दाङ, । दाङको तुलसीपुरमा डेंगुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेंगु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा.सुवोधकुमार शर्माले जानकारी दिए ।
तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेंगु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिए । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यस अघि पनि जिल्लामा १३ जना डेंगु रोगका बिरामीहरु फेला परेका थिए ।