एमाले लुम्बिनीमा गुट छैनः गुट बनाउन छुट छैन !

प्रसङ्ग नेकपा एमाले, लुम्बिनी प्रदेशको पहिलो अधिवेशन

मेचीकाली संवाददाता

२७ भाद्र २०८०, बुधबार
238 shares

दलबहादुर गुरुङ

नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय पहिलो अधिवेशन दुई दिनका लागि तोकिएको थियो । जो निर्वाचन घोषणासँगै पाँच दिनमा सम्पन्न भयो । भाद्र १६ गते पार्टीका अध्यक्ष केपी ओलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बुटवलमा उद्घाटन गरेका थिए । पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदीप ज्ञवाली, सचिवत्रय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याललगायतका केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रहेको उक्त अधिवेशनले पार्टीको संगठनिक, आर्थिक प्रगति प्रतिवेदन पास गर्दै नयाँ नेतृत्व चयन गरेको थियो । गत साताको बुधवार पार्टी कार्यालय, बुटवलमा निर्वाचन घोषणा र सपथग्रहणसँगै अधिवेशन सम्पन्न गरेर पार्टीका नेता, कार्यकर्ताहरु आ–आफ्ना स्थानतिर लागेका थिए ।

पार्टीका अध्यक्षलगायतका नेताहरुले सहमतिमै एमाले, लुम्बिनीको पहिलो अधिवेशन सम्पन्न हुने उद्घोष गरेका थिए । उपाध्यक्ष विष्णु पौडेल र महासचिवले बजारिया हल्लाजस्तो आफूहरुमा कुनै गुट नभएको चर्को भाषणबाजी गरेका थिए । पार्टीमा कुनै गुट र उपगुट नभएको कुरामा छाटी पिटेका थिए । उनीहरुका नाम जोडिएर राधाकृष्ण कँडेल र हरिप्रसाद रिजाल मार्केटमा बिकेकै थिए । राधाकृष्ण, चुनाव नहुने र आफ्नै नाममा सहमति हुनेमा सतप्रतिशत् विश्वस्त थिए । उता हरिप्रसाद रिजालको मनमा पनि उस्तै कुराले बास गरेको थियो । आफूलाई अध्यक्ष बन्न बाटो खुलेको बताउँदै आएका थिए ।

हरिप्रसाद रिजालले केन्द्रीय सदस्य त्यागेर आइसकेपछि उनी निर्वाचनमा जाने पक्का भइसकेको अनुमान धेरै नेता, कार्यकर्ता प्रतिनिधिहरुले अनुमान गरिसकेका थिए । निर्वाचन नहुने भनेपनि उनीहरु दू्रतरगतिमा निर्वाचनको तयारीमा जुटेको प्रतिनिधिहरुले त खासै थाहा पाएनन् तर पत्रकारहरुले संकेत गरिरहेका थिए । राधाकृष्णले निर्वाचन हुँदैन भनेर भनिरहेका थिए । उनी निर्वाचनका निम्ति खासै तयारीमा जुटिरहेको थिएनन् । उनलाई आफ्नो प्रतिवेदन तयार गर्न, आएका प्रतिनिधिहरुको व्यवस्थापनमा चासो र उद्घाटन सत्रको तयारीले नै हैरान बनाएको देखिन्थ्यो । माथिल्लो तोक आदेश आफ्नो शीरमा पर्ने भएकोले खासै पीर मानिरहेका थिएनन् । हुन त उनी शालीन, धैर्यवान् र आफ्नै गतिमा अघि बढ्ने नेता भएकाले खासै पिरलो थिएन पनि ।

बन्दसत्रमा समेत पार्टीका अध्यक्ष केपी शर्मा, ओलीले घुमाउरो तरिकाले दुबैजना मध्ये एकमा सहमति हुने र नभए निर्वाचन हुँदापनि खासै खेर नजाने उल्लेख गरेका थिए । उनको भाषणपछि भने निर्वाचन हुने नै हो कि भनेर प्रतिनिधिहरुले अड्कल काटेका थिए । निर्वाचन आयोगले आफ्नो कामलाई अघि बढाइरहेको थियो ।

