दलित उत्पीडनविरूद्धका अभियन्ताः छविलाल विश्वकर्मा

मेचीकाली संवाददाता

२४ कार्तिक २०७९, बिहीबार
423 shares

अमृत गिरी
बुटवल । छविलाल विश्वकर्मा, अर्थात् जातीय उत्पीडनविरुद्धका सतिशाल तथा समतामूलक समाज निर्माणका अविश्रान्त अभियन्ता । नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज नेता छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नं. १ का सूर्य ध्वजावाहक उम्मेदवार हुन् । उनी शालिन, इमानदार र समन्वयकारी नेताका रुपमा चिनिन्छन् ।

समाजमा रहेका विद्यमान असमानता र तत्कालीन परिवेशका बाछिटाहरुलाई समेत मनन गर्दै सभ्य समाज निर्माणमा उनी निरन्तर क्रियाशील छन् । शान्ति, समुन्नति, समृद्धि, खुशहाली र यसक्षेत्रको समग्र विकासका लागि उनले महत्वपूर्ण नेतृत्व गर्दै आएका छन् । पूर्वाधार विकासका कुरा होऊन् कि मानवीय विकासका हरेक पाटाहरु नै किन नहोऊन् सभ्य र समतामूलक समाजबाटै समाजवाद निर्माणका आधार तयार हुने उनको विश्वास छ ।

सामाजिक एकतासहितको वर्गीय पक्षधरता
सामाजिक एकतासहितको वर्गीय पक्षधरता छ छविलाल विश्वकर्मामा । मानव उद्विकासको सिद्धान्तले मानिसको उत्पत्ति जातबाट भएको बताउँदैन । डार्बिनले प्रतिपादन गरेको वैज्ञानिक सिद्धान्तले पनि विकसित, ठिमाहा र कम विकसित वा अविकसित भनेर मात्र छुट्याउँछ । तर, तत्कालीन समाजमा यस्ता धेरै विषयका कारणले कैयन् समुदाय उत्पीडित हुनुपरेको छ । यस्तो उत्पीडन भोगेका, सुनेका, देखेका कारणले छविलाल उत्पीडनकाविरुद्ध समानतामूलक समाज निर्माणमा होमिए । समानता र जाति भेदमुक्त सामाजिक मान्यताको पक्षमा लाग्न सबैलाई समेटे । जात–पातको विभेद र छुवाछुतजस्तो अपवित्र कुकर्मलाई निमिट्यान्न पार्नुपर्छ भनेर अभियानको सुरुआत गर्नेमध्येमा उनी पनि एक अगुवा हुन् । अनेक नामका भेदभाव र उत्पीडनको अन्त्य गरी मानव मर्यादा र सामाजिक न्यायसहितको समुन्नत समाज निर्माण गर्नु नै अहिलेको मुख्य कार्यभार रहेको उनको ठहर छ ।

सामान्य परिवारको उज्यालो नक्षत्र
वि.सं. २०१९ साल मंसिर २३ गते स्याङ्जा जिल्लाको कृष्ण गण्डकी गाविस–१, बलाम मैदानमा भएको थियो । बाबु चन्द्रबहादुर विश्वकर्मा र आमा गंगाजमुना विश्वकर्माका ४ छोरा र ३ छोरी गरी ७ वटा सन्तानमध्ये छविलाल जेठो सन्तान हुन् । निम्न मध्यमस्तरको परिवारमा उनको बाल्यकाल पनि एउटा सामान्य कृषकका छोराछोरीझैं बित्यो । उनलाई धेरैले सामान्य परिवारको उज्यालो नक्षत्र पनि भनेर भन्ने गर्थे । गाउँमा सबै गैरदलित हेपाहा थिएनन् जसले छविलालको क्षमता बुझेका थिए तिनले भित्रभित्रै समाज सुधारका अभियानमा साथ दिन्थे र भन्थे,‘अगाडि बढ्, हामी छौं ।’ वि.सं.२०३५ सालमा गणेश जनता माविबाट प्रवेशिका पास गरी उच्च शिक्षा हासिल गर्न छविलाल बुटवल बहुमुखी क्याम्पसमा आए । तत्कालीन समाजको थिचोमिचो, विभेद र जालीफटाहाहरुको हेपावा व्यवहार भोगेका, झुटा मुद्दा लागेका कारणले छविलालमा सानैदेखि त्यस व्यवस्थाविरुद्ध विद्रोही स्वभाव जागेको थियो । लडाइँ सिक्ने भन्दै साथीहरुसँगै भारतीय सेनामा भर्ना भएर केही समय बिताएपछि छाडेर घर फर्किए । त्यहाँ सिकेका सीपलाई गाउँमा र समाजमा अरु साथीहरुलाई संगठित गर्दै तत्कालीन व्यवस्थाका विरुद्धमा केन्द्रित गर्ने अभियान चलाए ।

