बुटवल, । स्थानीय तहको तीन चरणको चुनाव सकिएलगत्तै प्रदेश र प्रतिनिधिसभाका चुनावको तयारी सुरु भएको छ । मंसिर १० गते हिमाली र २१ गते अन्य क्षेत्रमा गरी दुई चरणमा हुन लागेको यी दुई तहका चुनावसँगै संविधानको पूर्ण कार्यान्वयन हुनेछ । संविधान जारी भइसकेपछिको पहिलो चुनाव भएकाले यी चुनावको महत्व अझ धेरै छ ।
यी दुई तहका चुनावका लागि राजनीतिक दलहरुले आ–आफ्ना पार्टी केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । दलहरुले आन्तरिक छलफल र भेलामार्फत यस्ता आकांक्षीहरुको लामै सूची केन्द्रमा पठाएका छन् ।
रुपन्देहीमा पनि यस्तो तयारी सुरु भएको छ । नेकपा एमालेले रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधि सभाका लागि छुट्टा छुट्टै नाम सिफारिस गर्न सुरु गरेको छ ।
प्रतिनिधि सभाका लागि रूपन्देही क्षेत्र नम्बर १ बाट एमालेले पार्टी उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य छविलाल विश्कर्माको नाम सिफारिस गरिएको छ । त्यस्तैगरी क्षेत्र नम्बर २ बाट अर्का उपमहासचिव विष्णु पौडेलको नाम सिफारिस गरिएको छ । त्यस्तैगरी क्षेत्र नम्बर ३ बाट घनश्याम भुषाल, पोलिटव्यूरो सदस्य डा. विजय पौडल र अनेमसंघ नेत्री पुष्पाञ्जली उपाध्याय सिफारिस भएको एमाले प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर ५ मा केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ४ को सिफारिस हुन बाँकी छ । केसीका अनुसार एमालेले दुवै तहका चुनावका लागि आंकाक्षीहरुका सुझावसमेत सुनेर नाम सिफारिस गर्न सुरु गरेको बताए । सकभर सर्वसम्मत नभए दुई देखि तीन जनासम्मको नाम माथिल्ला कमिटीमा सिफारिस गरिएको उनले बताए । उनले आज बस्ने जिल्ला कमिटीको बैठकले प्रतिनिधि र प्रदेशसभा दुवैका उम्मेदवार टुङ्गो लगाउने बताए ।
नेपाली कांग्रेस रुपन्देहीले ५ वटै क्षेत्रका उम्मेदवारको नाम आज सिफारिस गर्ने बताएको छ । पार्टीका जिल्ला सचिव रामकृष्ण खाँणले पार्टीको आज बस्ने बैठकले उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए । माओवादी केन्द्रले पनि उम्मेदवार छनौटका लागि आन्तरिक तयारीमा जुटेको बताइएको छ ।
गुल्मीमा ज्ञवाली र विष्ट सिफारिस
यसैबीच एमाले गुल्मीले दुवै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले दुई केन्द्रीय सचिव प्रदिप ज्ञवाली र गोकर्ण विष्टलाई सिफारिस गरेको एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए ।
ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र विष्ट क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन् । ज्ञवाली साविकको क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए । ज्ञवाली २०५६ साल र २०६४ सालमा सम्पन्न निर्वाचित भएका थिए । विष्ट साविकको क्षेत्र नम्बर ३ बाट २ पटक निर्वाचित भएका थिए । उनी २०५६ साल र २०७० सालमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका हुन् ।
गुल्मीलाई तीनवटा क्षेत्रबाट समायोजन गरी २ वटा क्षेत्र निर्धारण गरिएको छ । जिल्लामा प्रदेशसभाका लागि भने ४ वटा क्षेत्र निर्धारण गरिएको छ ।
एमाले गुल्मीले प्रदेशसभाको उम्मेदवारको नाम सर्वसम्मत बनाउनेतर्फ लागेको नेपालीले जानकारी दिए । प्रदेश सभातर्फ २ नम्बर क्षेत्रबाट पूर्व संसद कमल क्षेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । श्रेष्ठ २०५१ सालमा सम्पन्न निर्वाचनम गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
अन्य तीन वटा प्रदेशका क्षेत्रबाट धेरै आकांक्षीहरु भएसँगै नाम सर्वसम्मत बनाउने तयारी भइरहेको एमाले गुल्मीले जनाएको छ । प्रदेशसभातर्फ एक क्षेत्रबाट १५ जना सम्म आकांक्षीहरुले उम्मेदवार बन्नको लागि दावी गरेकाले नाम सिफारिस हुन सकेको छैन । धेरैले इच्छा जायरगरेपछि जिल्ला कमिटीलाई छनोट गर्नको लागि नाम पठाएका छन् ।