निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनीमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

२१ माघ २०८०, आईतवार
94 shares

बुटवल । निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन दाङको भालुबाङमा सम्पन्न भएको छ । सिटिइभिटिबाट सम्बन्धन लिएर सञ्चालित संस्थाहरुको छाता संगठनका रुपमा वि.सं २०५५ सालमा स्थापित भएको संस्थाले लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनले त्रिलोचन पौड्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा अरविन्द्र आचार्य, सचिवमा खिमप्रसाद पार्धे, कोषाध्यक्षमा रणबहादुर थापा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा राकेश शर्मा, जीवन भण्डारी, जयप्रकाश वली, किरण चौधरी, अमृत श्रेष्ठ, कुमार श्रेष्ठ रहेका छन् ।

अधिवेशनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै मुख्यमन्त्री चौधरीले निजी प्राविधिक शिक्षण संस्थाका समस्या समाधान गरी प्राविधिक शिक्षा र तालिमको क्षेत्रमा रिजल्ट आउनेगरी मिलेर काम गर्न आफू तयार रहेको बताए । निजी शिक्षण संस्थाले प्राविधिक जनशक्ति उत्पादनको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे ।

यस्तै संस्थाका अध्यक्ष पौड्यालले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खिमप्रसाद पार्थेले संस्थाको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष त्रिलोचन पौड्यालको अध्यक्षता, महासंघका केन्द्रिय अध्यक्ष अरुणकुमार पान्डेय तथा सिटिइभिटी निर्देशक टैलेन्द्र आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै सिटिइभिटी लुम्बिनी प्रदेश उपनिर्देशक यादव सुवेदी, महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष बसन्तराज खनाल, महासंघ महासचिव भुवनचक्र जोशी, केन्द्रिय सचिव ध्रुव शर्मा, केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक किशोर पान्डेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्राहरुले देशको अहिलेको नितिले सिटिइभिटी र अरबौं लगानी भएका प्राविधिक शिक्षालयहरुको आगामी भविष्य अन्यौलमा परेको बताउँदै सिटिइभिटी र सिटिइभिटीबाट सञ्चालित शिक्षण संस्थाहरुको भविष्यबारे चिन्ता व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन निवर्तमान सचिव एवं वर्तमान केन्द्रिय कोषाध्यक्ष दोर्णबहादुर ओलीको सञ्चालनमा सम्पन्न भएको थियो ।