‘इम्बोस्ड नम्बर प्लेट’को व्यवस्था छ तर चासो छैन

मेचीकाली संवाददाता

२४ आश्विन २०८०, बुधबार
1111 shares

अमृत गिरी

बुटवल, असोज २४ । सवारी साधनको नम्बर प्लेटमै चिप्स जडान गरेर त्यसैका आधारमा सबै प्रकारका रेकर्ड केन्द्रिकृत गर्नेगरी इम्बोस्ड नम्बर प्लेटको कार्यक्रम सुरु भएको लामो समय भयो । नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा झर्ने गरी ‘इम्बोस्ड नम्बर प्लेट’ को शुभारम्भ भएको थियो । तर, अहिलेसम्म यसको जडानमा सरकारीलाई मात्रै अनिवार्य गरिएको छ भने त्यसका थप उपकरण निर्मणमा ढिलासुस्ती भएको छ ।

एकातिर निजी गाडीलाई अनिवार्य नगर्नु र चिप्स रिड गर्ने प्रविधिसहितको गेट निर्माणमा ढिलाई गर्नुले इम्बोस्ड नम्बर प्लेट जडान महत्वपूर्ण भएर पनि खासै चासो गएको छैन । यसको जडान न उत्साहपूर्वक भएको छ नत चिप्स रिड गर्ने उपयुक्त संरचना नै निर्माण भएको छ । सरकारले सात वर्षअघि अर्थात् २०७४ भदौ ५ गते सोमबारदेखि इम्बोस्ड नम्बर जडान सुरु गरेको थियो । सुरुमा सबैलाई अनिवार्य भनिएपनि पछि सरकारी गाडीलाई अनिवार्य गरियो भने निजीलाई अनिवार्य गरिएको छैन ।

विदेशका कैयन् मुलुकमा एउटा सानो चिप्सबाटै सवारी साधनसम्बन्धी दर्ता नवीकरण देखि चालकले गल्ती गर्दा जरिवानासमेत काट्ने गरी एउटै सिस्टममा एकीकृत गरिएका सवारी साधन गुडिरहेका हुन्छन् । हामीकहाँ भने नयाँ नियम आउँछ तर पूर्वाधार बनाउन र मनस्थिति बनाउनमै लामो समय लाग्छ ।

अहिले यातायात व्यवस्था विभागले सबै प्रदेशमा केन्द्रबाटै एकैसाथ टेण्डर गरेर कम्पनी र कर्मचारी खटाएको छ । तिनै कर्मचारी र प्राविधिकहरुले अहिले यातायात कार्यालय परिसरमै आवश्यक प्रविधिसहित इम्बोस्ड नम्बर प्लेट जडानका काम गर्दै आएका छन् । तर, उनीहरुको कार्यकक्षमा निजी क्षेत्रका सेवाग्राहीको चासो कमै मात्र जान्छ । सरकारीका अतिरिक्त दैनिक दुई तीन जनासम्म मात्रै सेवाग्राहीले त्यहाँ पुगेर नयाँ नम्बर प्लेट जडान गर्ने गरेका छन् ।

यातायत कार्यालय बुटवलका कार्यालय प्रमुख लक्ष्मण लम्सालले इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै काम माथि (संघीय मन्त्रालय मातहत) विभागबाटै काम भएको र विभागको प्रक्रियामार्फत आएका प्राविधिकहरुलाई कार्यकक्ष उपलव्ध गराएर काममा लगाइएको बताए ।
उनले यो कामको राजस्वसमेत उतैको खातामा (केन्द्रमा) जम्मा हुनेगरी काम भइरहेको जानकारी दिए । इम्बोस्ड नम्बर प्लेट जडानका लागि छनौट भएको कम्पनीमार्फत तोकिएका कर्मचारीहरु अहिले यातायात कार्यालय परिसरको कोठा नम्बर १६ मा प्रविधिसहित खटिएका छन् ।

निजीलाई अनिवार्य नगरेका कारणले पनि हाल बुटवलमा दैनिक दुई तीन जना मात्रै निजी गाडीले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आउने गरेको इम्बोस्ड नम्बर प्लेट शाखाकी दर्ता सहायक लक्ष्मी पौडेलले बताइन् ।

