केपी ओलीको यात्रा र समृद्धिको सङ्कल्प

मेचीकाली संवाददाता

२ पुष २०८०, सोमबार
153 shares

हरि ज्ञवाली

नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा मंसिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भयो । तीन साता लामो पुष्पलाल (मध्य पहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ ले जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको छ ।

हरि ज्ञवाली

अध्यक्ष ओली आफ्नो उमेर र शारीरिक अवस्थाले त्यति साथ नदिँदा–नदिँदै पनि मुलुकको मध्यपहाडी क्षेत्रका जनताका समस्या,चाहना र आवश्यकता बुझ्दै गाउँठाउँमा हिड्नुभयो । नेपालको मध्यपहाडी लोकमार्गमा बयस्क युवाझैँ रातदिन सयौँ किलोमिटरको यात्रा गर्नुभयो । दुई–दुईपटक मिर्गौला फेरेका केपी ओली वृद्धावस्थाको जीर्ण शरीर लिएर मंसिरका चिसा दिनरातमा विकास र समृद्धि सङ्कल्प यात्राको अग्रपंक्तिमा खट्नुभयो ।

साँझ–बिहान दबाई खाएर आराम गर्नुपर्ने समय र उमेरमा ओलीले मध्यपहाडी क्षेत्रका थुप्रै ठाउँमा जनसभा गर्नुभयो । जनभेला तथा भेटघाटहरू गर्नुभयो । वृद्ध–वृद्धाहरूसँग सामिप्यता जोड्नुभयो । कहिले मजदुर र किसानसँग अन्तक्र्रिया गरी दोस्ती बढाउनुभयो त कहिले कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग मुलुकको भावी आवश्यकताका बारेमा छलफल गर्नुभयो । कलाकारसँगै सारङ्गी पनि रेट्न र मादल बजाउन पनि भ्याउनुभयो ।

सङ्कल्प यात्राकै क्रममा ओलीले कतै कृषि वैज्ञानिकहरूसँग संवाद गर्नुभयो त कतै विकासकार्यहरूको अवलोकन र नमुना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट गर्नुभयो । उहाँले ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन पनि गर्नुभयो । जनताका अनुभूति, समस्या,गुनासा र सुझावहरू सुन्नमा व्यस्त रहनुभयो ।

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानकै क्रममा अध्यक्ष ओलीले कहिले आफैँ माछा फ्राई गरेर अरूलाई खुवाउनुभयो त कहिले मञ्चबाटै दर्शकलाई सुन्तला पनि बाँड्नुभयो । उहाँले मजदुरसँग मेसिनमा कपडा पनि सिलाउनुभयो । खेलाडीसँग मैदानमा खेल्न पनि सक्नुभयो । नवविवाहित दम्पतीलाई बधाई दिन पनि पुग्नुभयो भने बालबालिकालाई काखमा राखेर स्नेह दिन पनि भ्याउनुभयो ।

उहाँको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ लाई न कुनै झरीले रोक्न सक्यो न त कठ्याङ्ग्रिदो जाडो र शीतलहरले नै । घरमा आराम गर्नुपर्ने उमेरमा पनि उहाँमा यस किसिमको आत्मबल, दृढता र आत्मविश्वास कहाँबाट र कसरी बढेको हुन्छ ? यो आश्चर्यलाग्दो छ । ओलीले मध्यपहाडी क्षेत्रको यात्राका क्रममा राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा गर्नुभयो । मध्यपहाडमा निर्माण भइरहेका दसवटा नयाँ शहरहरूको सूक्ष्म ढंगले अवलोकन गर्नुभयो । नयाँ राजमार्ग खुल्दै जाँदा पहाडी र दुर्गम गाउँ सुगम बन्दै गएको साक्षात्कार आम जनतासँग गर्नुभयो ।

केपी नै यस्ता देशभक्त नेता हुनुहुन्छ जसले भारतीय नाकाबन्दीको डटेर सामना गर्नुभयो । मिचिएको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा पनि जारी गर्नुभयो ।
ओलीले आफू पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहनुभएको छ । मुलुकमा रेल कुदाउने र पानीजहाज दौडाउने सपना देखाउनुभएको छ । लोडसेडिङ सदाका लागि अन्त्य गर्ने सङ्कल्पसहित घरघरमा ग्यासको पाइप पु¥याउने विकल्प सुनाउनुभएको छ । हावाबाट बिजुली निकाल्नेजस्ता तमाम योजना पनि बताउनुभएको छ ।

केपी ओलीले नेपाल भिखारीको देश नभएको तर्क गरिरहनुहुन्छ । नेपाल सधैँ गरिब र पिछडिएको हुनुहुँदैन भनिरहनुहुन्छ । देश र नागरिकका मूच्र्छित सपनाहरूलाई उजागर गरिरहनुहुन्छ । मुलुकको विकास र समृद्धिको आकांक्षालाई मुखरित गरिहनुहुन्छ । जनतामा हमेशा आशा र उत्साह जगाइरहनुहुन्छ । पूर्व–पश्चिम रेल, उत्तर–दक्षिण रेल र पानी जहाज र घरघरमा पाइप ग्यासका उहाँका सपना राष्ट्रको दीर्घकालीन अपरिहार्य आवश्यकता हुँदै छन् । उहाँ समकालीन राजनीतिक नेतृत्वमध्ये सबैभन्दा धेरै भिजन ,योजना र सङ्कल्प भएको नेताका रूपमा चिनिनुभएको छ ।

