देवदह नगरपालिकाको अर्धवार्षिक समीक्षा सम्पन्न

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
86 shares

देवदह । देवदह नगरपालिकाले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को लागि विनियोजित रकम र योजना, कार्यप्रगतिको बारेमा समीक्षा गरेको हो । यस आर्थिक वर्षमा नगरपालिकाले गरेको कामको प्रगति, आगामी दिन गर्नुपर्ने काम, योजनाको बारेमा छलफल गर्ने गरी अर्धवार्षिक समीक्षा कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । देवदह नगरपालिकाले साउनदेखि पौष मसान्तसम्म ६ करोड ३६ लाख ५४ हजार राजश्व संकलन गरेको समीक्षा कार्यक्रममा जानरी दिइएको थियो । यो हिसाबले ६ महिनाको अवधिमा ३४ प्रतिशत राजश्व संकलन भएको नगरपालिकाले जानकारी दिएको छ ।

देवदह नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १८ करोड ४३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । वडागत राजश्व, नगरपालिकाले लिने विभिन्न विषयको राजश्व, नदीजन्य पदार्थ विक्रिको राजश्व संकलन भएको हो । देवदह नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ५६४ वटा योजना अगाडि सारेको थियो । नगरस्तरीय योजना, वडास्तरीय योजना मध्ये ३६५ वटा योजना सम्झौता भएको र १६६ योजना सम्पन्न भएको समीक्षा कार्यक्रममा जानकारी दिइएको थियो । देवदह नगरपालिकाले ६ महिनाको अवधिमा ३० प्रतिशत योजना सम्पन्न गरेको छ भने ७० प्रतिशत योजना सम्पन्न गर्न वाकी रहेको छ । समीक्षा कार्यक्रममा योजना शाखाले प्रस्तुत गरेको प्रतिवेदनमा १९९ वटा योजना चालू अवस्थामा रहेको र १९९ वटा योजना बाकी रहेको जानकारी दिइएको थियो ।

देवदह नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अरब ७ करोड बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा २५ प्रतिशत खर्च गरेको समीक्षा कार्यक्रममा जानकारी दिइएको छ । आर्थिक प्रशासनद्वारा प्रस्तुत प्रतिवेदनमा पुँजीगत ४९ करोडमध्ये १२ प्रतिशत मात्र खर्चको भएको उल्लेख गरिएको छ । त्यसैगरी ६ महिनाको अवधिमा चालूतर्फ भने २१ करोड ५२ लाख ७३ हजार खर्च भएको जनाएको छ । योजनाको पेश्की रकम लिने तर फस्र्यौट नगर्ने प्रवृत्ति बढेको, आफ्नो काम नगरेर अरुको जिम्मेवारीमाथि हस्तक्षेप, नियमित काम गर्दा पनि थप सहुलियतको माग गर्नु र पुँजीगत रुमा खर्च हुन नसकेको जनाइएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममा वडा सचिवहरुले वडा कार्यालयले गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगरपालिकामा रहेका विभिन्न शाखा प्रमुखहरुले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

देवदह नगरपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु भने सहभागी भएका थिएनन् सार्वजनिक पद धारण गरेपनि आफ्नो जिम्मेवारी बहन गर्न नसकेको केही वडाअध्यक्षहरुले कार्यक्रमको बहिष्कार गरेको नगरप्रमुख धु्रवप्रसाद खरेलले बताए । वडा कार्यालयले गरेको खर्चको हिसाबकिताब नागरिकलाई जानकारी दिनुपर्ने भएपनि वडाअध्यक्षहरुले त्यसलाई महत्व नदिई कार्यक्रम बहिष्कार गर्ने गरेको उनले जानकारी दिए । नगरप्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, नगर शिक्षा अधिकारी टीकाराम शर्मा, राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।