बुटवल, साउन २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाईभर्सन बहुउदेश्यीय परियोजना कुनै हालतमा पनि सफल भएरै छाड्ने बताएका छन् । प्रदेश ५ का तराईका तिन जिल्लाको सिंचाईका लागि कोशेढुंगाको रुपमा उक्त परियोजना रहेको बताउँदै बिरोध गर्ने सबैलाई मनाएर उक्त परियोजना सफल बनाउने बताएका हुन् ।
मंगलबार बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेको कालिका क्याम्पसको भवन शिलन्यास कार्यक्रममा बोल्दै नेकपाका महासचिव पौडेलले डाईभर्सन परियोजनामा बिरोध गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई आफैंले ‘कन्भिन्स’ गरेर परियोजना सफल पार्ने दावी गरेका हुन् । ‘गण्डकी प्रदेशबाट विरोधका आवाजहरु आएका छन् । त्यहाँका मुख्यमन्त्रीलाई मनाउने जिम्मा मेरो भयो । परियोजना सफल भएरै छाड्छ ।’ उनले भने । उनले चालु आर्थिक बर्षको अन्त्यसम्ममा डाईभर्सन परियोजनाको डिपिआर पनि तैयार हुने दावी गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाप्रति आपत्ति प्रकट गर्दै गत वैशाख ८मा प्रदेश सभा मार्फत कालिगण्डकी नदि प्रदेश ५ को मात्र नभएकाले गण्डकी प्रदेशको सहमति विनाा डाईभर्सन गर्न नदिन अभिव्यक्ती दिएका थिए ।
पुर्व अर्थमन्त्रीसमेत रहिसकेका नेता पौडेलले डाईभर्सन पछि कालिगण्डकीमा पानीको बहाव कम हुने भन्दै विरोधहरु आएकाले पानीको बहाव कम हुन नदिन रिंडी–रुद्रवेनीमा ड्याम बनाउने आश्वासन व्यक्त गरे । उनले कालिगण्डकी किनार र तल्लो तटिय क्षेत्रका सबैलाई समेटेर योजना सम्पन्न हुने बताए । ‘कसैलाई विरोध गर्ने ठाउँ दिईने छैन । सबैलाई समेटेर परियोजना अगाडी बढाईने छ । यो आर्थिक बर्षभित्रै डिपिआर तैयार हुन्छ ।’ उनले भने ।
‘निर्वाचन क्षेत्र पुर्वाधार विकासको रकम शिक्षामा खर्च गर्छु’
प्रतिनिधि सभामा रुपन्देही २ बाट विजयी बनेका नेता पौडेलले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको रकम यस निर्वाचन क्षेत्रको शैक्षिक पुर्वाधारमा विनियोजन गर्ने प्रतिवद्धता गरेका छन् । मंगलबार बुटवलमा कालिका मानवज्ञान माध्यमिक विद्यालयको भवन शिलन्यास कार्यक्रममा बोल्दै उनले शिक्षामा भौतिक पुर्वाधार र गुणस्तरीय शिक्षाका लागि आफूले उक्त रकम लगानी गर्ने चाहेको बताएका हुन् ।
यस्तै उनले परिणामदायी शिक्षाकालागि मर्जरले ठूलो भूपिमका खेलेको बताए । बुटवलका केही विद्यालयहरु दयनीय अवस्थामा रहेकाले मजर्जर प्रणालीबाट उनिहरुको स्तर उकास्न सकिने विश्वास उनको थियो ।
‘विकास निर्माणमा निगरानी बढाऔं’
महासचिब विष्णु पौडेलले विकास निर्माणका कामहरुमा निगरानी र पैरवी बढाउन यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले बुटवल क्षेत्रमा निकै ठूला आयोजनाहरु निर्माणाधिन प्रक्रियामा रहेकाले जनचासो र जनप्रतिनिहरुले निगरानी बढाउनुपर्नेमा जोड दिए । ‘योजना यसै आएका होईनन् । निकै मिहिनेतका साथ पारिएका हुन् । यी योजना कार्यान्वयनकालागि पैरवी गर्न म जनप्रतिनिधि र स्थानिय सबैसंग आग्रह गर्दछु ।’ उनले भने । उनले आयोजना सम्पन्न हुनका लागि केन्द्रसरकारबाट हुनसक्ने कामको जिम्मेवारी एक्लै लिन तैयार भएको बताए ।
यसैबिच बुटवल उपमहानगरपालिका १० मा रहेको कालिका क्याम्पसको नयाँ भवनको शिलन्यास भएको छ । करिब २० करोडको लागतमा बुटवल उपमहानगरपालिका–१० मा क्याम्पस भवन निर्माण हुने भवनको नेपाल कम्युनिस्ट पार्टी नेकपा महासचिव विष्णुप्रसाद पौडेलले शिलन्यास गरे । त्यसअवसरमा प्रदेश सरकारका मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सञ्चालक समिति अध्यक्ष रामचन्द्र क्षेत्री, उपाध्यक्ष अर्जुनमान सैजु, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतले सम्बोधन गर्नुभयो । कालिका र मानवज्ञान मावि गाभिएर कालिका(मानवज्ञान मावि र कालिका क्याम्पस निर्माण भएको छ । बुटवलको यो विद्यालय मुलुकमै नमुना मानिन्छ ।