नेत्र अर्यालको ‘रहरले होइन मायालु’ (भिडियो)

मेचीकाली संवाददाता

५ फाल्गुन २०८०, शनिबार
281 shares

टोपलाल अर्याल

गुल्मी । लोक सांगीतिक क्षेत्रमा अब्बल सृजना मार्फत स्थापित सर्जक नेत्र अर्यालले लोक दोहोरी गीत ‘रहरले होइन मायालु’ बजारमा ल्याएका छन् । सृजनाले अहिलेको वास्तविक समाजको चित्रण गरेको छ । देश छाड्नुपर्ने अवस्था रहरले होइन । घर, समाज र देशमा उत्पन्न परिस्थितिले सिर्जना गरेको बाध्यता हो । अर्यालले अस्थितरताले घर व्यावहार, कृषि, व्यवसाय र रोजगारीको क्षेत्रमा देखिएको बिषम परिस्थीतिलाई गीत मार्फत उठाएका छन् ।

गीतको भिडियोमा सुरुको अभिनयमा खेम सेन्चुरी र जुना गुरुङ्ग छन् । मागेको क्रृण तिर्न नसकेपछि साहुले गोठको पशुचौपाय फुकाएर लगेपछि घरमा गर्भवती श्रीमती हुँदा पनि हेरचाह र स्याहार सुसार गर्न छोडेर परदेश पसेको सामाजिक यर्थाथता देखाउन खोजिएको छ । लाउनै पर्ने र खानै पर्ने अवस्थाले घर छोडेर जानु पर्दा देउता खोज्दा नभेटिएपछि मायाले भोक नमेटिदा मनमा पीडा र काँधमा झोला बोकेर परदेश पस्नु परेको कुरा जोडदार उठाइएको छ ।
त्यस्तै गीतमा बिनोद भण्डारी र आयुष्मा कार्कीले स्वदेशमै केहि गरौ भन्ने उदेश्यले कृषि कर्म गरेका युवा दम्पती कृषि उत्पादनले बजार र मुल्य नपाएपछि बाध्यताले बृद्धा बाबाआमा र श्रीमती छोडेर परदेश पस्न परेको बिषयमा मर्मस्पर्शी अभिनय गरेका छन् । एक हजारको लागि लाख र बाआमाको काख छोडेर दुख पर्दा आफ्नो कोहि नभएर टाढा हुँदा समयले एक्लै बनाएर धनको अगाडी माया मरेको अवस्थाको मन बिजाउने भण्डारी र कार्कीको अभिनय निकै उत्कृष्ट रहेको छ ।

त्यस्तै ओबी रायमाझी र जुना कार्कीले पढेलेखे पनि देशमा बढेको अराजकता, भ्रष्टाचार र काम माग्दा गोली खाने नेपाल र नेपालीको बिडम्बनालाई चित्रण गरेका छन् । नेता र नेतृत्वको कारण देशमा कुनै संभावना नदेखेर गाउँखाली गरेर त्रिभुवन बिमानस्थल भरेका युवा पुस्ताको वास्तविकता भिडियोले बोलेको छ । साथीहरु परदेश पसेपछि आफु मात्रै गाउँमा हुँदा मनमा उत्पन्न युवाको मार्मिक बेदना बोकेका ओबीलाई आफ्नी प्रियसीले मन गाँठो पारेर गरेको बिदाई निकै दर्दनाक छ ।

सर्जक नेत्र अर्याल आफै शिक्षकको भुमिकामा भिडियोमा छन् । उनले यसु भट्राईसंगको अभिनयमा नेपालमा जागिर गरेर तलब माग्दा राजीनामा थमाएको अवस्थाको चित्रण गर्दै गरिखाने स्थिती नहुँदा युवाहरु रहरले नभएर बाध्यताले आफ्नी प्राण प्यारी श्रीमती छोडेर परदेश पसेको बिषयलाई जोड दिएका छन् । निधारमा लेखेको कुरा नदेखिने भएकाले आफु परदेशबाट फर्किने बेलासम्म श्रीमतीलाई अड्याएर बस्न आग्रह गरेका छन् । परदेशपछि पारिवारीक बिचलन हुने र न श्रीमती न सम्पती हुने परदेशी पुरुषहरुको कथालाई देखाउन खोजिएको छ ।

त्यस्तै शम्भु कुवंर र नारायणी खत्रीले सरकारका नीति र अवस्थाको कारण सोँचे अनुसार व्यापार नभएपछि व्यावसाय बिक्री गरेर परदेश पसेको अभिनय मार्फत देखाएका छन् । पछिल्लो समय व्यावसायमा खेप्न परेको आर्थिक मन्दी र देशको अस्थिर राजनीतिका कारण थुप्रै सटर र व्यावसाय बन्द भइरहेका छन् । सृजनामा उठाइको बिषय र कुवंर तथा खत्रीको अभिनयले व्यावसायभित्रको बिडम्बना चित्रण गरेको छ । गीतमा चर्चित लोक गायक तथा सर्जक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । भने अर्याल आफैको शब्द र सेन्चुरीको लय रहेको छ ।

शनिबार नेत्र अर्यालले आफ्नै युटुव च्यानल मार्फत गीत सार्वजनिक गरेका छन् । गीत सार्वजनिक भएपछि समाजिक संजालमा गीत र नेपाली समाजको सामाजिक यथार्यताको चर्चा सुरु भएका छन् । परदेश पसेकाहरुले गीतलाई आफ्नो जीवन र देशको अवस्थासंग जोडेर संजालमा प्रतितिक्रिया दिइरहेका छन् । जापानबाट नारायण खनालले भन्छन् स् ‘देशमा रोजगारी छैन, उत्पादन छैन । उत्पादित वस्तुको मुल्य र बजार छैन । जति क्रान्तिकारी उति भ्रष्टाचारी भन्ने छवी सरकारको चावी बुझेकाहरूले निर्माण गरे । सरकारी कार्यालयमा कुनै काम लिएर जान सकिन्न । विद्यालयको स्तर खस्कदो छ । आम मानिसमा निराशा बढ्दो छ । समाजमा सकारात्मक र आशावादी सन्देश दिने राजनीतिक दलहरूका कुकृत्यहरू जति घृणा गरे पनि कम हुने खालका छन् । एकथान जिन्दगी कटाउन आम मानिसले व्यहोर्नु परेको कष्ट वयान गरिसाध्य छैन । साहित्य समाजको ऐना हो । समाजको यथार्थ भाव यस गीतले बोलेको र बोकेको छ । नेत्र अर्याल बहुत सरल तरिकाले मार्मिक गीत लेख्छन् । यस्तै परिस्थितिलाई समेटेर एउटा राम्रो गीत बजारमा आएको छ ।’

सर्जक नेत्र अर्यालको घर गुल्मीको इस्मा गाउँपालिका ४ दोहली हो । सानै देखि गीतसंगीतमा रुची राख्ने अर्यालले थुप्रै कर्णप्रिय गीतहरुमा सृजना गर्ने गरेका छन् । नेपाल सरकारको निजामती कर्मचारी भएपनि अर्यालले पछिल्लो समय लेखेका अरेली काँडैले च्वाँस्सै, रमरम मरौटी, सोँचे झै जीन्दगी रैनछ, सुर्ति माड्दै माड्दै गयो जोवन, धनगडीको बसमा भन्ने गीतहरुले नेपाली लोक संगीतमा एकछत्र राज गरिरहेका छन् ।

भिडियो हेर्नुहोस्