१२ जिल्लाले के कति संख्या, कुनकुन क्याटागोरीमा पाउने भन्ने कुरा बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष एवम् लुम्बिनी प्रदेश, एमालेकी इन्चार्ज पद्मा अर्यालले हलमा सुनाएकी थिइन् । सोहीअुनसार जिल्ला अध्यक्ष र सम्बन्धित इन्चार्जले सकेसम्म सहमतिमा नाम ल्याउनका निम्ति विशेष निर्देशन दिएकी थिइन् । १२ जिल्लामध्ये आठ जिल्लाले आफूहरुले प्राप्त गरेका सीट संख्यालाई तोकिएको क्याटागोरीमा राखेर पेश गरेका थिए । रुपन्देही, गुल्मी, बाँके र दाङले सहमति कायम गर्न नसक्दा उक्त जिल्लाका उम्मेदवारलाई निर्वाचनमा अन्य जिल्लाका प्रतिनिधिहरुले मत दिन जरुरी ठहरियो ।

प्रदेश इन्चार्ज पद्मा अर्यालले सहमति हुन नसकेका जिल्ला अध्यक्ष र इन्चार्जहरुलाई पटकपटक अनुरोध र निर्देशन जारी गर्दै सहमतिमै अधिवेशन टुङ्ग्याउनका निम्ति पहल गरेकी थिइन् तर ती सम्बन्धित चार जिल्लाका अध्यक्ष र इन्चार्जहरु हावाकावा भए अनि अन्तिममा आफ्नो हात उठाएर निर्वाचनको विकल्प देखेनन् । एकछिन हरिप्रसाद रिजालको मतदाता नामावली प्युठानमा नभएको र केन्द्रमा रहेकोले लफडा चल्यो समाचारमा । केन्द्रीय पार्टी संगठन विभागको पत्रले त्यो चर्चा पानीको फोकाजस्तै फुटेर गयो । निर्वाचन सोमवार साँझ सात बजेदेखि हुने भनिए पनि निर्वाचन आयोगले विविध कारण देखाउँदै निर्वाचन मंगलबार बिहान सात बजेका लागि सारेपछि प्रतिनिधिहरु आआफ्ना बासस्थानतिर लम्किए ।

केही नेता तथा प्रतिनिधिहरुले निर्वाचन सार्नुका बारेमा निर्वाचन आयोगप्रति नै औंला ठडाएका थिए । यो धाँधलीको प्रारम्भिक अभ्यास हो भन्नसमेत भ्याए । तर,निर्वाचन आयोग भन्दै थियो–यो पार्टीभित्रको आन्तरिक निर्वाचन हो । जिते पनि हारे पनि एमालेले नै हो । आठ जिल्लाबाट र सचिवसमेत गरी ६०.५ प्रतिशत सर्वसहमतिबाट लुम्बिनी प्रदेश कमिटीका लागि छनौट भएका थिए । ३९.५ प्रतिशत निर्वाचनमा मत जाहेर गरेर निर्वाचित भएका थिए । एमालेको यो निर्वाचन सहमति र निर्वाचन दुबै प्रक्रियाबाट भएका थिए । यो परिणामले एमालेमा आन्तरिक लोकतन्त्रको प्रयोग भएको पाउन सकिन्छ ।

नेकपा एमालेका केन्द्रीय नेताहरुले सकेसम्म सर्वसहमतिमा प्रदेश कमिटीको छनौट गरी टीकेप्रथालाई निरन्तरता दिन चाहन्थे । त्यसो हुन प्रतिनिधिहरुले दिएनन् । आन्तरिक जनवादको समेत उच्चरुपमा प्रयोग गरे । करिब ६ सयको संख्यामा रहेको लुम्बिनी प्रदेश कमिटीमा दुई सय तीन जना सहमति र निर्वाचनबाट आइपुगे । करिब दुई तिहाई सदस्यहरुले प्रदेश कमिटीबाट हात धोए । उनीको व्यवस्थापन, नयाँ नेतृत्वका लागि फलामको च्युरा सावित हुने धेरै नेताहरुको अड्कल छ । आन्तरिक निर्वाचनमा कडा टक्कर भयो । अध्यक्षका उम्मेदवार हरिप्रसाद रिजाललाई मात्र दुई मतको झिनो अन्तरले राधाकृष्ण कँडेलले पछाडि पारे । उपसचिव लिला रानाले एक मतले उनकै प्रतिस्पर्धी बसन्ती अधिकारीलाई उपविजेताको माला लगाइ दिइन् ।
बजारिया हल्लाजस्तो गुटको गन्ध खासै थिएन । तैपनि को कसको समूहबाट उठ्दै छ भन्ने कुरा र प्रचारमा हिँडेको आधारमा सजिलै पत्ता लगाउन सकिन्थ्यो । त्यसले प्रतिनिधिहरुका बिच खासै तात्विक अन्तर नपारेपनि प्रस्तावक र समर्थकहरुलाई भने रन्को थियो । प्रचारशैली पनि मनमोहक थियो । भजनसहितको टोलीले उम्मेदवारको चिनारी र प्रचार गरेको देख्दा सम्मेलन केन्द्रमा रौनक थपिएको थियो । नाँच्दै गाउँदै भोट मागेको दृश्यले संसदीय निर्वाचनको झल्को दिएको थियो ।

