एभरेष्टलाई प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि

मेचीकाली संवाददाता

२७ माघ २०८०, शनिबार
52 shares

बुटवल । न्यू होराइजन इङलिस बोर्डिङ स्कूलको आयोजनामा भएको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट माविले जितेको छ । शुक्रबार भएको फाइनलमा बिजेता बनेको एभरेष्टले ३३ हजार नगद सहित प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै पाल्पाको दमकडा मावि दोश्रो भई २४ हजार पाएको छ ।

त्यस्तै तेस्रो बनेको सैनामैनाको सुनगाभाले नगद १८ हजार पाएको छ । त्यस्तै तीनवटा टीम सान्त्वना भएका छन् । जेभिटी पाल्पा, मेचीकाली मावि दाङ र जनज्योति मावि दाङले नगद तीत तीन हजार पाएको छ । पुस २९ गतेबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको ३०औं संस्करणको प्रथम चरण तीन वटा केन्द्र बुटवल, दाङको लमही र पाल्पामा भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।

२९ गते तीन वटा केन्द्रबाट छनौट भई ६ टिमको फाइलन प्रतियोगितामा आएको कार्यक्रम संयोजक कमलापति अर्यालले जानकारी दिए । फाइनल प्रतियोगिताको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले हाजिरीजवाफ अरु अतिरिक्त क्रियाकलाप भन्दा फरक र ज्यादै महत्वपूर्ण विधा भएको उल्लेख गर्दै यसले विद्यार्थीलाई बौद्धिक क्षमतामा अब्बल बनाउने बताए ।

संस्थाका कोषाध्यक्ष रामेश्वर श्रेष्ठले गुणस्तरीय शिक्षासंगै विद्यार्थीको सर्वाङगीण विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले ठूलो लगानी गरेको बताए । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले संस्थागत र सामुदायिक विद्यालयहरुबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले २०५० सालमा शुरु भएको प्रतियोगिता जिल्ला हुदै प्रदेशस्तरीय बनाइएको बताए ।

यसअघि तीनवटै केन्द्रमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना ३ वटा टिमलाई क्रमशः प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४५ सय र प्रोत्साहन पुरस्कार ३ समूहलाई प्रति समूह १५ सयका दरले प्रदान गरिएको थियो ।