विद्यालय खेलाडी उत्पादन गर्ने महत्वपूर्ण थलो होः नगर प्रमुख खाँण

मेचीकाली संवाददाता

५ पुष २०८०, बिहीबार
156 shares

मुक्ती न्यौपाने

वालिङ । विद्यालय पढाईको साथै खेलाडी उत्पादन गर्ने महत्वपूर्ण थलो भएको वालिङ नगर प्रमुख कृष्ण खाँडले बताएका छन् । विद्यालयस्तरबाट विद्यार्थीहरुलाई खेल क्षेत्रमा अगाडि बढाउन सकियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने प्रमुख खाँणले बताए ।

स्याङ्जाको वालिङमा बुधबारदेखि सुरु प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको उद्घाटन गर्दै नगर प्रमुख खाँणले बाल बालिकाहरुलाई सानैदेखि पढाईसँगै उनीहरुको रुचि अनुसारको खेलकुदमा लगाउनु पर्ने उल्लेख गरे । राम्रा कुरालाई राम्रो भन्न सक्नुपर्छ भन्दै प्रमुख खाँणले हिज पञ्चायतकालमा एक प्रकारले नियमित हुने गरेको थियो अहिले त्योरुपमा नभएको व्यक्त गरे । ‘हिज पञ्चायतकालमा खेलकुदका कार्यक्रम एक प्रकारले नियमित हुने गर्दथियो पछिल्लो समयमा त्यस्तो भएको छैन । आज पछिल्लोकालमा जुन प्रकारले हुनुपर्ने हो त्यो हुन सकेको देखिदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार हामी खेलकुदलाई अगाडि बढाउन सकिरहेका छैनौ ।’ उनले भने, ‘खेलकुदका कार्यक्रमहरु हुँदै नभएका होइनन्, हामीले खेलक्षेत्र र खेलाडीहरुलाई अगाडि बढाउन सकिरहेका छैनौ ।’

सबै स्थानीय तहहरु र सबै राजनीतिक दलहरुले योजनाकासाथ अगाडि बढ्न सकेमात्र खेल र खेलाडीहरुको विकास गर्न सकिने नगर प्रमुख खाँणले औंल्याए । ‘नेपाललाई अन्य कुराहरुले परिचित गराए जस्तै खेल र खेलाडीको माध्यमबाट पनि चिनाउन सक्छौं । गतवर्ष वालिङमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गरेका थियौं जसले राष्ट्रिय चर्चा पाएको थियो ।’ उनले भने ।

वालिङले महिला तथा पुरुष फुटवलमा राष्ट्रियरुपमा योगदान पु¥याएको छ, यसबाट हामीले गर्व गर्नुपर्छ । अहिले पनि वालिङका छोराछोरी काठमाडौको खेलमैदानमा आफ्नो खेल प्रदर्शन गरिरहेकामा खुसी व्यक्त गर्दै नगर प्रमुख खाँणले यसमा वालिङ क्षेत्रका पुर्ब खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले चन्द्रबहादुर गुरुङ, दिपक भूजेल, शम्सेर गुरुङ, नासिर खाँ, भीम पङ्गेनी, हुमकान्त बगालेलगायत वालिङक्षेत्रका अग्रज खेलाडीहरुको स्मरण गरे ।
वालिङ नगरपालिकाले जसरी अरु क्षेत्रलाई महत्व दिएको छ त्यसैगरी खेलकुदलाई पनि अझ महत्वपूर्णरुपमा हेरेकोे र स्पष्ट नीति तथा कार्यक्रम बनाएर लागेको नगर प्रमुख खाँणले उल्लेख गरे । त्यसैले यो पहिलो कार्यक्रमबाट धेरै कुराहरु सिक्नेछौं र भोलिका दिनमा सुधारेर अझ परिस्कृतरुपमा अगाडि बढाइने उनको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैरेले गतवर्ष वालिङमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गरेको उल्लेख गर्दै खेलसम्बन्धी प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिइने बताइन । स्मार्टसिटीको कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्र महत्वपूर्ण रहेको भन्दै शैक्षिक गुणस्तरसँगै पोशाकलगायतमा सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुमा एकरुपता ल्याउने प्रयासमा नगरपालिका रहेको बताइन ।

यसका साथै विद्यार्थीहरुलाई कमाउदै पढ्दै गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा पारेकोसमेत उनले उल्लेख गरिन । प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरुको सहभागी भएका छन् । प्रतियोगितामा भलिबल, दौड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेस गरिएको खेल संयोजक दिपेन्द्र खाँणले जानकारी दिए ।

वालिङ नगरपालिकाद्वारा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको व्यवस्थापन पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० ले गरेको छ । बुधबारदेखि सञ्चालित प्रतियोगिता शुक्रबार समापन हुनेछ ।