क्षयरोगको परीक्षण र उपचार प्राथमिकतामाः नगरप्रमुख अर्याल

मेचीकाली संवाददाता

३१ श्रावण २०८०, बुधबार
186 shares

पार्वती आचार्य

कपिलवस्तु । समुदायमा क्षयरोगको परीक्षण र उपचारलाई पहिलो प्राथमिकतामा राखिएको वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताए । क्षयरोग कार्यक्रमको स्थानीय तह जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीसँगको समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै अर्यालले सो कुरा बताए । विगत तीन वर्षदेखि समुदायमा जाने बिरामीलाई खोजपताल गर्दै जनस्थरमा नगरका स्वास्थ्यकर्मीहरुले प्रचार प्रसार गर्दै आएको बताए ।

आफूले गरेका कार्यहरुको रिपोर्ट समयमा नै सबैले तयार गर्न आग्रह गर्दै जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा बढी क्षयरोगका बिरामीहरु बाणगंगा नगरपालिकामा नै देखिएको हुँदा एघार वटै वडाहरुका स्वास्थ्यकर्मीहरु संवेदनशील भएर लाग्न आग्रह गरे । गत आर्थिक वर्षमा क्षयरोग मुक्त अभियान कार्यक्रममा बाणगंगा नगरपालिका प्रदेशमै प्रथम भएको थियो । यस क्षयरोग निवारणको लागि पालिकाले बिगतका वर्षहरुदेखि लगानी गरी समुदायस्तरमा अभियानहरु संचालन गरी क्षयरोगका बिरामीहरुको पहिचान गर्दै आएको प्रमुख अर्यालले बताए ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका क्षयरोग फोकल पर्सन मोहमद इरफानले क्षयरोगको उपचार निशुल्क हुने र यस रोगको औषधी देशभर निशुल्क पाइने बताए । उनले कपिलवस्तु जिल्लामा यसको अवस्थाको बारेमा बताउँदै कोभिड १९ को समयमा क्षयरोगका बिरामीहरुको संख्या घटेको थियो भने पछिल्लो २ बर्षमा बिरामीहरुको संख्यामा बृद्धि भएको बताए ।
जिल्लामा आर्थिक वर्ष ०७८÷०७९ मा ९ सय क्षयरोगका बिरामी फेला परेका थिए भने ०७९÷०८० मा ९ साय ७ जना क्षयरोगका बिरामी फेला परेको बताए । जिल्लामा ६ लाख बढी जनसंख्यामा १ हजार ३ सय ६० क्षयरोगका बिरामीको खोजपतालको लक्ष रहेकोमा जम्मा ७ सय ९ जना बिरामी फेला परेका छन् । अझै समुदायमा रोगलाई लुकाएर बसेका ४ सय ५३ जना क्षयरोगका बिरामीहरुलाई खोज्न बाँकी रहेको क्षयरोग फोकल पर्सन मोहमद इरफानले बताए ।

बाणगंगा नगरपालिका जिल्लाको एक मात्र क्षयरोग मुक्त अभियान नेपाल कार्यक्रम लागू भएको नगरपालिका हो । यो कार्यक्रम सम्पन्न पार्नका लागि हरेक बर्षको दुईपटक समुदाय स्तरमा गएर स्वयंमसेवकहरु परिचालन गरी क्षयरोगीहरुको खोजी गरिरहनुका साथै नियमित रुपमा नगरभित्रका स्वास्थ्य संस्थाहरुमार्फत संकास्पद क्षयरोगीहरुको खोजीगरी जाँचसमेत गर्दै आएको बाणगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले बताए । गत आर्थिक वर्षमा क्षयरोग मुक्त अभियान कार्यक्रममा बाणगंगा नगरपालिका प्रदेशमै प्रथम भएको थियो ।

सेप द चिल्डे«नका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहले क्षयरोग के हो ? क्षयरोगका लक्षण, कसरी थाहा पाउने ? क्षयरोग रोगको परीक्षण के हो ? क्षयरोगको उपचार कसरी र कहाँ गर्ने ? यसको अवस्था के छलगायतको बारेमा सहजीकरण गरेका थिए । साथै क्षयरोग अन्त्य गर्ने रणनीति २०३५ का ३ खम्बारहरु, क्षयरोगको सेवा एकीकृत र बिरामीमुखी हुनु पर्ने, मजबुद निती तथा सहयोगी प्रणाली हुनु पर्ने र तिब्र केन्द्रिकृत खोजपडताल, उद्देश्य, रणनीति र औलो परीक्षणको अवस्थाको बारेमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरी, नगरका सम्पूर्ण वडा अध्यक्ष, पिपरा अस्पतालका मेडिकल अधिकृत गणेश क्षेत्री, नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीहरु र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा किड्स कपिलवस्तुको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग, जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तु र वाणगंगा नगरपालिकाको सहकार्यमा बाणगंगा नगरपालिकामा कार्यक्रम सम्पन्न भएको थियो ।