आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका लागि समन्वयात्मक बैठक सम्पन्न

मेचीकाली संवाददाता

११ आश्विन २०८०, बिहीबार
297 shares

सुनिल आचार्य

कपिलवस्तु । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका लागि जिल्लास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । आइएम स्वीडीसको आर्थिक सहयोगमा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालित सिमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण (आइएसईई) परियोजना तथा योजना बैठक बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा सम्पन्न गरिएको हो ।
समन्वयात्मक बैठकमा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालका कार्यक्रम संयोजक शंकरप्रसाद अधिकारीले परियोजनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्जालले गरेका विभिन्न गतिविधिहरुको बिषयमा प्रष्ट पारेका थिए ।

इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालका उपनिर्देशक मनोजराज पन्थीले सञ्जालले ६ महिना अगाडि बनाएको कार्ययोजनाअनुसार आ–आफ्नो क्षेत्रमा कार्यहरु गर्नुपर्नेमा जोड दिए । दलित सामाजिक बिकास केन्द्रका रामशरण रैदासले जिम्मेवारीअनुसार यशोधरा गाउँपालिकामा महिला पुरुषको समान ज्याला हुनुपर्ने विषयमा ध्यानाकर्षण गरिएको र आफ्नो संस्थाले आयआर्जनमा वृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

यस्तै कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रका महासचिव शान्ता पौडेलले किशोरीहरुका लागि स्वास्थ्य सम्बन्धि कार्यक्रम गरिएको बताइन् । इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले शिक्षा, स्वास्थ्य, लैंगिक विभेद र वातावरणको अधिकारको क्षेत्रमा अभियान सञ्चालन गरिएको बताइन् ।

संस्थाले आफ्नो लक्ष्य तथा उद्देश्य प्राप्तिको लागि प्राकृतिक स्रोत व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन, स्वास्थ्य, खानेपानी, सरसफाइलगायतको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष विष्नु पौडेलको अध्यक्षतामा गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुसिला बेल्बासे, संघका जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेय, माहुरी होमका रिखिराम हरिजन, नेपाल पत्रकार महासंघका सचिव जानु पाण्डेलगायत विभिन्न संस्थामा आबद्ध सञ्जालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त बैठक दिपक भण्डरीको सञ्चालनमा सम्पन्न भएको थियो ।