रश्मि आचार्य
गृहजिल्ला झापा पुगेर एमाले अध्यक्ष केपी ओलीले ३६५ दिन एमाले हुने तर अन्तै भोट हाल्नेहरू एमालेलाई चाहिँदैन भनेको सन्दर्भ यतिबेला चर्चामा छ । पहिलो चरणभन्दा दोस्रो चरणमा यस्तो प्रवृत्ति बढी देखिएकाले उहाँको यस्तो कडा अभिव्यक्ति आएको हो । विपक्षी गठबन्धनलाई पछाडि पारेको एमालेका अध्यक्षले नै किन यस्तो बोल्नुप¥यो ? यस कुराको संकेत हो, एमाले दुई चरणका स्थानीय चुनावको वस्तुनिष्ठ समीक्षा गरी त्यसबाट शिक्षा लिएर तेस्रो चरणको चुनावमा होमिँदैछ ।
अपेक्षा गरौं, प्रदेश र संघको निर्वाचनमा पार्टी अध्यक्षले पुनः यो वाक्य दोहो¥याउनुपर्ने छैन । तीन चरणमा स्थानीय चुनाव गराउनु सरकारी अकर्मण्यता र लाचारीको प्रतिविम्ब हो । यसरी चरण–चरणमा चुनाव गराउने योजनाभित्र अनेकौं षड्यन्त्र थिए । पहिलो चरणका तीन प्रदेश त्यस्ता रोजियो, जहाँ २०७० को चुनावमा सत्ताधारीहरू निकै बलिया थिए, एमाले धेरै कमजोर थियो । त्यहाँ जितेर रातो अविर र माला पहिरिएर अरू प्रदेश छिर्ने उनीहरूको दाउ थियो । यसलाई जनताले विफल बनाइदिए । परिणामतः एमाले पहिलो पार्टी बन्यो । पहिलो चरणमा त्यस्तै भयो, दोस्रो चरणमा हेरांैला ! भनेर एमाले विरुद्ध सरकार पक्षधरहरूले सक्ने र मिल्नेजति ठाउँमा गठबन्धन गरे । सत्ताको विरुद्ध विपक्षीहरूको गठबन्धन अनौठो होइन । तर यहाँ विपक्षी पार्टीविरुद्ध सत्तामा भएका र नभएका सबैजसो पार्टीको गठबन्धन भयो, केवल एमालेलाई हराउन । गठबन्धनको हालत के भयो ? परिणाम आइसकेको छ, एमालेको पहिलो हुने यात्रालाई कसैले रोक्न सकेन । एमालेले यत्रो घेराबन्दीको बीच अरूलाई त जित्यो, तर दुस्खद पक्ष आफैंलाई भने जित्न सकेन ।
घर झगडाको दुष्परिणाम
गत फागुनमा सम्पन्न स्ववियु निर्वाचनको समीक्षा गर्दा हामीले तीनवटा पक्षमा विशेष जोड दिएका थियौं । पहिलो, चरण–चरणमा चुनाव गर्ने कुरा गलत हुनेछ, त्यसो हुनदिनु हुँदैन । दोस्रो, अनेरास्ववियु विरुद्ध नेविसंघ, क्रान्तिकारी र अन्य संगठनको एलाइन्स भएको दृश्यले यसको प्रत्यक्ष प्रभाव स्थानीय चुनावमा पर्न सक्छ, त्यसप्रति बेलैमा सजग रहनुपर्छ । तेस्रो, विपक्षी विद्यार्थी संगठनहरूसँगको प्रतिस्पर्धामा पनि आफ्नो संगठनभन्दा अन्तै भोट हालेका दृष्टान्त केही कलेजमा देखियो । यसकारण अनेरास्ववियुले हार व्यहोर्नुप¥यो । यसको समीक्षा गरी गलत गर्नेलाई सजायको भागिदार बनाउनुपर्ने निचोड निकालिएको थियो । स्थानीय चुनावका परिदृश्य र नतिजा पनि उल्लेखित निष्कर्षसँग मेल खाएको छ । एमालेले त्यसबाट शिक्षा लिएर त्यस्ता घटनाक्रम दोहोरिन नदिएको भए अहिलेको भन्दा राम्रो परिणाम आउँथ्यो । विपक्षीहरूको यत्रो धेराबन्दी हुँदा पनि घर झगडा मिलाएर सबैलाई एक बनाउन नसक्नु, विपक्षी पार्टीसँग चुनाव उठ्दा जतिसुकै विमति नै भए पनि वर्षौं दुस्ख गरेको पार्टी छोडेर अर्को पार्टीलाई भोट हाल्नु, क्षणिकको आवेगले गलत निर्णय गर्दा त्यसबाट पार्टीलाई दीर्घकालसम्म हुनसक्ने क्षतिको आँकलन गर्न नसक्नुले धेरैको योग्यतामाथि प्रश्न उब्जाएको छ ।
चुनावको मुखमा पार्टी छोड्ने, भोट अन्तै हाल्ने, प्रचारमा नहिँड्ने, प्रचारमा हिँडे पनि औपचारिकता मात्र पूरा गर्ने, मनैदेखि नलाग्ने, सातै छाप भोट नहाली योजनाबद्ध तवरले ६ छाप भोट हाल्ने, टिकट नपाएको झोँक चुनाव हराएर पोख्ने प्रवृत्ति पार्टीभित्र मौलाउँदैछ । यसरी न पार्टी बन्छ, नत राम्रो संस्कृतिको विकास नै हुन्छ । यी सबै अन्तरघातका बहुरूप हुन् । विपक्षीहरू मिलेर घरमा आक्रमण गर्न आउँदा भित्र बसेकाहरूले एकमतले प्रतिकार नगर्नु एमालेका लागि चिन्ताको विषय हो । पार्टी र गुट भित्रकै प्रतिस्पर्धामा घात र अन्तरघातको नेतृत्व गर्ने हिमायतीहरूलाई यसले कत्तिको छोला ? तर एमाले बचाउन दिलोज्यान दिने इमानदार र निर्दोष कार्यकर्ताको मुटुमा अन्तरघातका यस्ता शृङखलाले सियोझैं रोपेको छ । जुनसुकै तह र ओहदाको भए पनि अन्तरघातीको पहिचान गरी दण्डित भएको हेर्ने चाहना आम एमालेको छ ।
