बुटवल, । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आगामी मंसिरको निर्वाचनपछि नेपाली कांग्रेस सधैको प्रतिपक्ष बन्ने बताएका छन् । आउँदो निर्वाचनबाट वाम गठबन्धले दुईतिहाई बहुमतका साथ सरकारको नेतृत्व गर्ने दाबी गरे । ‘कांग्रेसले धेरै वर्षसम्म सरकार चलायो तर केही जनताको पक्षमा काम गर्न सकेन’ ज्ञवालीले भने, ‘कांग्रेस अब चुनाव पनि जित्दैन र सरकारको नेतृत्व पनि गर्न सक्दैन । बलियो प्रतिपक्ष पनि बन्न सक्दैन । भारतको कांग्रेसकै जस्तो हालत हुँदैछ ।’
नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मञ्च, क्षेत्र नं. १ ले सोमबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले सरकारमा बसेर प्रतिपक्षलाई निर्मूल पार्छु भन्ने कांग्रेसले अबको निर्वाचनपछि आफू निर्मूल हुने दाबी गरे । उनले वाम गठबन्धन देशको आवश्यकता र माग भएको बताए । पूर्व मन्त्रीसमेत रहेका ज्ञवालीले कांग्रेसले पराजित हुने डरले चुनाव सार्ने अथवा हुनै नदिने बखेडा खोजिरहेको दाबी गरे ।
देशको राजनीतिक आवश्यकता र संविधानले समेत थोरै पार्टी हितमा छ भन्ने परिकल्पना गरेको भन्दै उनले ठूला थोरै पार्टी रहने प्रक्रियाको सुरुआत माओवादी र एमालेले गरेको बताए । ‘कांग्रेसमा पनि गरोस् हाम्रो टाउको दुखाइ छैन, यो राष्ट्रको हितमा हुन्छ, यो जनताको हितमा हुन्छ भनेर बुझनु उचित छ,’ ज्ञवाली भने । उनले गुल्मी आफ्नो जिल्ला भएको नाताले जनताको विश्वास लिएर प्रतिनिधिसभाको सदस्यको उम्मेदवारी दिने तयारीमा आफू रहेको प्रष्ट्याए ।
कांग्रेस अब सधंैको प्रतिपक्ष ः नेता ज्ञवाली
