क्रियासिल विकास साझेदार संस्थाहरुबीच समिक्षा कार्यक्रम

मेचीकाली संवाददाता

६ भाद्र २०८०, बुधबार
330 shares

पार्वती आचार्य

कपिलवस्तु। जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको संयोजकत्वमा जिल्लामा क्रियासिल विकास साझेदार संस्थाहरुबीच समन्वय बैठक तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती कपिलवस्तुको आयोजना तथा गैर सरकारी संस्था महासंघ नेपाल कपिलवस्तुको समन्वय सहकार्यमा बैठक तथा समिक्षा कार्यक्रम गरिएको हो ।

जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख आचार्यले शिक्षा, स्वास्थ्य, खाद्य, कृषि, वातावरण, लैंगिक विभेद, मानव बेचबिखन तथा ओसार पसार, बैदेसिक रोजगार, लगाएतका बिभिन्न क्षेत्रहरुमा काम गर्दै आएका संस्थाहरुको परिचान गरी प्रोफाईल तयार गर्नका लागि कार्यक्रम तथा समन्वय बैठकको आयोजना गरिएको बताए ।

कुन संस्थाले कुन क्षेत्राधिकारमा रहेर कसरी काम गरिरहेको छ भन्ने बिषयमा जानकारी लिनका लागि कार्यक्षेत्र सम्म पुगेर अनुगमन गर्ने वातावरण मिलाउन सम्बन्धित संस्थाहरुलाई आग्रह गरे । ‘साँझेदार संस्थाहरुको लगानी र प्रतिफलको वास्तविक चित्रण गर्न आवश्यक छ । यस जिल्लालाई बाहिरी जिल्लाहरुले हेर्ने दृष्टि नै फरक भएको हुँदा शिक्षा, स्वास्थ्यलगायत बिभिन्न क्षेत्रमा सबैको सहकार्य हुन जरुरी छ ।’, उनले भने ।

युएनएफपीएका जिल्ला संयोजक संजय शर्माले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको बिषयमा प्रतिफल आउन जरुरी भएको बताए । गैर सरकारी संस्था महासंघ शाखा अध्यक्ष जय प्रकाश पाण्डेयले संस्थाहरुले गरेका गतिविधिहरुको पारदर्शिताका लागि कम्तिमा तिन तिन महिनामा समिक्षा गर्नुपर्नेमा जोड दिंदै गैसस महासंघको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

इन्सेक जिल्ला प्रतिनिधि तथा संचारिका समूह कपिलवस्तु शाखा अध्यक्ष पार्वती आचार्यले संस्थाहरुले लक्षित वर्ग तथा क्षेत्रमा लगाएको लगानीमा अनुगमन गर्न जरुरी भएको बताइन् । शिक्षा, स्वास्थ्य, लैंगिंक विभेद र घरेलु हिंसाको बिषयमा सरोकारवालाहरु संवेलनसिल हुन आवश्यक देखिएको बताइन् ।

युएमएनका जिल्ला प्रतिनिधि रुप कुमार बिश्वकर्माले दलित सामाजि संस्था मार्फत र सनसाईन सामाजिक बिकास संस्था मार्फत पिछडिएका वर्ग समुदायमा गरिएको लगानीको उचित प्रतिफल पाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा युएनएफपीए, युएमएन, सिद्धार्थ सामाजिक बिकास केन्द्र, दलित सामाजिक बिकास केन्द्र, किड्स, सामी परियोजना, आईएनएफ , लिडो नेपाल, माहुरी होम, साथी संस्था, किर्डाक नेपाल , किसान परियोजना २, सनसाईन, शान्ति पुनःस्थापना गृह, ईन्द्रेणी ग्रामीण बिकास संस्था ,सेतो गुराँस , आस्मान नेपाल, दि लेप्रेसी मिशन नेपाल, पीस नेपाल, सेचन करुणा लगायतका जिल्लामा क्रियासिल २२ बढी साँझेदार संस्थाहरुले एक आर्थिक वर्षमा गरेका कार्यक्रमहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

समन्वय बैठक तथा समिक्षामा जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मी, समन्वय समितीका पदाधिकारीहरु , समन्वय अधिकारी भूमिराज पोख्रेल, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुसिला बेल्वासे, गैसस महासंघका निवर्तमान अध्यक्ष प्रविण कुमार श्रीवास्तव र बिभिन्न साँझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम समन्वय समितीका कर्मचारी सुरेन्द्र प्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा युएमएनको आर्थिक सहयोग गरेको थियो ।