खेलकुदमार्फत अभियान विस्तार
उनमा खेलकूदमा विशेषगरी भलिबलमा निकै दखल थियो । राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरको खेलाडी र प्रशिक्षकसम्म बनेर खेलकुदको विकासमा लागे । खेलकूदकै नेतृत्व गर्ने क्रममा राखेप सदस्य र सिन्जेन कराँते संघको उपाध्यक्ष बनेका थिए । त्यसपछि ग्रामीण जनसेवा विकास समिति नामको संस्था गठन गरेर जागरण अभियान सञ्चालन गरे । युवाहरूको यो संस्थामार्फत तमसुक च्यात्ने र सामन्ती शोषणका विरुद्ध जुझारु अभियान चलाए । यसमा अनेकौं कठिनाइ आइलागे त्यसैले उनी प्रवास (भारत) तर्फ लागेका थिए । प्रवास बसाइ र सैनिक जीवनले केही थप ज्ञान आर्जन गरायो । सैनिक तालिम, खेलकूद प्रतिस्पर्धा र हातहतियारसम्बन्धी ज्ञानले आत्मविश्वास बढायो । अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनमा उपाध्यक्ष, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, स्याङ्जाको जिल्ला सदस्य हुँदै दलित समुदायको उत्पीडनको अन्त्यका लागि सक्रिय अभियान सञ्चालनमा लागे । दलित समुदायको मुक्तिका लागि छविलालको अथक प्रयास हिजो पनि थियो, आज पनि छ र आउँदा दिनमा पनि रहने छ ।

उत्पीडनविरुद्धको साझा नेतृत्व
राष्ट्रिय समाज कल्याण संघ, सदस्य (२०३९), उत्पीडित जनजातियमुुक्ति मोर्चा, लुम्बिनी, संस्थापक सदस्य (०४५), उत्पीडित जातीय उत्थानमञ्च, केन्द्रीय उपाध्यक्ष (०४७), नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज, केन्द्रीय सदस्य (०४८), सोही समाजको केन्द्रीय महासचिव (०५१), नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्ष (०५४) आदि संस्थामा आवद्ध हुने र नेतृत्वदायी भूमिका निर्वाह गरे । भारतको पटियाला पञ्जावबाट स्नातक तहको शिक्षा पूरा गरेपछि थप औपचारिक शिक्षा अघि बढ्न सकेन । तथापि स्वध्ययन नियमित भयो । साहित्यमा पनि रूचि राख्दै मानव मर्यादाका गीतहरू (पुस्तक) र त्यसैको गीति एल्बम पनि प्रकाशन भएको छ । ‘नव समानता’ नामक पत्रिकाको प्रधान सम्पादक र प्रकाशक बनेर काम गरे ।