उहाँमा पारिवारिक लोभ र छुद्र महात्वाकांक्षा पाइँदैन । आफू र आफ्नी श्रीमतीको नाममा रहेको सारा सम्पत्ति राज्यको नाममा दिएको घोषणा पनि गरिसक्नुभएको छ । तर बिडम्बना, हाम्रो मुलुकमा राजनीतिक पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने काम कुनै न कुनै समूहले सधैँजसो गरिरहेका हुन्छन् । गरेका राम्रा काम केही नदेख्ने, सबै कुरा खराब मात्र देख्ने, जे भने पनि मजाक उडाएर खेदो खन्ने काम गरिरहन्छन् । जे भने पनि वा जे गरे पनि नकारात्मक ढंगले व्याख्या गर्ने र समाजमा निराशा फैलाउने काम एउटा समूहले सदैव गरिरहेको हुन्छ ।

अझ यतिबेला त झन् सबै पुराना राजनीतिक दलहरूले जनताको असली प्रतिनिधित्व गर्ने हैसियत गुमाइसके भनेर जबर्जस्त भाष्य निर्माण गर्न खोज्दै छन् । आम जनताले व्यवस्थाकै विकल्प खोज्न थालेको अनावश्यक हल्ला फैलाउँदै छन् । फलस्वरूप प्रतिगमनकारीहरू पनि सलबलाउन थालेका छन् । राजनीतिक दलहरूका थोरै कमजोरीलाई आँैंल्याएर र जनताका केही असन्तुष्टिलाई बहाना बनाएर सडकमा भीड जम्मा गर्ने प्रयास पनि व्यापक मात्रामा गरिरहेका छन् ।

त्यस्ता समूहहरु समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने प्रयत्न अँध्यारो कोठाबाट गर्दै छन् । नेपालका नेताहरूले सब बिगारिसके, यहाँ केही छैन, अब मुलुक समृद्ध बन्दैन, बन्नै सक्दैन तसर्थ विदेश जानुबाहेक अर्को विकल्प छैन भन्दै तथानाम भ्रम छर्ने र हतास बनाउने दुष्प्रयास पनि गरिरहेकै छन् ।

उनीहरुले जनताका गुनासा र निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् । नेपालका राजनीतिक पार्टी र तिनका नेतृत्वप्रति अनेकौँ प्रश्न उठाइएका छन् । पुराना पार्टीहरूको असफलता भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छरिरहेका छन् । यस्तो विषम परिस्थितिमा केपी ओलीको समृद्धिका लागि सङ्कल्प यात्राले मध्य पहाडमा विकास र समृद्धिका लागि अनन्त आशा जगाएको छ । यो अत्यन्त खुशीको कुरा हो ।

मुलुक आफै समृद्ध बन्दैन । मुलुकलाई समृद्ध बनाउनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट आवश्यक हुन्छ । दृष्टिकोण, योजना र अठोट व्यक्तिले नै दिने हो । आजको सन्दर्भमा त्यस्तो योजना, अठोट र दृष्टिकोण दिने काम केपी ओलीले गर्नुभएको छ । मुलुकको विकास र समृद्धिको आशा जगाउनुभएको छ । यो अत्यन्तै महत्वपूर्ण र सकारात्मक पक्ष हो ।

ओली नेतृत्वको नेकपाको लोकप्रिय सरकारलाई षड्यन्त्रपूर्वक हटाइएपछि उहाँको नेतृत्वमा थालेका विकास र समृद्धिका यात्रा अलपत्र परेका छन् । यतिखेर सिद्धान्तहीन जगमा उभिएका दलहरूले आपसी सौदाबाजीमा मुलुकलाई नियन्त्रित रूपमा चलाइरहेका छन् । उनीहरुले अप्राकृतिक र सिद्धान्तहीन गठबन्धन गरेर आआफ्नो स्वार्थसिद्धि गर्ने काम मात्रै गरिरहेका छन् । यसको अन्त हुनु जरुरी छ ।

आजभोलि हाम्रो देश र पहाडका समस्याहरू केके हुन् ? पहाडमा किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? पहाडबाट मानिस पलायन हुनुपर्ने वाध्यता केके हुन् ? पहाडमा विकास र समृद्धिको ढाँचा कसरी निर्माण गर्न सकिन्छ ? विकास र पूर्वाधार निर्माणको ढाँचामा पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने तमाम समस्याको पहिचानमा केपी ओली नेतृत्वकोे सङ्कल्प यात्रा कोसेढुंगा सावित भएको छ । अभियानले मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावनालाई बुझ्न र त्यहाँको विकासको योजना बनाउन यसले ठूलो सहयोग पुगेको छ । देशको राजनीति अहिले अन्यौलतातर्फ उन्मुख भएको अवस्थामा संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ । एमालेका अध्यक्ष ओलीको भूमिका र सङ्कल्पको प्रशंसा गर्नैपर्छ ।

अन्त्यमा, नेपालको विकास र समृद्धिको यात्रामा केपी आलीले महाथिर, लि कुआन यू, इतो हिरोबुमी मेइजी जस्ता महान् नेताको झझल्को दिनुभएको छ । समकालीन नेपाली राजनीतिक नेतामध्ये केपी ओली नै सबैभन्दा बढी ‘भिजनरी’ देखिनुहुन्छ । केपी ओलीभित्र देश र जनताका लागि केही गर्ने हुटहुटी र सङ्कल्प भेटिन्छ । स्पष्ट अडान र दह्रो अठोट पाइन्छ । उहाँको त्यो सङ्कल्प, हुटहुटी, भिजन र अठोटलाई सही र सकारात्मक रूपमा उपयोग गर्न सके देशको विकास र समृद्धिका लागि कोसेढुंगा हुन सक्छ । (ज्ञवाली वामपन्थी विश्लेषक हुनुहुन्छ )