बुटवलदेखि गोरुसिङ्गे सडक विस्तार गर्न वोलपत्र आह्वान

मेचीकाली संवाददाता

६ पुष २०८०, शुक्रबार
476 shares

बाँकी चन्द्रौटासम्मको डीपीआर अन्तिम चरणमा
-विश्व बैंकबाट यसअघि नै ३५ अर्बको स्रोत सुनिश्चित

अमृत गिरी
बुटवल । जनघनत्व तराई केन्द्रित भइरहेको र मुख्य राजमार्ग नै साँघुरा भइ जोखिम दिनहुँ बढिरहेका बेला बुटवल–गोरुसिंगेसडक खण्ड विस्तार गर्न बोलपत्र (टेण्डर) आह्वान भएको छ । कपिलवस्तुको चन्द्रौटा र पछि त्यहाँदेखि पनि पश्चिमसम्मै विस्तारको योजना रहेको र अन्तर्राष्ट्रिय स्तरको सडक बनाउने लक्ष्य लिइएको राजमार्गको अति व्यस्त खण्डलाई पहिले विस्तार गर्न लागिएको छ ।

अहिले बुटवललेखि इमिलिया खण्ड सम्मको सडकलाई दुई चरणमा विस्तारका लागि बोलपत्र आह्वान गरिएको छ । त्यहाँदेखि पश्चिमको सडक खण्ड विस्तारका लागि डीपीआर भइरहेको छ । पहिलो चरणमा बुटवलदेखि ५० किमीको दुरीको सडक विस्तार हुनेछ । आगामी फेब्रूअरी महिनाको पहिलो सातासम्मको ठेक्का दर्ताको म्याद तोकेर करिब २२ अर्ब लागत अनुमानको ठेक्का आह्वान भएको हो । बुटवलदेखि करिब इमिलियासम्मको सडक खण्डलाई २५÷२५ किमीमा विभाजन गरेर विस्तार गरिने छ । यो खण्डको साइट लगभग क्लियर भइसकेको छ । सडक क्षेत्राधिकारमा पर्ने संरचना र जोडिएका रुख समेतको लगत लिइ व्यवस्थापनको काम भइरहेको बताइएको छ ।

ठेक्का लाग्नु अगावै साइटको आवश्यक काम सकेपछि काम फटाफट हुने र अन्यत्रको जस्तो लामो समय लागेर सास्ती भोग्नुपर्ने नहोस् भन्ने उद्देश्यले काम भइरहेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए । बुटवल इमिलिया खण्डको कामको बोलपत्र आह्वान भएको र त्यहाँदेखि चन्द्रौटासम्मको १९ किमी खण्डको विस्तारका लागि अहिले डीपीआरको काम जारी रहेको प्रमुख एसीले जानकारी दिए ।

यो खण्डमा प्रतिष्ठित भारतीय कम्पनी ‘एलइए एशोसिएट साउथ एसीया प्रालिले नेपाली साझेदार कम्पनी जिओकम इन्टरनेशनल प्रालि एण्ड मटेरियल टेस्ट प्रालि’संग मिलेर कन्सलट्यान्ट र डीपीआरको काम गरिरहेको कार्यालयले जनाएको छ ।
बुटवलदेखि–चन्द्रौटासम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर घना बस्ती भएको ठाउँमा आठ र छ लेनको र अन्यत्र चार लेनमा विस्तार गर्ने योजना छ । यो सबैभन्दा ब्यस्त र ट्राफिक जाम भइरहने जोखिमको सडक खण्ड हो । चन्द्रौटा खण्डको १९ किमीको पनि डीपीआर अन्तिम चरणमा पुगेको र पूरा हुँनासाथ टेण्डर आह्वान गरिने इन्जिनीयर एसीले जानकारी दिए ।
यो सडक खण्डको विस्तारका लागि केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेलेको विशेष पहलमा स्रोतको सुनिश्चित भएको थियो । विश्व बैंकलगायतका दातृ निकायसंग सरकारी स्तरबाट विभिन्न समयमा बैठक र छलफल भएका थिए । विश्व बैंकको विज्ञहरुको टोलीले यसक्षेत्रको अवलोकन गरि स्रोतको सुनिश्चित गरेको थियो ।

अहिले सोही आधारमा ५० किमी सडकका लागि २२ अर्ब लागत अनुमान गर्दै बिहीबार मात्रै बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना कार्यालय बुटवलले टेण्डर आह्वान गरेको हो ।

