बुटवल, । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ रूपन्देहीका उम्मेदवार तथा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आउँदो निर्वाचनमा देश विकास गर्ने पार्टीलाई जिताउन जनतालाई आग्रह गरेका छन् ।
विगतमा भएका निर्वाचनबाट देश बनाउने भन्दा व्यक्ति बन्ने पार्टीले चुनाव जितेर मुलुक धेरै पछाडि परेको भन्दै भुसालले यस पटक बामपन्थी उम्मेदवारहरू जिताएर मुलुकको विकास गर्ने जिम्मा दिन मतदाताहरूसँग आग्रह गरे ।
‘यस पटकको निर्वाचनबाट मुलुकले धेरै आशा गरेको छ’ मंगलबार बाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ (२) ले शुद्धोधन–२ ख बनागाईमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै भुसालले भने, ‘यस पटक हामी (बामपन्थी) ले नजिते देश हार्छ, जनता हार्छन, हाम्रा सन्तान हार्छन । त्यसैले भ्रष्टचार गरेर देशलाई चुस्ने आफू मोटाउनेलाई होइन देशको विकास गर्नेलाई पार्टीलाई भारी मतका साथ विजयी गराएर विकासको ढोका खोल्ने अवसर दिनुहोस् ।’
उनले थपे, ‘जसका देशभर ४ जना मात्र उम्मेदवार छन । त्यही पार्टीले देशको विकास गर्छु भन्नु हाँस्यापद भन्दा केही होइन । त्यस्ता पञ्चे र भ्रष्टचारीबाट मुलुकको विकासको आशा गर्नु बेकार हो ।’
भुसालले कुनै जनआधार नभएको पार्टी अर्काको बैशाखी टेकेर पैसाको बलमा चुनाव जित्ने सपना नदेख्न राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई चेतावनी दिए । ‘मैले हिजो÷अस्ती फर्साटिकरमा विद्युतका पोल वितरण गरेको खवर सुनेको छु’ नेता भुसालले आक्रोशित हुँदै भने, ‘जनताले अब विद्युतका पोल र विपन्न र अशिक्षित जनतालई २÷४ हजार रूपैयाँ दिएर भोट दिँदैनन । अब त्यस्ता दिन गए । अब विकाश गर्ने र देशको मुहार फेर्ने पार्टीलाई मत दिनेछन् ।’
चुनावपछि अब नेपालमा स्थिर सरकार बनेर मुलुक विकासको गतिमा जाने नेता भुसालको भनाइ थियो । ‘७० वर्ष भयो नेपालमा एउटा पनि सरकार ५ वर्ष टिकेको इतिहास छैन’ पूर्व मन्त्री समेत रहेका एमालेका प्रभावशाली नेता भुसालले भने, ‘निर्वाचनबाट बामपन्थी शक्तिको बहुमत आउछ । त्यसपछि स्थिर सरकार बन्छ । शिक्षा, स्वास्थ्य निःशुल्क बनाउँछौ । रोजगारीका लागि उद्योगधन्दा खोल्छौं । वृद्धभत्ता ५ हजार पु¥याउछौं ।’
नेता भुसालले कांग्रेस र राप्रपाबाट देशको विकास हुने आशा गर्नु दिवा सपना मात्र हुने दावी गरे । उनले रूपन्देहीमा बाम गठबन्धन विजयी भएपछि जिल्लालाई आर्थिक र पर्यटकीय प्रमुख गन्त्व्यको रूपमा विकास गर्ने बताए । उम्मेदवार भुसालले निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको भन्दै सबैलाई एक भएर जुटन आग्रह समेत गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेम गुरूङले रूपन्देहीका सबै क्षेत्रका सबै पदमा बामपन्थी उम्मेदवारहरू भारी मतका साथ विजयी हुने बताए । त्यस्तै निर्वाचन प्रचार–प्रसार समितिका संयोजक रामप्रसाद रेग्मीले कांग्रेसले क्षेत्र नम्बर ३ मा भ्रष्टचारीलाई उम्मेदवार बनाएको बताए ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले कांग्रेसले रुपन्देहीमा भ्रमको खेती गरेको बताए । कर्णबहादुर क्षेत्रीको अध्यक्षता, किरण नेपालको स्वागत तथा कमलराज काफ्लेको सञ्चालनमा कार्यक्रम भएको थियो ।