तरपनि संसदीय चुनावजस्तो हानथाप थिएन । उम्मेदवारकाबीच हार्दिकता थियो । बेलाबेलमा प्रचारका बेला सँगै भेट हुँदा हात मिलाउने, अंगालो मार्ने र हाँस्ने दृश्यले निर्वाचन शौहार्दपूर्ण शैलीको देखिन्थ्यो । जसले जितेपनि एमालेले नै जित्ने भन्ने कुरो थियो । बुढापाकाले भनेझैं–घ्यू कहाँ पोखिएला, दालमा ?

दुई दिनका लागि भनेर आएका प्रतिनिधिहरु अधिवेशनको दिन लम्बिएपछि आफ्ना कर्मतिर फर्किए । ४० जना प्रतिनिधिहरु मतदान नगरिकनै फर्किएको कुराले दुई मतले विजयी हुने कँडेललाई अझै धेरै मतले जितिन्थ्यो कि लागिरहेको होला । उता हरिप्रसादलाई उनीहरुले मतदान गरी फर्केको भए मैले पो जित्ने थिएँ भन्ने थक्क लागेको हुनुपर्छ !

आयोजकले ४० जना प्रतिनिधिहरुलाई टिकाइ राख्न नसक्दा उसकै कमजोरी देखिन सक्छ । आएका प्रतिनिधिहरुलाई सोमबार साँझसम्मका लागि खाना र आवासको व्यवस्था गरिएको थियो । तर, त्यसपछि भने प्रतिनिधिहरु आफैँले आफ्नो प्रबन्ध मिलाउनुपर्ने बाध्यकारी अवस्था आइपरेको थियो । कतिलाई खान्की मिलेन, कतिको बिस्तारा नयाँ परेको कारणले निद लागेन होला । कतिको स्वास्थ्य निको भएन कि । कतिले लिएको बिदा समाप्त भएकोले अफिसमा हाजिर हुन बाध्य भए होलान् । कतिका जरुरी काम परेकोले फर्किए होलान् !

निर्वाचन घोषणा तथा सपथ ग्रहण कार्यक्रममा प्रदेश इन्चार्जले भनेकी थिइन्–एमालेलाई कसैगरी सुख छैन । सर्वसहमतिमा कमिटी बनाएमा टीकेप्रथा हावी भयो भन्छन् । लोकतान्त्रिक विधि प्रयोग गरी निर्वाचन गराउँदा पार्टीमा गुट जन्मिन्छ भन्छन् वा पार्टी विभाजन हुन सक्ने अड्कल समेत काट्छन् । जे भएपनि एमालेले सर्वसहमति र निर्वाचन गरी दुबै विधिको वैज्ञानिक प्रयोग गरेको छ । लुम्बिनीमा कुनै गुट छैन । गुट बनाउन कसैलाई छुट पनि छैन ।

लुम्बिनीको निर्वाचन छायाँ अरु प्रदेशमा समेत देखिन थालेको छ । निर्वाचन पद्धतिबाट अघि बढन अरु प्रदेशलाई समेत लुम्बिनीले सन्देश दिइरहेको पाइन्छ । सकेसम्म सर्वसहमति नसके निर्वाचन पद्धति हुनु नेतृत्वका लागि राम्रो हुन सक्ने लुम्बिनीले देखाएको छ । नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कँडेललाई व्यवस्थापकीय चुनौतीहरु छन् । पार्टीको नीति, विचार, सिद्धान्त र कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दापनि उपविजेताहरुलाई उचित व्यवस्थापन गर्दै लैजान कष्टकर र चुनौतीपूर्ण देखिन्छ ।