‘आजभोली आफ्नै मनसँग प्रश्नको जवाफ मागीरहेको छु’

मेचीकाली संवाददाता

३२ श्रावण २०८०, बिहीबार
264 shares

दिलिप धड्कन

अस्ति भर्खर म नेपाल छोड्नुअघी जहाजको भित्रबाट एकतमासले मेरो देश नियालिरहेको थिएँ । गजधुम्म परेका काठमाडौ का रंगिन घरहरु अनि मुसुक्क मुस्कुराईरहेका सेता हिमालका चुचुराहरु त्यसैमाथी सुस्तरी चुपचाप बगिरहेका नदिका ताँतीहरु आहा । परेलीको डिलबाट तप्प तप्प खस्दै गरेका आँशुका बुँदहरुलाई टिस्यु पेपरले पुछ्दै जहाजको १३ नम्बरको झ्यालबाट आमा खोजिरहेको हुन्थें । हरेक गोधुली साँझ, श्रावणको सिमसिम झरी, उजेलीमा त्यही झरीसंग साईनो लगाउदै गरेको इन्द्रेणी, चिसो पवनको झोँका, विभिन्न ताल र नदीको हरेक बुँदमा झंकार खोजिरहेको हुन्थें । कतै माथि हरियो डाँडामा जलिरहेको रक्तिम दरबार जस्तै देखिने बिजुली बत्तीका लहरहरु ।

साँची, कति सुन्दर कति रंगीन हुन्थ्यो होला मेरो समय यदि गरिबीले न तड्पाएको भए ।मेरो जिन्दगी संङ्ग तातो कफी–चिया अनि बिहानीको प्रहरमा हिउँका डल्लाहरुसंङै जमेको न्यानो अनुभूति बटुलीरहेको म बिचरो आज खाडीको ५५ डिग्रीको तातो घाममा पोलिनु परेको छ । जिन्दगीलाई पानीका हरेक थोपामा टल्केका हरेक बिम्ब हरेक छायाँ अनि कर्कलाको पानीको संज्ञा दिईरहन्छु । अनि मेरा हजारौँ सपनाहरु, रहरका लहरहरु सुदूरकी सुन्दरीझैँ किनाराबाट टोलाएर हेर्छन्। गहिरिएर हेर्छु म जीवनको जीवन्तता। त्यही रङमा मुस्कुराएका ती मनहरु । शब्दका गुच्छाहरू उडेर काहा हो कहाँ छरपस्ट फिँजारिएका हुन्छन । मौनताको घेरो उथलपुथल हुन्छ । कंटाकिर्णमय जीवन क्रन्धित आवाज बोकेर आज अरब भासिन बाध्य छ उफ्फ्फ मेरो जिन्दगी ।

कहिलेकाही सोच्ने गर्छु स्वतन्त्र भएका शब्दभित्रका वाक्यहरू त्यही चिसाम्य साँझमा, निसङ्कोच निर्विघ्न भए जस्तै लाग्छ । अनि त्यतिबेलै लागेको हो म जीवन बाँचिरहेछु शब्दहरूको देशमा ।जहाँ केही अहंकार थिएनन, विरक्त्तिएका अध्यायहरू खोज्नुपर्थ्यो । केवल नयाँ उज्यालो जहाँबाट सुरुवात हुन्छ एउटा सुन्दर जीवनचित्र त्यो एउटा अबिष्मरणिय साँची बन्दोरहेछ । आखिर उदाईरहने सूर्यको कोमल प्रकाश हो अथवा मध्य सूर्यको राप हो, शितल जूनको छायाँ हो या बिउँझिएरै देखिने मीठो स्वप्न हो जिन्दगी यस्तै यस्तै लाग्दोरहेछ जब म शिशिरमा झरी देख्छु नि, त्यो पानीको हर बूँदमा मेरै जिन्दगीको कहाँनी देख्छु । अनि त्यही बूँदको निश्छलतामा त्यो महाद्वीपबाट सुदूर अनि म एकएक बुँद मनको बलेसीमा समालेर राख्छु यो उराठ गृष्म मरुभुमीको याममा ।

