एमाले लुम्बिनी प्रदेश अधिवेशनः नेतृत्व छान्न चुनाबी प्रक्रिया सुरु

मेचीकाली संवाददाता

१८ भाद्र २०८०, सोमबार
186 shares

अमृत गिरी

बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चुनाबबाट गर्नेगरी प्रक्रिया अगाडि बढेको छ । प्रदेश कमिटीको अध्यक्षका लागि राधाकृष्ण कंडेल र हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

यद्यपि मतदानको प्रक्रिया सुरु हुनुअघिसम्म पनि फिर्ता लिन लगाएर सहमतिको पहल जारी राखिने बताइएको छ । अध्यक्षका दाबेदारहरु बीच सहमति जुट्न नसक्दा र हलको मनस्थिति पनि समय लम्ब्याउन नहुने देखिएपछि आइतबार दिउसो देखि नै निर्वाचन कमिटीले चुनावी प्रक्रिया अगाडि बढाएको थियो ।

आइतबार बेलुकादेखि सुरु भएको उम्मेदवारी दर्ता सोमबार बिहान १० बजेसम्मका लागि समय निर्धारण गरिएको पार्टीको केन्द्रीय निर्वाचन कमिटी सदस्य भरत पोखरेलले जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने मिति र समय बाहेक सबै कार्यक्रमहरु पछि प्रकाशित गर्ने गरी उम्मेदवारहरुले सोमबार बिहान १० बजे सम्म उम्मेदवारी दर्ता गर्नसक्ने गरी सूचना टाँस गरिएको छ ।
साँझ ५ बजेबाट उम्मेदवारी दर्ता खुलेको थियो । जस अनुसार आइतबार राति ९ बजेसम्म अध्यक्ष पदमा २ जना र अन्य पदाधिकारी र सदस्यहरु गरी १०५ जनाको उम्मेदवारी दर्ता भएकोे छ । पाँच जना पदाधिकारीका लागि आइतबार रातिसम्म अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना, सचिवमा ३ जना, उपसचिवमा १२ जनाको उम्मेदवारी दर्ता भएको बताइएको छ ।

रिजालको उम्मेदवारीमा प्यूठानका अध्यक्ष बिजयविराज बिष्ट प्रस्तावक र गुल्मीका अध्यक्ष बालसिंह काउछा समर्थक रहेका छन् भने कंडेलको उम्मेदवारीमा पाल्पाका नेता राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल (रामजी) समर्थक रहेका छन् ।
कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर कसैले पनि दाबी नछोडेपछि सहमतिको सम्भावना करिब टरेको नेताहरु बताउँछन् ।
यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, पूर्ण बुढा, पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा १२ जनाले उम्मेदारी दर्ता गरेको बताइएको छ ।

सहमति नजुटेपछि अध्यक्ष मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रक्रिया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए । यद्यपि प्रदेश कमिटीमा क्लस्टरगत पदाधिकारी र सदस्य कतिजना रहने भन्ने यकिन नभएकाले अन्य निर्वाचन प्रक्रिया लम्बिएको उनले बताए । मतदान भएको खण्डमा सोमबार बिहान १० बजेपछि मात्रै सुरु हुने भण्डारीले बताए ।

पार्टीको प्रथम प्रदेश अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । १२ जिल्लाबाट जिल्लागत रुपमा १८६, अपांगबाट एक, मजदुरबाट ३ र खुल्लाबाट पदाधिकारीसहित १५ जना चयन हुँदैछन् ।
जसअनुसार १२ वटै जिल्ला कमिटीहरुले सहमतिमा नाम पठाउन अलग अलग वैठक गरेका थिए । तीमध्ये कतिपय जिल्लाले सर्वसम्मत नाम सिफारिस गरेका छन् । कतिपय जिल्लाबाट सदस्यहरु सर्वसम्मत चयन भए पनि घोषणा भने बाँकी छ । सहमति नभएका जिल्लाका लागि निर्वाचन हुनेछ ।
अध्यक्ष मण्डलका संयोजक पद्मा अर्याल र सूर्य थापालगायतका नेताहरुले सहमतिका लागि आइतबार विभिन्न चरणमा यहाँका विभिन्न तहका नेताहरु र उम्मेदवारका आकांक्षीसंग छलफल गरेका थिए । अध्यक्ष ओलीले आइतबार बिहान बन्दसत्रमा सम्बोधन गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व छान्न आग्रह गर्दै अध्यक्ष मण्डललाई जिम्मेवारी दिएका थिए ।

अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यबाट एक सय जना बराबर एक जना र २३ वटा जनसंगठनबाट ८३ जना गरी एक हजार ४ प्रतिनिधि छनोट भएका थिए । सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।