केएनआइटीका विद्यार्थीले बनाए ‘कम्प्रेसर मेसिन’

मेचीकाली संवाददाता

१२ माघ २०८०, शुक्रबार
419 shares

रमेश पराजुली

बुटवल । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआइटी) बुटवलमा अध्ययनरत विद्यार्थीहरुले ‘कम्प्रेसर मेसिन’ बनाएका छन् । बुटवल–१२ तामनगरस्थित शिक्षालयमा अध्ययनरत ७ जना विद्यार्थीको समूहले नकुहिने फोहोरलाई ‘कम्प्रेस’ गरेर साइज घटाउने मेसिन तयार पारेका हुन् ।

विद्यार्थीहरू विनोद पौडेल, अनुप घिमिरे, सम्राट बस्याल, सुवास पुरी, मनिस थारू, अमुल भट्टराई र शुसिल चौधरी १५ दिन लगाएर बनाएको मेसिन स्थानीय तहले किन्ने तयारी गरेको छ । यसअघि शिक्षालयका विद्यार्थीले टपरी बनाउने मेसिन पनि बनाएर विभिन्न ठाउँमा विक्री गरिसकेका छन् ।


यस अघिका ‘प्रोजेक्ट’ सफल भएपछि यो नयाँ मेसिन बनाउन थालेको विद्यार्थी अनुप घिमिरेले बताए । अध्ययनका क्रममा सिकेको सिप र ज्ञानलाई प्रयोग गरेर यो मेसिन तयार पारिएको उनको भनाइ थियो । शिक्षाको गाइड र टिमवर्कबाट यो मेसिन बनाउन सफल भएको अर्का विद्यार्थी विनोद पौडेलले बताए ।

विद्यार्थीहरूले पोजेक्टको प्राटिकलका रुपमा यो मेसिन बनाएको कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख नवीन किशोर गैरेले बताए । यो मेसिनले नकुहिने फोहोरलाई कम्प्रेस गरेर फोहोरको भोलुम घटाउने भएकाले फोहोर व्यवस्थापनमा यो अति नै उपयोगी हुने उनले बताए । बिद्यार्थीहरुले प्राटिकलका रुपमा निर्माण गरेको यो पहिलो मेसिन भएको उनले दावी गरे । ‘संकलित फोहोरलाई मेसिनमा राखेर अन गरेपछि फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिन्छ,’ उनले भने । विद्यार्थीहरुले करिब १५ दिनमा ११ लाख लागतमा १५० टन क्षमताको मेसिन तयार गरेको शिक्षालय प्रमुख गैरेले बताए ।

यो मेसिन पालिकाहरुलाई फोहोर व्यवस्थापनमा बढी उपयोगी हुने भएकाले बिभिन्न पालिकाहरुसँग कुरा भइरहेको शिक्षालय प्रमुख गैरेले बताए । पालिकाहरुले मेसिनको माग गरेमा थप मेसिन निर्माण गरेर उपलब्ध गराउन सकिने उनले बताए । यसअघि यस्ता मेसिन भारतबाट आयात गर्दा २० देखि २५ लाख रुपैयाँसम्म पर्ने गरेकोमा अब कम मूल्यमा मेसिन उपलब्ध गराउन सकिने उनको भनाइ थियो ।

कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयका रोजगार शाखा प्रमुख निरज तिवारीले यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरुले पोजेक्टका रुपमा समुदायमा आवश्यक पर्ने विभिन्न मेसिन निर्माण गर्दै आएको र सफल बनेको बताए । वि.सं. २०६९ सालदेखि ३ वर्षे डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा अटोमोबाइल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन इन्जिनियरिङ्ग कोर्ष सञ्चालन छन् ।