उत्पीडित समुदायबाट हुर्के, फक्रेको छवि
पार्टीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छविलाल विश्वकर्माले लामो समयसम्म पार्टी विस्तार एवं संगठनको क्रममा देशका विभिन्न भागका साथै प्रवास (भारत) मा समेत सेवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य हुँदै हाल केन्द्रीय कमिटी सचिव र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मावारीमा छन् । कृषि तथा सहकारी मन्त्रीको पदभार ग्रहण गरी कृषिमार्फत समृद्धि र सहकारीमार्फत आर्थिक उपार्जनका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने मानक बसाल्न सफल भए । संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य हुँदा समाज सुधार र समतामूलक सभ्य समाज निर्माणमा उनका अभिव्यक्ति र कार्यक्रम केन्द्रित रहे । संसदीय समितिको कृषि, भूमि तथा प्राकृतिक स्रोत समितिमा रहँदा गरेका कामहरुले पनि उनको छबी अझ उँचो बनाएको छ ।

विभेद भोग्दै, समाज बदल्दै
विभेद भोग्ने कैयन् सिलसिला थिए । तर, त्यसबेला भोगेका विभेदमध्येका केही घटनामा नवलपरासीको जहँदामा स्थानीय दलितले पूजा गर्न मन्दिर प्रवेश गर्दा त्यहाँ कुटपिट भयो र दलितलाई गैरदलितले दण्डसजाय पनि दिए । त्यो घटनामा तत्कालीन प्रशासन मौन रह्यो । त्यस्तै स्याङ्जामा (उदिया चौरमा), दलित समुदायले उत्पादन गरेको दुध दुग्ध विकास संस्थानले किन्न मानेन । स्याङ्जाको जगत्रदेवी मन्दिरमा दलितहरू प्रवेश गर्दा ठूलै आतंक मच्चियो । स्थानीय केही जातिवादी गैरदलितले प्रतिकार गरे । यस्ता घटनाका विरूद्ध निकै ठूलो आन्दोलन चर्कियो । विभेद भोग्दै र त्यसबाट समाज बदल्दै अघि बढ्ने अभियानमा उनको नेतृत्वदायी भूमिकामा रह्यो ।

समाज सुधारका धेरै काम अझै बाँकी छन्
एकाध दलितहरूलाई सांसद् वा मन्त्री बनाउँदैमा समावेशी भयो भन्नुहुन्न र यत्तिकैमा दलितहरूले चित्त बुझाउन मिल्दैन । पहाडी परिवेश र तराईको परिवेशमा पनि अझै केही भिन्नता छ, धनी र गरिबका नाममा पनि विभेद र भिन्नता छ । यसलाई सुधार्नुपर्ने छ भन्ने पहिलो जोड छविलालको छ । दलितका समस्याहरू समाधान गर्नका निम्ति गर्नुपर्ने काम अझ धेरै बाँकी रहेका फेहरिस्त उनीसँग छन् । दलित समुदायको हीन सोंचको मानसिकता र कतिपय गैरदलितमा रहेका विभेदका स्वभावलाई बदल्दै सामाजिक न्याय, समानता र समुन्नत समाज निर्माण गर्नुपर्ने छ । दलित, गैर–दलित सबैको साझा पहल र प्रयन्तबाट नै समाज बदल्न सकिन्छ र अधिकारसँगै सबैको कर्तव्यको पालना गर्दा नै सभ्य समाज बनाउन सकिन्छ भन्ने विश्वास छ छविलालमा ।

आफूहरुको अगुवाईमा सुरु भएका दीर्घकालीन महत्वका योजनाहरुलाई सञ्चालन गर्न, साकार पार्न बाँकी छ । अधुरा कामलाई पूरा गर्ने थप नयाँ योजनालाई सुरु गर्नुपर्ने छ । अधुरा रहेका कैयन् कामलाई पूरा गर्न अनुभवी र योग्य नेतृत्वको आवश्यकता छ । परिपक्क, जुझारु र पार्टीको केन्द्रीय नेतृत्वमा रहनुभएका जनताको भावना बुझ्न सक्ने, जनताको भाषा बोल्नसक्ने सक्षम व्यक्तिलाई एमालेले रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।