जिवराज चालिसे
बुटवल, । बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै खसेको पहिरोले बुटवल हुँदै पहाडी जिल्लाहरुमा दशैं मनाउने जाने र फर्कने हजारौं यात्रुले सास्ती खेप्नु परेको छ । दशंैको अघिल्लो दिन रातिदेखि खस्दै आएको पहिरो अहिलेसम्म पूर्ण रुपमा रोकिएको छैन । दैनिक रूपमा पहिरो झरिरहदा विगत ९ दिनदेखि बाटो पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बिहीबार बिहानदेखि पुनःपहिरो खसेपछि बुटवल हुँदै पहाडी जिल्लामा जाने र बुटवल आउने सवारी साधनहरु बाटोमा रोकिएका छन् । जसले गर्दा हजारौँ यात्रुहरु अलपत्र परेका छन् ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले पहिरो हटाउन लगातार प्रयास गरेपनि ढुंगा र माटो खस्ने क्रम नरोकिएपछि बाटो तत्काल खुलाउन कठीन भएको बताएको छ । कार्यालयका डिएसपी माधव बुढाथोकीले पहिरो हटाउनका लागिी चार डोजरसहितको जनशक्ति परिचालन गरेपनि माथिबाट माटोसहितको लेदो र ढुङ्गा खसिरहेकाले पहिरोलाई एकैचोटी हटाउन कठीन बताए । ‘यो सडक खण्डमा यात्रा निकै जोखिमपूर्ण छ । अन्य सामान्य सुख्खा पहिरो जस्तो हाइन ।’ उनले भने,‘अप्रत्यासित ढंगले लेदो माटो र ढुंगा खसिरहेकाले जोखीम अझैं बढेको छ ।’
बुटवल देविनगरमा बसोबास गर्दै आएका गुल्मीका बिपिन ढकालले आफू दशैं मनाएर बुटवल फर्कँदा पाल्पा दोभानदेखि गोलपार्कसम्म पैदल आउनु परेको बताए ।‘अहिले जटिलरुपमा देखिएता पनि यो समस्या आजको होइन’उनले भने,‘सम्बन्धित निकायहरुले विकल्पको खोजी गनुप¥यो ।’
त्यस्तै बिहीबार बिहान पर्वत जान हिँडेकी कल्पना पुरी पहिरोका कारण बिच बाटो बाटै फर्कनु परेको बताइन् । पुरीले पहिरो यस सडकको दिगो समस्याका रुपमा रहे पनि खालि न्यूनी करणका कार्यक्रमले मात्र नपुग्ने बताइन् । बुटवल बसपार्कका गुल्मी प्रखण्डका विश्व न्यैपानेले पहिरोका कारण गुल्मी जाने केहीे गाडीहरु अर्घाखाँचीको बाटो हुँदै गइरहेको बताए । तर,बाटोमा अलपत्र परेका गाडी तथा प्यासेन्जर हरुका लागि भने पहिरो नखुल्दासम्म कुर्नुबाहेक अन्य विकल्प नरहेको पनि उनले बताए ।
२०२८ सालमा खोलिएको यो सडकखण्डमा हालसम्म सयौंको संख्यामा ज्यान जाने गरी पहिरो खसेका छन् । हरेक वर्ष ढुंगा झरेर मानवीय क्षति भइरहने यो मार्गलाई सुरक्षित पार्ने र वैकल्पिक मार्ग खोज्ने बारेमा थुप्रै खालका प्रयासहरु भएपनि त्यो अहिले पनि पूरा हुन सकेको छैन । यो सडक खण्डको सिद्धबाबा, झ्ुम्सा, केराबारी, जोरधारा, रातमाटे, हिउँदेखोला, कालीमाटी र २४ माइलमा दैनिकजसो दुर्घटना हुन्छ । यही सडकमा दैनिक सयौं टिपर ओहोर दोहोर गर्दा बाटोसमेत जीर्ण बन्दै गएको छ ।
पछिल्लो पाँच वर्षमा यहाँ साना ठूला गरेर २५ वटा दुर्घटना भएका छन् । यी दुर्घटनाहरुमा ३२ जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर घाइते भएका थिए । यस अघि २०५४ साल भदौ २१ गते पाल्पा सदरमुकाम तानसेनबाट बुटवल हिँडेको बस दिउँसो ३ बजे बुटवल—पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिकै दुर्घटनामा प¥यो । सडकमा थुप्रिएको पहिरोमा चिप्लिएको बस २०० मिटर तल तिनाउ नदीमा खस्दा ३९ यात्रुमध्ये ३२ जनाको घटनास्थलमै मृत्यु भयो भने सात जना गम्भीर घाइते भए । २०५३ सालमा त्यही स्थानमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । ४ भदौ २०६२ मा गुल्मीबाट बुटवल हिँडेको बस र बुटवलबाट तानसेन हिडेको ट्रक बेलुकी ५ बजे तल्लोसिद्धबाबा नजिक दुईवटा गाडी पास नहुने ठाउँमा आइपुगे । दुवै चालकले ब्याक गर्दागर्दै माथिबाट आएको पहिरोले दुवै गाडीहरुलाई छोप्दा ११ जनाको मृत्यु भयो ।
पाल्पाको भैरवस्थान पूजा गर्न जान हिँडेका पड्सरीमा दुई जना र सिद्धबाबामा पूजा गरेर फर्किएका अरु दुई जना गरी चार जना वल्लो सिद्धबाबा नजिकै भेट भए । दुई वटा बाइकमा रहेका उनीहरुका बीच केहीबेर कुराकानी भयो । कुराकानी चलिरहेकै क्रममा माथिबाट ठूलो ढुंगा झरेर उनीहरु च्यापिए र चारै जनाको ज्यान गयो । विभत्स अवस्थामा केही शवका टुक्रासमेत संकलन गरेर प्रहरीले आफन्तलाई बुझायो । ११ भदौ २०७० मा बुटवलबाट गुल्मी हिँडेको लु १च ४६०८ नम्बरको मारुती कारलाई बिहान ११ बजेतिर पाल्पाको मदनपोखरा—४ डुम्रे आइपुग्दा सडकमाथिबाट खसेको ठूलो चट्टानले किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।