साथीको हत्या आरोपमा २२ वर्षीय युवक पक्राउ

मेचीकाली संवाददाता

२ असार २०८०, शनिबार
141 shares

बुटवल। आफ्नै साथीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाबाट एक युवकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ का १८ वर्षीय सुमन कुँवरको हत्या आरोपमा उनकै साथी तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका २२ वर्षीय ज्ञानबहादुर कुँवर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत जेठ ३० गते साँझ ७ बजेतिर सुमन मृत अवस्थामा फेला परेका थिए । स्थानीय देवनाथ कुँवरको जस्ताले छाएको पक्की खाली घरमा सुमन मृत फेला परेपछि अनुसन्धानको क्रममा ज्ञानबहादुरले उनको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर थापाले जानकारी दिए ।

डिएसपी थापाले मृतक र आरोपित दुवैजना केही समययता सँगसँगै खाने, बस्ने, घुम्ने गर्दै आएको र सोही क्रममा उत्पन्न भएको सामान्य विवादका कारण ज्ञानबहादुरले सुमनको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए । ‘केही समययता मृतक र हत्या आरोपित दुवैजना सँगसँगै खाने, बस्ने, घुम्ने र लागूऔषध (गाँजा) सेवन गर्दै आएको अनुसन्धानबाट देखिन्छ, सोही क्रममा सामान्य विवाद उत्पन्न भएपछि आवेगमा आएर सुमनको हत्या गरेको आरोपितले स्वीकार गरिसकेका छन्,’ डिएसपी थापाले भने ।

डिएसपी थापाका अनुसार दुवै जनाले गाँजा सेवन गरेपछि सामान्य विवाद हुँदा ज्ञानबहादुरले आफूभन्दा कम उमेरको भएर मुख लागेको भन्दै तत्काल आवेशमा आएर सुमनलाई चापाकलको ह्याण्डिलले प्रहार गरेका थिए । जेठ ३० गते साँझ सुमनको हत्या गरेपछि फरार भएका ज्ञानबहादुरलाई तिलोत्तमा नगरपालिका वडा नं. ११ रामनगरमा लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।