अक्सफोर्ड माविमा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम

मेचीकाली संवाददाता

५ माघ २०८०, शुक्रबार
85 shares

बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड माविमा शुक्रबार कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढने विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए ।
प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए ।

वि.स.२०५९ सालमा स्थापना भएको माविमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा २ हजार ५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउँदै आएको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ६ ओटा स्टलहरू रहेका थिए । जसमा मम, पिजा, बर्गर, जस्ता परिकारहरू रहेका थिए । करिब छ हजारको उपस्थितिमा भएको कार्यक्रममा छ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक गोकर्ण खरेलले बताए ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए । खाना महोत्सव कार्यक्रमबाट करिब २ लाख जति नाफा भएको हुंदा उक्त नाफा समेत विद्यार्थीहरूले बाडने प्राध्यापक सुमन भुसालले बताए । कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको उपस्थिति रहेको थियोे ।