सेमलारमा इन्डो–नेपाल मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता

मेचीकाली संवाददाता

११ बैशाख २०८१, मंगलवार
32 shares

बुटवल। बुटवल–१५ सेमलारस्थित सेमलार ब्याडमिन्टन क्लबमा इन्डो–नेपाल मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भारतको बि ट्वान्टी वान ब्याडमिन्टन एकेडेमीसँगको सहकार्यमा नेपाल र भारतका खेलाडीहरुबिचमा प्रतियोगिता आयोजना गरीएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष शिव राना मगरले दुई देशीय सम्बन्धलाई अझ बलियो बनाउनका लागि यस्ता खालका प्रतियोगिताले अझ बल पुर्याउने बताए । नेपालमा फुटवल, भलिबल र क्रिकेटसँगै ब्याडमिन्टन खेलको लोकप्रियता बढ्दै गएको अबस्थामा देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकास गर्न सबैको सहकार्य आबश्यक पर्ने बताए । उनले समृद्ध नेपाल निर्माणको लागि खेल पनि एक प्रमुख अंग भएकाले खेलको बिकास विस्तारका योजनाहरुमा उपमहानगरपालिका सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

सेमलार ब्याडमिन्टन क्लबका अध्यक्ष पुर्नप्रकाश थापा मगरले खेलको माध्यमबाट आपसी आत्मीयता, अनुशासन र नयाँ खेलका प्राबिधीक पक्षको ज्ञानका लागि मैत्रिपूर्ण प्रतियोगिताको आयोजना गरिएको बताए । उनले दुई देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालमा प्रख्यात खेलहरुलाई बिश्वव्यापी बनाउने र बिश्वमा विकास भएका नयाँ खेलहरुलाई नेपालमा बिस्तार गराउन अन्तर देशीय खेलकुद प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तता दिने बताए ।

बि ट्वान्टी वान एकेडेमीका डाइरेक्टर तथा अन्तराष्ट्रिय रेफ्री उदय अर्यालले बुटवलको सेमलारमै अन्तराष्ट्रिय कोचको व्यवस्था गरी एकेडेमी सञ्चालन भइरहेकाले नयाँ खेलाडी उत्पादनमा यसले महत्वपूर्ण भूमीका खेल्ने बताए । बुटवलमै अन्तराष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न मिल्ने संरचना तयार भएकोले यहाँका खेलाडीहरु जिल्ला बाहिर गएर सिक्नुपर्ने अबस्थाको अन्त्य भएको बताए । बालबालिकालाई शिक्षासँगसगै खेलकुद पनि आबश्यक पर्ने बताउँदै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई रुचीअनुसार खेल क्षेत्रमा अघी बढ्नुपर्ने धारणा राखे ।

यूवा समाजसेवी तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका कार्यालय सचिव विनोद आचार्य, क्लबका उपाध्यक्ष केशब कुँवर लगायतले बोल्दै धेरै मिहेनत गरी सेमलारमै ब्याडमिन्टनका लागि संरचना तयार भएको बताउँदै नयाँ पुस्तालाई ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउन र खेलिरहेका खेलाडीलाई टिकाइरहन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बि ट्वान्टी वान एकेडेमीका म्यानेजर विकाश शुक्ला, कोच सरोज सुनार, मनिसा खड्का लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम सेमलार ब्याडमिन्टन क्लबका सञ्चालन क्लबका सचिव इश्वरी तरामु मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।