ॐ नमः शिवाय सहकारीले मनायो स्थापना दिवस

मेचीकाली संवाददाता

१६ मंसिर २०८०, शनिबार
458 shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–४ रुद्रपुरस्थित ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । सोही अवसरमा ॐ नमः शिवाय सहकारी र नेपाल नियमित रक्तदाता संघको संयुक्त आयोजनामा शनिबार बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष जीवनप्रसाद ओझाले अझैपनि रगतको अभावले बिरामीको मृत्यु हुने अवस्था रहनु दुःखद भएको बताउँदै रगतको अभाव पुरा गर्न सबै एकजुट हुनुपर्ने बताए । रक्तदान महादान भएकोले यूवाहरुलाई रक्तदान गर्नका लागि प्रोत्साहित गर्न सरकारले बिशेष योजना बनाएर काम गर्नुपर्ने उनले बताए । रगतदान जिवन दान भएकाले हरेक टोलटोल, गाउँगाउँमा पुगेर जनचेतना फैलाउनुपर्ने उनको भनाई थियो । आफू वषौँदेखि रक्तदान अभियानमा लागेको बताउँदै आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दया बहादुर सिलवालले २०६१ सालमा स्थापना भएको संस्थाले रक्तदानलाई निरन्तरता दिईरएको बताए । तत्कालिन शसस्त्र माओबादी द्धन्दकालमा रगतको अभाव भएपछि संस्था स्थापना गरिएको स्मरण गर्दै उनले कोरोना कहरमा रगत अभाव देखा परेपछि संघले नियमित रुपमानै बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

अझैंपनि रक्तदान गर्दा कमजोर भईन्छ भन्ने गलत मानशिकता रहेको बताउँदै यसलाई चिर्न आम नागरिकलाई रक्तदानको महत्वबारे बुझाउन र यूवालाई अभियानमा जोड्न आबश्यक रहेको बताए । अध्यक्ष शिवलावसले हरेक स्वस्थ्य व्यक्तिले हरेक ३–३ महिनामा रक्तदान गर्न सक्ने अध्यक्ष शिवलावसले बताए । संघले विभिन्न जिल्लामा शाखा कार्यालय खोलेर गाउँगाउँमा रक्तदानको महत्वबारे जनचेतनासमेत फैलाउँदै आएको उनले बताए ।

सहकारीका अध्यक्ष भरथ गिरीले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले संस्थाले सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए । रक्तदानको मानवजीवनमा ठूलो महत्व रहेको उनको भनाई थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउँदै उनले रगत अभाव भएको अबस्थामा तत्काल सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा स्वागत गर्दै नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले बुटवलमा रगतको अभाव नहोस् भन्दै संघले अभियान नै सञ्चालन गरेर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताए । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५० यूनिट रगत संकलन भएको सहकारीका सचिव सुरेश गिरीले जानकारी दिए ।

कार्यक्रममा सहकारीका सल्लाहकार विष्णु पुरी, लेखा समिति संयोजक विश्वराज गिरी, शिक्षा समिति संयोजक ईश्वर गिरी (अंकित), व्यवस्थापक संगिता (गिरी) पुरी लगायतको उपस्थिति रहेको थियो । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियोभने, नियमित रक्तदाता संघका महासचिव दिपक अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।