वागेश्वरीमा सरस्वती पूजा सम्पन्न

मेचीकाली संवाददाता

२ फाल्गुन २०८०, बुधबार
66 shares

बुटवल। वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजा सम्पन्न भएको छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रमसहित विद्याकी देवी सरस्वतीको पूजा गरिएको हो । एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गणेश, सरस्वती भजन र नृत्य प्रस्तुत गरिएको हो ।

एकेडेमीले बेसिक, सिनियर बेसिक र इन्टरमिडियट तहका परीक्षाको नतिजासमेत सार्वजनिक गरेको हो । नृत्यमा बेसिक तहको परीक्षामा सहभागी भएका १२ जना मध्यबाट प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बेसिक तहको नृत्यतर्फ पिया सारू प्रथम भएकी छन् । त्यसैगरी प्रशंसा पौडेल दोस्रो र आयुसा बरालले तेस्रो स्थान प्राप्त गरेकी छन् ।

त्यसैगरी सिनियर बेसिकमा सहभागी १० जनामध्ये दिया सुवेदीले प्रथम स्थान प्राप्त गरेकी छन् । त्यस्तै रित्तिका ज्ञवालीले दोस्रो र दियान्सा सापकोटाले तेस्रो स्थान प्राप्त गरेकी छन् ।
गत माघ २७ गते मिलन कला केन्द्रको आयोजनामा सम्पन्न भएको पावर अफ ट्यालेन्ट सो मा एकेडेमी मै अध्ययनरत विद्यार्थी जुनियरतर्फ दोस्रो हुन सफल दियान्सा सापकोटा र तेस्रो स्थान प्राप्त गर्ने सिरिशा रोकालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै सिनियरतर्फ प्रयुशा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । त्यस्तै लुम्बिनी एक्पो २०८० को डान्स आइडियमा द्वितीय हुन सफल आरेही काउचालाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठले विद्याकी देवी सरस्वतीको पूजा गर्ने पवित्र दिनमा शिक्षाको गरिमा र बौदिक विकासको आवश्यकता जनजनलाई बुझाउन सरस्वती पूजा गर्ने परम्परा रहेको बताइन् । यो दिनमा यसरी कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै एकेडेमीलाई सदैव माया गर्न आग्रह गरिन् । करिब तीन दशकबाट वागेश्वरीले विभिन्न विधामा कक्षाहरू सञ्चालन गर्दै आएकोसमेत बताइन् । कार्यक्रममा एकेडेमीका कार्यालय प्रमुख व्यवस्थापक दावा शेर्पा (दर्पण )ले स्वागत गरेका थिए ।