बुटवलबाट १५ महिनामा १०५२ सवारीमा जडान, देशभर ७ वर्षमा ५० हजार
बुटवलमा ०७८ पुस १ गतेदेखि नै कार्यालय सुरु भएपनि २०७९ साउन ८ गतेदेखि गाडीहरुमा इम्बोस्ड नम्बर प्लेट जाडनको काम सुरु भएको थियो ।

यो अवधिमा बुटवलको कार्यालयबाट मात्रै हालसम्म १०५२ वटा सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । शाखाकी दर्ता सहायक पौडेलका अनुसार हालसम्म सरकारी मोटरसाइकल ५१५, सरकारी गाडी १४६ मा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । यस्तै निजी मोटरइकल २५६, निजी गाडी ११२, टे«क्टर ८, भाडामा प्रयोग भएका गाडी ५ र ठूला हेवी गाडी १० गरी जम्मा १०५२ वटा सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।

यो नयाँ सिस्टम सुरु भएको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेको विभागको तथ्याङ्कमा छ । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै संख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले अहिलेसम्म करिब तीन लाख नम्बर प्लेट उत्पादन भएर आएकोे विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर राख्ने प्रक्रिया कर शुल्क
‘इम्बोस्ट नम्बर प्लेट’ राख्नको लागि कुनै पनि सवारी धनी एकपटकमात्र विभाग वा विभागले तोकेका सम्बन्धित सम्पर्क कार्यालयहरुमा जानुपर्छ । त्योभन्दा पहिलाका चरणमा अनलाइनबाटै गर्न सकिने व्यवस्था छ । सबैभन्दा पहिला विभागको समय तालिका अनुसार सवारीधनीले ‘इम्बोस्ट नम्बर प्लेट’ जडानको लागि अनलाइन आवेदन भर्नुपर्ने हुन्छ । इम्बोस्ड नम्बर प्लेट राख्नलाई मोटरसाइकललाई २५ सय, तीन पांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ तोकिएको छ ।
बुटवलको बेलबासमा रहेको कार्यालयमा भने अहिले त्यहीँ रहेका कर्मचारीहरुले आफैँ फारम भरिदिने गरेका छन् । बैंकमार्फत राजस्व जम्मा भएको रसिद देखाएपछि प्रक्रिया पूरा गरेर सोही कार्यालयबाटै इम्बोस्ड नम्बर प्लेट जडानका काम हुँदै आएको छ ।

‘खासै चाप पनि नभएको र सरकारीलाई मात्रै अनिवार्य गरिएकाले आउने सेवाग्राहीहरुलाई सकेसम्म यहीँ कार्यालयबाटै सबै काम गरिदिएका छौँ,’इम्बोस्ड नम्बर प्लेट शाखामा रहेका प्राविधिक विजय बस्यालको भनाइ छ । यहाँ पौडेलको नेतृत्वमा प्राविधिकसहित ११ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

सेवाग्राहीले प्रक्रिया पूराएर गरेको आवेदन विभागको सिस्टममा पुगेपछि विभागले ‘इम्बोस्ट नम्बर प्लेट’ उत्पादक ‘डेकाटुर टाइगर’ लाई पठाउँछ । विभागले नम्बर प्लेट उत्पादनका लागि विसं. २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन) सँग सम्झौता गरेको थियो । सोही कम्पनीले विभागबाट आएको विवरणअनुसारको प्लेटमा रहेको आरएफआइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन) चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ । स्टिकर सवारी साधनको अगाडि देखिनेगरी सुरक्षित टाँसिन्छ ।

त्यसरी तयार भएको नम्बर प्लेटमा उल्लेख भएको विवरणमा सवारीधनीको फोन नम्बर पनि हुन्छ उक्त नम्बरमा प्लेट तयार भएको र जडान गर्न आउन सम्बन्धित धनीलाई म्यासेज जान्छ । बुटवलको कार्यालयमा यो प्रक्रिया सुरु भएको बढीमा आधा घण्टामा नम्बर प्लेट नै जडान गरेर आएको सैनामैनाका य्ुवा उद्यमीसमेत रहेका निजी सवारी धनी यमलाल खरेलले बताए । खरेलले बुधबार बुटवलको उक्त कार्यालयमा पुगेर आफ्नो निजी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरेका छन् ।