रामप्रसाद ज्ञवालीको ‘उपसचिव सफलताको कल्पवृक्ष’ बजारमा

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
563 shares


तुलसीराम पौडेल

रुपन्देही । नेपालको प्रशासन, व्यवस्थापन तथा लोक सेवा आयोगद्वारा लिइने विभिन्न तहका पुस्तकहरुका लेखकको रुपमा एक सुपरिचित नाम हो राम प्रसाद ज्ञवाली । विगत एक दशक अगाडि देखि निरन्तर लेखन, सम्पादन र लोक सेवा आयोगद्वारा लिइने विभिन्न पदका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गर्दै आएका छन्। २०७० सालमा शाखा अधिकृतको पदबाट सरकारी सेवा प्रवेश गरेका ज्ञवालीले सोही सालबाट नै नयाँ पाठ्यक्रम लागु भएसंगै शाखा अधिकृतका शासन प्रणाली र समसामयिक सन्दर्भ नामक दुई विषयका पुस्तकहरु पाठकमाझ हालसम्म पनि निकै लोकपृय बन्दै आएका छन् ।कुनै बेला “राम प्रसाद ज्ञवालीका पुस्तक नपढ्दा सम्म सफल हुन सकिन्न” भन्ने गहिरो प्रभाव परीक्षार्थीलाई परेको पाइन्छ ।देशका अधिकांश कार्यालयमा कार्यरत खरिदार देखि उपसचिवसम्मका जनशक्तिमध्ये केही न केही संख्या या त ज्ञवालीले पढाएका या त ज्ञवालीको पुस्तक पढेका कर्मचारी भेटिने अवस्था विद्धमान रहेको छ।

वि.सं २०७७ सालमा उपसचिव पदमा पहिलो प्रयासमै प्रशासन र राजश्व समूहमा नाम निकाल्न सफल भएपछि प्रशासन समूह रोजेका ज्ञवालीले सोही बर्ष देखि नै उपसचिव पदको नयाँ पाठ्यक्रममा आधारित दोस्रो र तेश्रो पत्रको पुस्तक बजारमा ल्याएर परीक्षाको तयारी गरिरहेका पाठकहरुलाई निकै विश्वासिलो र भरपर्दो आधार प्रदान गरेका छन् ।यो बर्ष ज्ञवालीको शाखा अधिकृत सफलताको कल्पबृक्ष नामको शाखा अधिकृत द्वितीय र तृतीय पत्रको पुस्तकको नवौं संस्करण बजारमा ल्याइसकेका छन् भने भर्खरै बजारमा उपसचिव सफलताको कल्पबृक्ष नामक उपसचिव पदको द्वितीय र तृतीय पत्रको पाठ्यक्रममा आधारित पुस्तक बजारमा आएको छ ।

भर्खर बजारमा प्रवेश गरेको उपसचिव सफलताको कल्पबृक्ष नामको यो पुस्तक उपसचिव मात्र नभई सहसचिव तथा शाखा अधिकृत र प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा रुची राख्ने पाठक तथा परीक्षार्थीहरुको लागि निकै महत्वपूर्ण खुराक रहेको प्रस्तुत पुस्तकका प्रकाशक तथा न्यु होराइजन पब्लिसर एण्ड डिस्टिब्युटर प्रा.लि. का प्रबन्ध निर्देशक ऋषिराम पन्थले बताए ।
प्रकाशक भन्छन् “राम प्रसाद ज्ञवाली आफैमा एक व्यक्ति वा लेखक मात्र नभई लाखौं पाठकको रोजाईमा रहेका कुसल सार्वजनिक सम्पति हुन्, राष्ट्रका गहना हुन्, ब्राण्ड हुन् । उहाँ जस्तो लेखकलाई हाम्रो पब्लिकेशन्समा पाउनु बेग्लै प्रतिष्ठाको विषय हो ।”
प्रकाशक ऋषिराम पन्थ थप्छन् “भर्खर बजारमा आएको ज्ञवाली सरको यो किताबले परिक्षार्थीको उपसचिव सफलता प्राप्तिको हुटहुटीलाई साकार बनाउनेमा विश्वस्त छु । उपसचिवमा सैद्धान्तिक प्रश्न मात्र नसोधी समस्या समाधानमूलक प्रश्नहरु तथा मामला अध्ययनसंग सम्बन्धित प्रश्नहरु बढि सोधिने भएकाले यो पुस्तकबाट परीक्षार्थीलाई समस्या समाधानको सैद्धान्तिक, कानूनी तथा कार्ययोजना खाकाको स्पष्ट खाका मार्गदर्शन हुनेछ । समसामयिक विषयहरुलाई विशेष प्राथमिकताका साथ समेटी लेखकले सामाग्री तयार गर्नु भएको हुनाले सफलताको सारथी बन्न ठूलो सहयोग पुग्नेछ । पन्ध्रौं योजनाको चीरफार गरी समीक्षा तथा प्रस्तावित १६ औं योजनाका विषयबस्तुलाई समेत समावेश गरिएको छ । नवीन तथ्य र तथ्यांकहरु समावेश गरिएको छ भने हालको विश्व अर्थतन्त्रको अवस्थालाई निकै खोजमूलक ढंगले प्रस्तुत गरिएको छ । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, व्यथितिलाई सटिक ढंगले विश्लेषण गरिएको छ । अतः यो पुस्तकबाट परीक्षार्थीलाई सफल हुनमा मद्दत पुग्नेछ ।”

