यस्तो छ रुपन्देही २ मा एमाले–राप्रपा–जसपाको प्रतिवद्धता पत्र (पूर्णपाठसहित)

मेचीकाली संवाददाता

२० कार्तिक २०७९, आईतवार
347 shares

बुटवल । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमाले, राप्रपा र जसपाले निर्वाचन क्षेत्रका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेल तथा प्रदेश सभा सदस्य उम्मेदवार लिला गिरी र भोजप्रसाद श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पुर्व गृहमन्त्री निरन्जन थापा, समानुपातिक उम्मेदवार एवं प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, मृगेन्द्रकुमार शेरचन, एमाले रुपन्देही २ निर्वाचन परिचालन कमिटी अध्यक्ष नेत्र पन्थी, क्षेत्रीय संयोजक बाबुराम पन्थी नेता गोपाल राना, जसपाका समानुपातिक उम्मेदवार मनिकर कार्की, एमालेकमा एजाज आलम लगायत नेताहरुले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफुले सार्वजनिक गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिवद्धता पुनः जनाएका छन् । प्रतिवद्धतापत्रमा लेखिएको छ, ‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्र्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाइने छ ।’

प्रतिवद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका पौडेलको प्रतिवद्धतापत्रमा ऐतिहासिक एवम् पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।
यस्तै बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ, ‘यस आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने छ ।’

यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिवद्धतापत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने जनाएका छन् । यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ । सो पत्रमा भनिएको छ, ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने छ ।’

यस्तै निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ । यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ ।

बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने छ ।

यस्तो छ प्रतिवद्धतापत्र

https://drive.google.com/file/d/1G7QrCVOPrpI6pJZM-2BSRtG3PNXY0igx/preview