बुटवल, । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको हो ।
दुर्घटनामा नौ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा तीन जना महिला र ६ जना पुरुष रहेका छन् । मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डे,चालक भीम घर्ती र अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् ।
गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा लगिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । यस्तै घाइते हुनेहरुमा एक जना महिला, ४ जना पुरुष र २ जना बालक रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चालकसहित १७ जना रहेका थिए ।
दुर्घटनामा परेको गाडी सडकबाट करिब ३ सय मिटरभन्दा बढी तल खसेको थियो । गाडीको तीव्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइड दिने बलेरो जीप सडकको नालीमा रहेको बताए । दुर्घटना स्थल ठूलो भिर र साँघुरो बाटो रहेको छ ।
यस्तै उदयपुरको सिद्धिचरण राजमार्गमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भञ्ज्याङ खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ । कटारीबाट १० जना यात्रु बोकेर हिँडेको बताइए पनि बीचमा यात्रु थपिएको वा नथपिएको जानकारी नभएकाले कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
गुल्मीमा माइक्रो दुर्घटनामा नौ जनाको मृत्यु
