कपिलवस्तुमा ११० सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु, १५९ घाइते

मेचीकाली संवाददाता

१८ माघ २०८०, बिहीबार
180 shares

पार्वती आचार्य
कपिलवस्तु, माघ १८ । कपिलवस्तुमा चालू आर्थिक वर्षको माघ १८ गतेसम्म ११० वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १ सय ५१ वटा सवारीसाधन परेका छन् भने ३० जनाको मृत्यु भएको छ । १ सय ५९ जना घाइते भएका छन् । यस्तै १३ वटा छाडाचौपायाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिष भण्डारीका अनुसार सवारी दुर्घटनामा सबैभन्दा बढी ८७ वटा मोटरसाइकल, अटोरिक्सा र साइकल १६ वटा, बस १५ वटा, ट्याक्टर १० र जीपकारमा ७ वटा, ट्रकबाट ७ वटा, टेम्पु ५ वटा, टिप्परबाट १ वटा र अन्य २ वटा दुर्घटनामा परेका छन् ।

आर्थिक वर्षको साउनदेखि माघ १८ सम्म विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २२ हजार ५ सय ६३ वटा सवारी साधनलाई कारवाही गरी १ करोड ६४ लाख ६० हजार ५ सय राजश्व रकम संकलन भएको भण्डारीले बताए । यसैगरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई, सार्वजनिक सवारी साधनका चालक÷सहचालक÷यात्रु , पैदलयात्रु तथा सरकारी निकायका चालक÷कर्मचारीहरुलगायत अन्य सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ । जसमा १ हजार १ सय ५८ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३१ हजार ६ सय ८ जना लाभान्वित भएका छन् ।

चालकको स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रम
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चालकहरुका लागि स्वास्थ्य परिक्षण तथा ट्राफिक जनचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । जिल्ला ट्राफिक कार्यालय र जयनगर स्वास्थ्य चौकी गोरुसिंगेको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

पछिल्लो समयमा सवारी दुर्घटनाका घटनाहरु बढ्दै गएपछि कार्यालयले पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनहरुलाई कार्यालयको अगाडि रोकी चालकको आँखा र प्रेसरको परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख भण्डारीले बताए । १ सय ५ जना सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । जसमा २५ जना सवारी चालकमा उच्च रक्तचाप र १२ जनामा न्यून रहेको पाहिएको छ ।

दुर्घटना न्यूनीकरणको लागि स्थानीयतहसँग समन्वय गरीे जिल्लाको बिभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण, सवारी साधनहरुको मेकानिकल चेकजाँचलगायतका विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।