना र पर्यटकको संज्ञा दिँदै चुनाव जिते फर्केर नआउने भनेर आलोचना गरेका छन् । एकपटक एमाले र अर्कोपटक कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिक सदस्य बनेका चौधरी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।

कांग्रेसका जिल्ला नेताहरुको असन्तुष्टिका बीच पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा टिकट ल्याउन सफल भएका चौधरीलाई चुनाव जित्न भने त्यति सहज नभएको कांग्रेसको राजनीतिलाई नजिकबाट हेरेका जिल्लाका राजनीतिकर्मीहरु बीच चर्चा हुन थालेको छ । एकातिर कांग्रेसभित्रकै असन्तुष्ट नेतालाई मिलाउनु र अर्कोतर्फ उनका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष एंव पूर्वमन्त्री हृदयेश त्रिपाठीले एमालेको समर्थन पाउनु चौधरीका लागि चुनौती बनेर आएको छ ।

त्यसबाहेक अर्को चुनौती गठबन्धन घटकको माओवादी केन्द्रले स्वतन्त्रबाट उम्मेदवारी दिनु पनि रहेको छ । कांग्रेसले सहमति विपरीत प्रदेशसभा ‘ख’ मा उम्मेदवारी दिएको भन्दै माओवादी केन्द्रले प्रतिनिधिसभामा स्वतन्त्रबाट उम्मेदवारी दिएको छ । चौधरीले टिकट ल्याएपछि संविधानसभा सदस्य एवं पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल र अर्का संविधानसभा सदस्य देवकरण कलवार असन्तुष्ट छन् । यद्यपि कलवार फकाउन गठबन्धनको सहमतिविपरीत गएर प्रदेशसभामा उम्मेदवारी दिइएको छ । त्यस क्षेत्रमा प्रभावशाली मानिने प्रदेश महामन्त्री खनाल उम्मेदवारी दर्ताको दिनबाहेक चौधरीको साथमा देखिएका छैनन् ।

हरेक दिन भइरहेका चुनावी कार्यक्रममा चौधरीसँग खनाल नदेखिएपछि कांग्रेसभित्रको असन्तुष्टीले चुनावमा प्रभाव पार्न सक्ने कार्यकर्ताहरुले आँकलन गरेका छन् । उम्मेदवार मनोनयनका दिन घरमै पुगेर खनाललाई सँगै हिँडालेका चौधरी त्यसदिनबाहेक खनालको सम्पर्कमा नरहेको कार्यकर्ताहरुले बताएका छन् । चौधरी आफूसँग सल्लाह गर्न नआएसम्म चुनाव प्रचारप्रसारमा नजाने अडानमा खनाल रहेको बताइएको छ । खनालले आफ्नो आगामी दिनको राजनीतिक सहयोगको प्रतिबद्धता नजनाएसम्म चौधरीको प्रचारप्रसारमा ननिस्कने मनशाय बनाएको उनीनिकट एक कार्यकर्ताले बताएका छन् ।

पार्टीभित्रको असन्तुष्टी, गठबन्धनभित्रकै असहयोग, नयाँ निर्वाचन क्षेत्र र ६ पटकको चुनावमा एकपटक मात्र हारेर अहिले फेरि एमालेको समर्थनमा चुनाव लडेका नेपाली राजनीतिका चुतर खेलाडी त्रिपाठीसँगको प्रतिस्पर्धा नै उद्योगपति चौधरीको चुनावी कठिन यात्राका रुपमा हेरिएको जिल्लामा चर्चा हुन थालेको छ ।