राममणि क्याम्पसको ‘२५ वर्षे सेवा अवधि’ विवादमा

मेचीकाली संवाददाता

१९ चैत्र २०८०, सोमबार
98 shares

बुटवल । रूपन्देहीको राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिले ल्याएको ‘उमेरहद र सेवा अवधि’ सम्बन्धी नियमावली विवादित बनेको छ । सरोकारवाला प्राध्यापक, कर्मचारी र विद्यार्थीसँग कुनै सल्लाह, सुझाव र परामर्शविना एकलौटी ढंगले ल्याइएको नियमावली कार्यान्वयनमा नआउँदै विवादमा परेको हो ।

क्याम्पस सञ्चालक समितिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको २५ वर्षे सेवा अवधि राखेपछि प्राध्यापक र कर्मचारीले चर्को विरोध जनाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धिताल, पूर्वअध्यक्ष तथा संरक्षक रोमणीप्रसाद पाठक र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले बद्नियतका साथ यो नियमावली जारी गराएको प्राध्यापक र कर्मचारीहरुको आरोप छ । सामाजिक न्याय र प्रचलित श्रम कानुन विपरीत ल्याइएको यो कार्यविधि खारेज नगरेमा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी प्राध्यापक तथा कर्मचारीहरुले दिएका छन् ।

पूर्वक्याम्पस प्रमुख तथा सहप्राध्यापक खगराज शर्माले क्याम्पस सञ्चालक समितिले गरेको निर्णय गैरकानुनी, अदूरदर्शी हुनुका साथै क्याम्पस प्रमुखको असक्षमताको उपज भएको टिप्पणी गरे । शर्माले शिक्षकहरुलाई गुमराहमा राखेर ल्याएको २५ वर्षे सेवा अवधिले प्राध्यापन पेशामा जीवन बिताएकाहरुलाई गलत्याउने भएकोले त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । जीवनको ऊर्जाशील समय क्याम्पसमा बिताउँदै गर्दा श्रमयोग्य समय बाँकी रहँदै गर्दा बिचमैं कुनै पनि प्राध्यापक र कर्मचारीलाई गलत्याउने कार्य सामाजिक न्याय विपरीत हुने उनको भनाइ छ ।

‘क्याम्पको आर्थिक अवस्था केही संकुचित भएको भए तलब घटाउने, उपदान, सञ्चयकोषको बारेमा सोच्न सकिएता पनि सेवा अवधि राखेर हटाउने कार्य अपराध हो, यो स्वीकार्य छैन,’ शर्माले भने ।
क्याम्पसले ल्याएकोको कार्यविधि अनुभवी, दक्ष, सक्षम प्राध्यापक र कर्मचारीलाई पाखा लगाएर नयाँलाई भित्र्याउने मनशायबाट अभिप्रेरित रहेको कतिपयको बुझाइ छ । यहीँ कुरालाई बुझेका विद्यार्थी संगठनहरुले समेत क्याम्पस सञ्चालक समितिले ल्याएको कार्यविधिको विरोध गरेका छन् । प्राध्यापक र कर्मचारीहरुसँग कुनै छलफल नगरिएकोले कार्यविधि बद्नियतका साथ ल्याइएको हुने उनीहरुको आरोप छ ।

कार्यविधिअनुसार तीन जना प्राध्यापक र दुई जना कर्मचारीलाई हुलाकमार्फत घरमा अवकाश पत्र पठाइएबाट पनि सञ्चालक समितिको बद्नियत स्पष्ट हुन्छ । क्याम्पसका सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले नियमावलीको नबुझेर विरोध भएको दावी गरे । ‘हामीले सुविधासहित विदा गर्ने गरी २५ वर्षे सेवा अवधिको प्रावधान ल्याएका हौँ,’अध्यक्ष धितालले भने, ‘धेरै प्राध्यापक र कर्मचारीले यसलाई स्वागत गर्नुभएको छ । केहीले नबुझेर विरोध गर्नुभएको हो । यसबाट कोही तर्सिनुपर्ने छैन । सबैलाई लागू भएको हो ।’

क्याम्पसका उपप्रध्यापक मुक्तिनाथ गैह्रेले प्रतिक्रिया दिन इच्छा देखाएनन । क्याम्पस प्रमुख तथा सञ्चालक समितिको पदेन सदस्य ताराप्रसाद पराजुलीले सञ्चालक समितिले गरेको निर्णयबारे आफूले बोल्न नमिल्ने बताए । ‘अहिलेको परिस्थिति विद्यार्थी अभावले जन्मिएको हो,’ पराजुलीले भने, ‘यो नियमावलीले म पनि ४ वर्ष अघि नैं निस्कनुपर्ने भएको छ । कोही व्यक्ति विशेषलाई हेरेर यो भएको होइन ।’

राममणि २०४५ सालमा स्थापित सामुदायिक क्याम्पस हो । क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ हुन्छ । २०७५ मा विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरेको छ । पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति राजेन्द्र थापाले विज्ञाप्ती जारी गर्दै आयातीत शैलीमा एकाएक नियमावली अवकास दिने निर्णय खेदजनक भएको बताएका छन् । २ हजार ६०० विद्यार्थी अध्ययन गर्ने क्याम्पस जिल्लामा सम्भावना बोकेको क्याम्पसमा पर्छ ।