चार किलो चरेससहित कपिलवस्तुबाट एकजना पक्राउ

मेचीकाली संवाददाता

२२ माघ २०८०, सोमबार
78 shares

पार्वती आचार्य

कपिलवस्तु । कपिलवस्तुमा ४ किलो ६४६ ग्राम लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका–२ बाट ३८ वर्षीया बासु घर्तीलाई पक्राउ गरेको हो ।

प्यूठानको गौमुखी गाउँपालिका–३ कि घर्तीले रुकुमपूर्वबाट भारततर्फ लागूऔषध ओसारपसार गर्न लागेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए । कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा झोलामा पोको पारी राखेको (९) पोका चरेस बरामद गरेको छ ।

आर्थिक वर्ष ०८०/०८१ को साउनदेखि माघ २० गते सम्म जिल्ला प्रहरी कार्यालयका बिभिन्न मातहतमा चेकजाँच गर्ने क्रममा ब्रराउन सुगर धुलो ६४ ग्राम १ सय १६ मिलिग्राम, चरेस ४ किलो ६ सय ४६ ग्राम, अन्य ट्यावलेटहरु नाईट्राभेट ३ सय ६९, स्पास्मो १ हजार ३ सय ४ क्याप्सुल र एसकोडिल १ सय एम.एल. को २१ सिसि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उक्त ३० वटा घटनामा २९ वटा मुद्दा दर्ता भई कानुनी प्रक्रिया अगाडी बढाईएको छ भने १ मुद्दा अनुसन्धान प्रक्रियामा रहेको छ । सो घटनाहरुमा ५६ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ब्राउन सुगरमा ४४ जना, नाईट्राभेटमा १० जना, एसकोडिलमा १ जना र चरेसमा १ जनालाई पक्राउ गरि कानुनी दायरामा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वलिले बताए ।