वालिङ महोत्सवमा एकैदिन २० हजार बढी दर्शक

मेचीकाली संवाददाता

२० माघ २०८०, शनिबार
162 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा सञ्चालित आठौं वालिङ महोत्सवको तेस्रो दिन शनिवार हजारौं दर्शकले महोत्सव अबलोकन गरेका छन् ।

विगतका महोत्सवको साख कायम गर्नुकासाथै सभ्य र भव्यरुपमा आठौं संस्करणको महोत्सव सम्पन्न हुनेमा शनिबारको उपस्थितिले सावित गरेको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताए ।

शनिबार मात्र २० हजार बढीले महोत्सव अवलोकन गरेको संघका सचिव तथा प्रचार प्रसार एव कलाकार संयोजन उपसमितिका संयोजक पिताम्बर खनाल ( शुसिल)ले जानकारी दिए । वालिङस्थित खेलमैदानमा सञ्चालित महोत्सवको तेस्रो दिन शनिबार विदा परेकाले पनि दर्शकहरुको भीड लागेको हो ।

राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपानेका गीतले दर्शकहरु मन्त्रमुग्ध पारेको थियो । यसैगरी भिमु गुरुङ, दिनेश क्षत्री, यम नेपाली, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौंडेललगायतको प्रस्तुतिले दर्शकहरुलाई नचाउनुकासाथै रमाइलो प्रदान गरेको थियो । यस्तै सुगम संगीतका रुपक डोटेलले दर्शकहरुलाई निकै झुमाएका थिए भने दिपक थापाको जादुगरीको साथमा हास्य प्रस्तुतिले निकै रोमान्चित बनाएको थियो ।

प्रतियोगितात्मक कार्यक्रमहरुमा रत्यौलीगीत, लोक भजन एवम् स्याङ्जा डान्स आइडलका प्रतिस्पर्धा भए । जसमा रत्यौलीका २, डान्स आइडलका ३ र लोक भजनगीत अन्तर्गत एक समूहको प्रतियोगिता सञ्चालन भएको हो । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँदैजाने संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताए ।

यसैगरी आइतबार राष्ट्रिय कलाकारहरुमा प्रजापति पराजुली, श्याम राना, मञ्जु विक, नेत्र खड्का, तारा पौडेल, सङ्गीता पौडेल, जगत गौंडेल, राजेश भण्डारी, शान्ति कार्कीको प्रस्तुति रहने छ । हास्य कलाकार पोखरेली माग्ने धुर्मुसको विशेष प्रस्तुति रहने प्रचारप्रसार एवम् कलाकार संयोजन उपसमितिका संयोजक खनालले जानकारी दिए ।