बुटवल, । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले संघीय संसद् र प्रदेश सभाको निर्वाचन एकै पटक गर्न प्रमुख दलहरुबीच छलफल भइरहेको बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै पुनले एकै पटक निर्वाचन गर्नको लागि निर्वाचन आयोग पनि सकारात्मक रहेको बताए ।
माओवादी केन्द्रको पा“च नं. प्रदेशको सचिवालय बैठकमा सहभागी हुन आएका पुनले पार्टीले आगामी निर्वाचनको तयारी तीब्र रूपमा अघि बढाएको बताए । निर्वाचन तयारीकै क्रममा साउन २६ गते बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुको सहभागितामा बुटवलमा पा“च नं. प्रदेशको प्रशिक्षणात्मक भेला आयोजना गरिएको पुनले जानकारी दिए ।
माओवादी केन्द्रले यसअघि दुई वटा केन्द्रीय चुनावमा भाग लिए पनि स्थानीय निर्वाचनको अनुभव पहिलो भएको पुनले बताए । चुनाव जित्नका लागि संगठन, संघसंस्थाहरुसँगको सम्बन्ध र व्यक्तित्व पनि महत्वपूर्ण रहेको भन्दै पुनले सम्पूर्ण पार्टीपंक्ति चुनावी परीक्षाबाट प्रशिक्षित भएको बताए । पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अब कुराबाट होइन कामबाट प्रतिष्पर्धा गर्न प्रशिक्षित गर्न लागिएको पुनले बताए ।
निर्वाचनमा माओवादी केन्द्र पहिलो हुन नसके पनि निर्णायक तहमा रहेको भन्दै पुनले आगामी निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउने दाबी गरे । अस्थिर सरकारका कारण मुलुकमा समस्या देखिएको भन्दै पुनले कार्यकारी प्रमुखको विषयलाई माओवादी केन्द्रले पुनःजोड दिन लागेको खुलासा गरे । संविधान संशोधनको प्रसंगमा पुनले मधेसी मोर्चा सकारात्मक भएका बेला संशोधन प्रस्ताव पेश गरिने बताए । सीमांकनको विषयमा आयोग बनाएर टुंगो लगाउने र अन्य विषय संसद्मा प्रस्तुत गर्न मोर्चा तयार भए तत्कालै संशोधन प्रस्ताव प्रस्तुत हुने पुनले बताए । सीमांकनबाहेक विषयलाई छलफलमा लैजान एमाले पनि सकारात्मक रहेको पुनको भनाइ छ ।
पुनले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने र नयाँ बनाई छोड्ने संकल्प पार्टीमा बलियो रुपमा उठेको भन्दै सबै माओवादी एकजुट हुन आवश्यक रहेको बताए । ‘२ नम्बर प्रदेशमा परिणाम बाँकी छ । तर, ६ प्रदेशको परिणामले सबै माओवादीहरु माओवादी केन्द्रमा आऊ भन्यो । जनताले हामीलाई एकताको नेतृत्व गर्न पनि आदेश दिएका छन्,’ पुनले भने । पुन संगठन सुदृढिकरणमा अब विशेष जोड दिनुपर्ने धारणा राखे । ‘वर्गसंघर्षको अचुक हतियार भनेको संगठन हो । विचारको प्राथमिकतापछि संगठनको विशेष महत्व हुन्छ । संगठन, संगठन र फेरि पनि संगठनको हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने । राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा देशव्यापी बहस र अभियान चलाउने उनले बताए ।
दुवै निर्वाचन एकै पटक गर्न छलफल जारी ः नेता पुन
