गार्गी एकेडेमीमा फुड र बुक फेस्टिबल

मेचीकाली संवाददाता

१२ माघ २०८०, शुक्रबार
49 shares

बुटवल। स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शुक्रबार संयुक्त रूपमा फुड फेस्टिबल र बुक फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीमा व्यवहारिक शीप विकास गर्न र पठन सस्कृतिको विकास गर्न खाना महोत्सव र बुक प्रदर्शनी आयोजना गरिएको हो । विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थी पढदै कमाउँदै गर्न सकुन भनेर खाना महोत्सवलाई प्रोत्साहित गरिएको जानकारी दिए । सो अवसरमा विद्यार्थीले विभिन्न परम्परागत परिकारहरु पस्केर आफ्ना अभिभावक, शिक्षक र विद्यार्थीलाई विक्री गरेका थिए । फुड फेस्टिबलको सबै सामानहरु विद्यार्थी आफैले जुटाएका थिए ।

फुड फेस्टिबलमा कक्षा ६ देखि १० सम्मका ७५० जना विद्यार्थी सहभागी रहेको प्राचार्य अधिकारीले बताए । ‘पछिल्लो समय बालबालिका मोबाइलको लत बसेको छ’ प्राचार्य अधिकारीले भने, ‘त्यसबाट विद्यार्थीहरुलाई टाढै राख्नको लागि हामीले पुस्तक पढने बानीको विकास गर्न थालेका छौं । अभिभावकले पनि बालबालिकाको अगाडि मोबाइल नहेर्ने र बालबालिकासँगै पढनुपर्छ ।’

साथै सोही अवसरमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ । गार्गीले छोटो समयमा अभिभावकको मन जितेर सबैको रोजाइमा परेको छ । अधिकारीले हरेक विद्यार्थीमा रहेको कुनै न कुनै प्रतिभालाई उजागर गर्न विद्यालयले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । २०६८ सालमा स्थापित विद्यालयमा अहिले १ हजार ९७२ जना विद्यार्थीहरू अध्ययनरत छन् ।