चालकले चेकिङ छलेर भाग्दा भयानक दुर्घटना ! १२ जनाको मृत्यु, २२ जना घाइते

मेचीकाली संवाददाता

२९ पुष २०८०, आईतवार
96 shares

बुटवल, । दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट शुक्रबार राति बस खस्दा करिब १०० मिटर पश्चिमको इलाका प्रहरी कार्यालय भालुवाङमै थिए त्यहाँका प्रमुख इन्स्पेक्टर उज्वलबहादुर सिंह । बस पुलबाट खसेको हल्ला खल्लापछि उनी तत्कालै घटनास्थल पुगेका थिए । बस चेक पोइन्टदेखि झन्डै ३० मिटर पूर्व चालककै साइड दायाँबाट राप्ती नदीमा खसेको थियो ।

बसको अगाडिको भाग पानीमा र पछाडिको भाग बगरमा थियो । ‘चालकतर्फको भाग पानीमा परेको हुँदा चालकलाई धेरै चोट नलागेको हुनुपर्छ,’ उनले भने ‘बसको पछाडिको भाग बगरमा बजारिएको हुँदा पछाडि बसेकाहरुलाई बढी चोटपटक लागेको देखिन्छ ।’ पाँचवटा शव पानीबाटै निकालेको इन्स्पेक्टर सिंह बताउँछन् । दुर्घटनाका घाइतेहरूको उद्धार कार्य सकेर बिहान ३ बजे कार्यालय फर्किएको उनले बताए ।

‘मैले चेक प्वाइन्टमा बसेका डिउटीका ट्राफिक प्रहरीलाई बुझ्दा चालकले बस नरोकेर तीव्र गतिमा अगाडि बढाएको भन्ने नै छ,’ सिंहले भने ‘तर, चालकले प्राविधिक कारण बस दुर्घटनामा परेको भनेर हामीलाई बयान गरेका थिए ।’ प्राविधिक कारणले हो वा मानवीय त्रुटिको कारणले बस दुर्घटनामा परेको हो भन्ने कुरा थप अध्यनपछि मात्रै खुल्ने उनले बताए । अहिले मुचुल्का तयार पारी त्यसको प्रतिवेदन जिल्लामा बुझाउने तयारी भइरहेको उनले बताए । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दुर्घटना नै नहुने ठाउँमा कसरी बस दुर्घटना भयो भन्नेबारेमा अध्ययन भइरहेको बताए ।
बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार राति १० बजेतिर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बागमती प्रदेश ३००१ ख ३९१२ नम्बरको बस पुलबाट राप्ती नदीमा खसेको हो । ‘त्यो दुर्घटना हुने ठाँउ नै हैन,’ उनले भने ‘त्यस्तो सिधा पुलबाट बस कसरी नदीमा खस्यो ? त्यो विषयमा अनुसन्धान भइरहेको छ ।’ बसमा जम्मा ३५ यात्रु सवार थिए । घाइतेमध्ये अझै पनि ४ जनाको अवस्था गम्भीर रहेको, ११ जनाको अवस्था मध्यम र ९ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

१२ जना मृतकहरूमा बाँकेको नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, मकवानपुर हेटौडाका ३९ वर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुमको साविक गोतामकोट गाविस–९ का २५ वर्षीय दपक कामी, भारतको बिहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्र राम, चितवनको भरतपुर उपमहानगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका–३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार रहेको जिल्ला प्रहरी कार्यलय दाङका प्रवक्ता डिएसपी जनक मल्लले जानकारी दिए ।
दुर्घटनाका घाइते २४ जनामध्ये १३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना, सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिनिक भालुवाङ र प्रस्तावित अस्पताल भालुबाङमा १ जना घाइतेकोे उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए ।
कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का ३५ वर्षीया लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका–३ का २१ वर्षीय शंकर थारु, भारतको बहराईज मटेराका २८ वर्षीय राहुलकुमार यादव र २० वर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका–५ का ४५ वर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का २४ वर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका–१ का २५ को मोहमद जावेद छन् ।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका २२ वर्षीय साजिव थारु, बाँकेका १८ वर्षीय दशरथ विक, बाँकेकै १९ वर्षीय निफख खान, डोल्पाका ३५ वर्षीया धनकली बढा, बाँकेका २० वर्षीय कोरिन्जन कोरी र बाँकेका २० वर्षीय अवाज नाउ छन् । उनीहरूको पूरा ठेगाना खुलिनसककेको डिएसपी मल्लले जानकारी दिए । घाइतेमध्ये ७ जनालाई बुटवल पठाइएको छ । बुटल पठाइएका घाइतेहरूमा काठमाडौंको चाविहलका ४४ वर्षीय सुवास सार्की, रौतहटका २६ वर्षीय सञ्जय कार्की, जुम्लाका १९ वर्षीय विशाल बोहोरा, काठमाडौंकै ११ वर्षीया आज्ञा पाण्डे, ३८ वर्षीया मञ्जु शर्मा, २३ वर्षीय सन्जु बढवाल र ४५ वर्षीय राधा पाण्डे छन् ।

जुम्लाको हिमा गाउँपालिका–४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए । बस चालक सल्यानको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । तीव्र गतिको बस चालकले नियन्त्रण गर्न नसक्दा पुलबाट खसेको हुनसक्ने प्रहरीले बताएको छ ।