कपिलवस्तु अस्पतालमा प्रसुती गराउनेको संख्या बढ्दै

मेचीकाली संवाददाता

३१ श्रावण २०८०, बुधबार
1239 shares

सुनिल आचार्य

कपिलवस्तु । पछिल्लो समयमा कपिलवस्तु अस्पताल तौलिहवामा प्रसुती गराउनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारको निती अनुसार अस्पतालले दिंदै आएको सेवा प्रति नागरिकहरु सन्तुष्टि भए पछि अस्पतालमा प्रसुती गराउने संख्यामा बृद्धि हुँदै गएको अस्पतालले जनाएको छ ।

०७९ साउन देखि ०८० असार मसान्त सम्म २ हजार १ सय ९ जना महिलाले अस्पतालमा प्रसुती सेवा लिएका छन् । यस्तै चालु आर्थिक वर्षको साउन महिनाको १ गते देखि साउन ३१ गते सम्म २ सय २९ महिलाले अस्पतालमा प्रसुती गराएका छन् । दक्ष जनशक्तिद्वारा अप्रेसनको समेत सेवा सुविधा राम्रो र व्यवस्थित भएको हुँदा अस्पतालमा प्रसुती गराउने संख्या बढ्दै गएको कपिलवस्तु अस्पतालका डाक्टर विपिन जैसवालले बताउनु भयो ।

यसैगरी प्रोटोकल अनुसार गर्भजाँच गराएका गर्भवती महिलाहरुले सुत्केरी पश्चात प्रोतसाहन स्वरुप न्यानो झोला र यातायात बापत रु. १ हजार रुपैंया र ४ पटक गर्भजाँच गराएको रिपोर्टको आधार अनुसार रु. ८ सय रुपैंया गरी जम्मा रु. १ हजार ८ सय रुपैंया रकम समेत समयमा नै प्राप्त गर्न थाले पछि अस्पतालमा सुत्केरी गराउनेको संख्या बढ्दै आएको कपिलवस्तु अस्पतालका डाक्टर जैसवालले बताउनु भयो ।

यस्तै ०७८/०७९ मा २ हजार २ सय ४३ जनाले प्रसुती गराएका थिए । भने ०७७/०७८ मा १ हजार ७ सय ३४ जना महिलाले कपिलवस्तु अस्पतालमा प्रसुती गराएको अस्पतालका सिनियर अनमी आशा थापाले बताउनु भयो । अस्पतालमा शिवराज , बुद्धभूमि , महाराजगंज , कृष्णनगर नगरपालिका , मायाँदेवी गाउँपालिका , यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिकाबाट प्रसुती गराउन आउने गरेको सिनियर अनमी थापाले जनाउनु भयो ।

यसैगरी कपिलवस्तु अस्पतलमा जटिल तथा सामान्य प्रसुतीका लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाका मन्त्री सन्तोष कुमार श्रीवास्तवले सहज रुपमा उपलब्ध गराउँदै आएको कपिलवस्तु अस्पतालले जानकारी दिएको छ ।