अँध्यारोमै मेरो अँध्यारो जिन्दगीले अँध्यारो आकृति बनाईरहेको जस्तो आभाष हुन्छ तर म देख्न सक्छु मेरो देश यहाँबाट पनि । टेबलमाथि छरपस्ट किताबहरु हुँदा अनि तिनै किताबबाट उडिरहन्छन् अक्षरका झिल्काहरु, यी अक्षरहरुको परितप्तता सङ्ग्रह गरेर म मेरो देश लेख्न रुचाउँछु । सम्बन्धहरु टुक्रा–टुक्रा भएर फुटून् । अप्ठेरा शृंखलाहरु चाङ बन्दै जाऊन् । गोमनसाँप, चील र गिद्ध बनेर दिमाग लुछून्, र जिन्दगीको सङ्घर्षमा एउटा पहाडजस्तै बनेर उठून् । तैपनि मनहरु हिम्मत हार्दैनन् तिनै बाटोहरु हिँड्न किनभने मभित्र उदाउँदो सूर्य, हाँसिरहेका हिमशृंखलाहरु, स्वच्छ हावा, हरियाली वातावरण, कलकल बगिरहेको पानी, चिरबिर चराहरुको आवाज र म ब्युँझिदा न्यानो घामजस्तै पोखिने नेपाल आमाको मुस्कान ममाथि छ अनि माया र ममता छ ।

मान्छे दोवाटोलाई क्षणिक मिलन वा विछोडको विन्दु मान्छन् होला तर म आएको अरबको मरुभुमी कुवेत विन्दुलाई चौबाटो भन्न रुचाउँछु किनकी दोबाटोमा छुट्टिएकाले त कम्तिमा चाल पाउँछन्, त्यसपछि को कता गयो । चौबाटोका यात्रीलाई त को कुन दिशामा गयो भन्ने पनि थाहा हुँदेन । कताबाट आएको थियो भन्ने पनि हेक्का हुँदैन । गन्तव्यलाई हरेक पाइलाको योगफल सम्झने हरु चौबाटोको मिलनमा पनि अथाह सम्भावना देख्छन होला । यो पनि हेक्का होस कि आकाशमा चम्किने विजुलीको पनि एक अर्थ छ । घाम, पानी र प्रकाशको दुर्लभ संयोग ईन्द्रेणी बन्छ भन्ने पनि थाहा नभएको होइन त्यहि अल्पायु ईन्द्रेणीले मान्छेलाई मान्छे बनाउने सामर्थ्य राख्छ भने यो समयले किन मलाई केही नदेला र ? मुख्य कुरा उपयोग गर्नेको हातमा छ । यस्तै यस्तै तर्कशील कुराले मेरो वैचारिक शक्ति बौरिन थालेको छ आजभोली ।

आशन होइन आदर्श चाहिएको बेला अनि कर्तब्य भन्दा बढी आर्जन चाहियो भन्ने यो समाजमा आफ्नै पाराले रजाँई गरुँ भनेपनी आफ्नै सहयात्रीको दमन अपरिहार्य हुँदोरहेछ ।जोरी खोज्नेहरुलाई उथलपुथल गराउन कमजोरीको अध्यन आवश्यकता पर्दोरहेछ जिबनमा । जति दुख ग¥यो उति ढाडस दिन सजिलो भएपछी आफ्नै भाग्यको रोदन खोजिँदोरहेछ अनि बिपना बुझ्ने सज्जनहरुको खोजी हुँदोरहेछ ।

जेहोस दुख पछि सुख आउछ भन्थे आफू त उस्ताको उस्तै छु अरुहरुका जिबनले परिबर्तनको जिन्दगी ब्यतित गरिरहदा आफू भने खाडीको मरुभुमीमा लम्पसार पर्नुपरेको छ । जिबनको डुङ्गा कहाँ कतिबेला पल्टिन्छ भनेर सोच्दासोच्दै रात बितेको पत्तो पाउँदिन तरपनी मन मनसंग प्रश्न गरिरहन्छु र उत्तर जिन्दगीसंग मागीरहेको हुन्छु । एकतमासले सिचिरहने मस्तिष्क कहिले छताछुल्ल हुन्छ भन्ने डर मात्रै लाग्दोरहेछ । बस यो त मेरो जीवन भोगाई मात्र हो जसले जसरी बुझ्नुहुन्छ बुझिदिनुहोला । परदेशीको जिन्दगी संघर्ष, अनुभव र अनुभूति समेट्ने मेरो प्रयास मात्र हो । जदौ ।
जैमिनी, बागलुङ
हाल कुवेतबाट