यो पुस्तकको अर्को निकै महत्वपूर्ण विशेषता भनेको उपसचिव पदको लिखित विषयहरुमा सफल भइसकेपछि लोकसेवाले लिने इन बास्केट परीक्षाका विषयवस्तुहरु समाबेश हुनु हो जुन बजारका अन्य कुनै पनि उपसचिव तहका पुस्तकमा यो विषयवस्तु समेटिएको छैन । त्यति मात्र नभई अन्तर्वार्तामा सोधिएका र सोध्न सकिने प्रश्नहरु समेत समाबेश गरिएकाले उपसचिवको लिखित विषय देखि अन्तर्वार्तामा समेत सफलता हासिल गरी सिफारिस हुने चरणसम्मका विषयवस्तु एउटै पुस्तकमा उपलब्ध हुँदा यो पुस्तक उपसचिवको एक पूर्ण प्याकेजको रुपमा रहेको प्रकाशक ऋषिराम पन्थले बताए ।

हजारौं परीक्षार्थीलाई सरकारी सेवामा प्रवेश गराउने जस बोकेका लेखक ज्ञवालीले प्रशासन व्यवस्थापनका अलावा साहित्य तर्फ गीत, गजल, कथा, कविता लगायतका विधामा कलम चलाउदै आएका छन् । २०६३ सालमा गजल धराको कल्पबृक्ष नामक नेपाली गजलको संग्रह प्रकाशन गरेका ज्ञवालीका दर्जनौं साहित्यिक तथा प्रशासनिक लेख रचनाहरु प्रकासन गर्दै आएका छन् । “तिम्रै निम्त मखमली चोली लिई आउँला, केही बर्ष पर्ख अझै डोली लिई आउँला” भन्ने ज्ञवालीको कलमबाट सिर्जित गजललाई शिव परियारले आफ्नै संगीतमा स्वर दिएका हुन् जुन गजल स्रोतामाझ आज पनि उत्तिकै लोकपृय छ । यहीँ गजलबाट म्युजिक भिडियो डेब्यु गरेकी पुजा शर्मा वर्तमानमा नेपालकी चर्चित नायिका बन्न पुगेकी छिन् । अहिलेका निकै चर्चित गजल गायक तिलक सिंह पेलाले संगीत र श्वर भरेको “पल पल यस्तै तिमीलाई हेरिरहूँ म” भन्ने ज्ञवालीको गजलले युट्ट्युबमा निकै चर्चा कमाइरहेको छ । नेपाल सरकारका उपसचिव राम प्रसाद ज्ञवाली साहित्य र संगीत क्षेत्रमा भने रञ्जित ज्ञवालीको नामबाट सुपरिचित छन् । लेखक रामप्रसाद ज्ञवाली हाल लुम्विनी साँस्कृतिक नगरपालिका रुपन्देहीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।