शिक्षा प्रणाली नसुध्रिएसम्म देशको विकास हुँदैनः मुख्यमन्त्री महरा

मेचीकाली संवाददाता

३ बैशाख २०८१, सोमबार
112 shares

अनिल नेपाली

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले नेपालको शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने कम्पनी जस्तै भएको बताएका छन् । स्वदेशमा प्राप्त गरेको प्रमाणपत्रले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना हुनुले विदेश मोह बढेको उनको तर्क रहेको छ ।

मालारानी गाँउपालीका–५ वागीस्थित शान्ति माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री महराले नेपालमा श्रमको मूल्य कमी भएकाले युवाहरू वैदेशिक श्रम बजारतर्फ आकर्षित भएको बताए । नेपालको श्रमको मूल्यले दैनिक गुजारा चलाउन नसक्ने समस्याले देश जनशक्ति विहीन हुँदै गएको बताउँदै मुख्यमन्त्री महराले श्रमको मूल्य बढाउन सकेमा नेपाली मात्र नभई विदेशी समेत आकर्षित हुनमा जोड दिए ।

कार्यक्रममा बोल्दै उनले अर्घाखाँची जिल्ला शैक्षिक विकासका हिसाबले धेरै अगाडी पुगी सकेको हुनाले यसको निरन्तरता सँगै व्यावसायिक तथा वैज्ञानिक शिक्षातर्फ ध्यान दिन सबैलाई आग्रह गरे । व्यावसायिक शिक्षाले मात्र उत्पादन र रोजगारी सिर्जना गर्ने भएकाले उद्यमशीलता विकासका लागी व्यवहारिक ज्ञान अपरिहार्य भएकोमा जोड दिए । गुणस्तरीय शिक्षाको खोजीमा मानिस सहरतर्फ आकर्षित भएको दृष्टान्त सुनाउँदै उनले सरकारी विद्यालयमा राज्यले ठुलो लगानी गरेकोले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महराले लुम्बिनी प्रदेशको गौरबको आयोजना अन्तर्गत रहेको गच्छे–भालुवाङ्ग सडक आगामी वर्ष पूर्ण कालोपत्रेको काम सम्पन्न हुनेमा शङ्का नगर्न आग्रह समेत गरे । उनले विगतको सरकारले प्राथमिकतामा राखेका योजना यो सरकारले पुरा गर्ने गरी आफु लाग्ने जानकारी गराए । अर्घाखाँची, गुल्मी र पाल्पालाई छोटो दुरीले प्रदेश राजधानी सँग जोड्न यो सडक विगतको सरकारका नजरमा पर्न नसकेको भन्दै आगामी वर्ष काम सम्पन्न हुनेगरी बजेटमा सम्बोधन गरिने बताए ।

त्यस्तै लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने बताए । जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने बताउँदै लुम्बिनीको विकासका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । जिल्लाको विकासमा बिगत देखिनै सबै दल एकजुट भएको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी रहेको बताए ।