राजमार्ग विस्तारअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटासम्मको एउटा चरण र त्यसदेखि पश्चिम महेन्द्रनगर गड्डाचौकीसम्मका तीन चरण गरी राजमार्ग विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने संकल्प ओली नेतृत्वको सरकारले गरेको थियो । यसलाई चारदेशीय परियोजना बीबीआइएनले अगाडि बढाएको छ । पुल महाशाखाबाट यसको सर्भे भइसकेको छ । तर, रिर्पोट भने सार्वजनिक भएको छैन । यो कामको संकल्प पनि अर्थमन्त्री बनेका बेलामा नेता पौडेलले नै गरेका थिए ।

नेपाल–भारत–बंगलादेश–भुटान जोड्ने रोड कनेक्टिभ परियोजना
पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्दै सार्कस्तरीय सडक सञ्जालमा जोड्ने सोंचसहित रोड कनेक्टिभिटीको काम भइरहेको छ । यसअघिको केपी ओली नेतृत्वको सरकारका पालामा यो कामको सुरुआत भएको हो । नेपालसहित भारत, बंगलादेश र भुटानका बीचमा सडक सञ्जाल जोड्ने तयारी भएपनि त्यसलगत्तै सरकार ढालिएपछि यो काम पनि प्रभावित भएको छ । यो काममा विश्व बैंकका यातायात विज्ञ कोसिने कोऊको नेतृत्वमा रहेको विज्ञहरुको टोलीले नेपालको भ्रमण समेत गरेको थियो ।

अन्तर्राष्ट्रियस्तरको भारतीय कम्पनी न्यू सिनर्जी कन्सल्टीङका सञ्जय सक्सेनाले पुलको डिजाइनमा कन्सलटेन्टको काम गरिरहेका छन् । उनले केही महिनाअघि बुटवलमै आएर अवलोकन गरेर गएका थिए । नेपालका राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र तिनलाई छिमेकका मुलुकका सडकसंग कनेक्ट गर्ने नेपाल सरकारले यसअघि नै बनाएको योजनामा छ ।
खासगरी बुद्ध जन्मस्थल नेपाल र लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसंग सम्बन्धित नेपालका क्षेत्र र छिमेकी भारतका सामेत क्षेत्रलाई एउटै सडक सञ्जालमा जोड्नेगरी बौद्ध पथ नाममा सडक विस्तार गर्ने सोंचका साथ काम सुरु गएको थियो । तिनाउ नदीमा बन्ने सिग्नेचर पुललाई पनि सोही रोड कनेक्टिभिटीको एउटा माध्यमका रुपमा लिइएको छ । ‘नेपाल स्ट्राटेजी रोड्स कनेक्टीभिटी एउड ट्रेड इम्प्रूभमेन्ट प्रोजेक्ट तथा नेपाल–भारत क्षेत्रीय व्यापार र यातायात प्रोजेक्टअन्तर्गत निर्माण गर्ने योजना हो ।

जनस्तरबाट काममा खबरदारी होस्: विष्णुप्रसाद पौडेल
बुटवल । स्थानीय जनताको चाहना र राष्ट्रिय आवश्यकतालाई आत्सात गर्दै लामो समय देखि हामीले गरेको प्रयास अनुरूप पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिंगे सडकखण्ड डेडिकेटेड चार लेन (खास ठाउँमा आठ लेन, छ लेन, अण्डरपास र ओभरपास समेत) मा स्तरोन्नति गर्नका लागि वोलपत्र आव्हान भएको छ । यो हामी सबैका लागि खुसीको बिषय हो ।

तर, हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहीआएको छ । विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस् आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस् । स्वस्थ एवम् पारदर्शी प्रक्रियाद्वारा सक्षम निर्माण कम्पनी छनोट गरियोस् र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गरोस् । छनोट भएको कन्सल्ट्यान्ट कम्पनी र नेपाली साझेदार कम्पनीले पनि निर्माण कार्यको प्रभावकारी परिक्षण र सहजीकरण गरोस् ।

त्यसैगरी गोरूसिङ्गे देखि चन्द्रौटा सम्मको १९ किलोमीटर सडकको डीटेल डिजाइन शीघ्र सम्पन्न गरी निर्माणकार्य आरम्भ गरियोस् । बुटवलको तिनाउ नदीमा सिक्नेचर पुल निर्माणकार्य पनि विलम्ब नगरी आरम्भ गरियोस् । जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्ति–कमजोरी हुँदा खबर्दारी गरिने जानकारी गराउन चाहन्छु ।