एमालेभित्र पछिल्लो समय जतिबेला पनि गुटबन्दी गर्ने परिपाटी विकास हुँदैछ । बिहान उठ्दादेखि सुत्दासम्म, पार्टी सदस्य दिँदादेखि संगठित गर्दासम्म, प्रतिनिधि छनोट हुँदादेखि अधिवेशनसम्म, जनसंगठनको तल्लो तहदेखि पार्टी केन्द्रसम्म हँुदा–हुँदा विपक्षीसंँग प्रतिस्पर्धा गर्नुपर्ने चुनावमा उम्मेदवारहरूको नाम सिफारिसदेखि निर्णय गर्ने ठाउँसम्मै गुटबन्दी गर्ने तरिकाले पार्टीलाई कहाँ पु¥याउला ? यसो गर्नेहरूले एकपटक सोचौं । अझ गुटले मात्र नपुगेर त्यसभित्र पनि खास आफ्नो मान्छे को हो ? ‘ऊ’ जसरी पनि हुनुपर्ने चिन्तन हावी हुँदैछ । गुटभित्र पनि अलिकति विमति भयो कित सुट गरिहाल्ने (राजनीतिक हत्या गर्ने) क्रम पनि बढ्दो छ । यिनै क्रियाकलापको जगमा मवादी चिन्तन विकास भएको छ । आफू बाहेक अरू उठ्दा जिताउनै नलाग्ने, हराउन अगुवाइ गर्ने, भोट अन्तै हाल्ने भनेको मवादी चिन्तनको पराकाष्ठा हो । गुटगत गतिविधिले धराशायी बनाएको पार्टीगत भावनालाई मवादी चिन्तनले खरानी पार्दैछ । गुटको रूपमा पार्टीभित्र छिरेको भाइरस मवादी चिन्तनमा फ्युजन भएर एमालेलाई खान खोज्दैछ । यसर्थ आफैंले आफैंलाई जित्न आन्तरिक शुद्धीकरण आजको आवश्यकता हो ।
उत्कृष्ट छानौं, सन्तुलन नगुमाऔं
स्थानीय चुनावमा एमालेले अवलम्बन गरेको उम्मेदवार छनोटको तरिकामा त्रुटि देखियो । कहीं तीनजना त कहीं त्योभन्दा बढीलाई स्वीकार गरियो । तीन जना छनोट हुँदा तल्लो तहमा कहीं निर्वाचन त कहीं सर्वसम्मति भयो । यसरी निर्वाचन गर्दा पार्टी कमिटीमा भन्दा सम्बन्धित तहका पार्टी सदस्यहरूबीच गरेको भए त्यसबाट जनमतको वास्तविक अवस्था प्रकट हुने थियो । यदि निर्वाचन नै गरिन्छ भने पहिलो भोट ल्याउनेलाई नै उम्मेदवार बनाउनु उत्तम हुन्छ । त्यसभित्र पनि फेरि छनोट गर्ने, दोस्रो, तेस्रो भोट ल्याउनेलाई निर्णय गर्दा त्यसले नकारात्मक नतिजा दिएको छ । यसमा एकरूपता ल्याउनैपर्छ । व्यक्ति हेरेर विधि बनाउनेभन्दा पनि राम्रा मान्छेहरू, सम्बन्धित तहले रुचाएकाहरू छनोटको वैज्ञानिक आधार तयार पार्नुपर्छ ।
पछिल्ला केही वर्ष हुँदै आएका अधिवेशन पार्टीभित्रको एकपक्षीय खालका छन् । ती कतिपय कमिटीले उम्मेदवारको सिफारिस पठाउँदा वा निर्णय गर्दा पक्षधरताको सीमारेखा नाघ्न नसकेका कारण कतिपय ठाउँमा नतिजा राम्रो आउन सकेन । यसरी निर्णय गर्दा हरेक कुराको सन्तुलन मिलाउने र गुटगत आधारमा नभई, स्थानीय आवश्यकताको आधारमा उत्कृष्टको छनोट गर्ने सर्वस्वीकार्य तरिका अपनाउँदा पार्टीले विजय हात पारेको देखिन्छ । योभन्दा फरका बाटो हिँड्न खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो । धनकुटा, दाङ र कञ्चनपुरलाई मानक बनाएर सबैले शिक्षा लिऔं । जनताले एमालेमै आफ्नो भविष्य सुरक्षित देखेका छन् । एमालेसँगै आशा र विश्वास राखेका छन् । यसर्थ यो गाउँमा एक पक्षले, त्यो नगरमा अर्को पक्षले, एउटा जिल्लामा एकथरीले, अर्को जिल्लामा अर्काथरीले अन्तरघात ग¥यो, हिसाब–किताब बराबर भयो भनेर तैं चुप मै चुप बस्ने गम्भीर भुल कसैले नगरौं । यस्तो बराबरीको खेल एमालेलाई सिध्याउने खेल हो । जहाँ जसले गल्ती गरेको छ, विना पक्षधरता समीक्षा गरौं ।
(अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष समेत रहेका आचार्यको यो लेख कान्तिपुर अनलाइनबाट साभार गरिएको हो ।)
आफूबाहेक सबैलाई जितेको एमाले
