अमृत गिरी
बुटवल, । चुनावी प्रचार–प्रसारका लागि आजको दिन अन्तिम हो । मध्यरातिदेखि प्रचार–प्रसार गर्न पाइँदैन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्नका लागि अब तीन दिन बाँकी छ । अर्थात् मंसिर २१ गते हुने चुनावको व्यग्र प्रतिक्षमा मतदाताहरु रहेका छन् । राजनीतिक दलहरु र स्वतन्त्रका उम्मेदवारहरुले आज अन्तिम प्रचार–प्रसार गर्दैछन् ।
अहिलेसम्मको चुनावी अभियानपछि नेताहरुले आ–आफ्नो पक्षमा माहौल बनेको दाबी गरेका छन् । वाम गठबन्धनले जनतासमक्ष स्पष्ट एजेण्डा र अपिल गरिएको र त्यसले पनि साथ आफूहरुले नै पाएको दाबी गरेका छन् भने कांग्रेस गठबन्धनले आफूहरु कमजोर नरहेको बताएका छन् ।
यसपालि सचेत मतदाताहरु र कम्तीमा स्थायीत्व र स्थिरता चाहनेहरुले कुनै पनि प्रलोभन र धामधम्कीको पछाडि नलाग्ने निश्चित भइसकेको यहाँका विश्लेषकहरुको भनाइ छ । ‘जनता अल्मल्याउने अरु कुनै एजेण्डा नरहेकाले गठबन्धनका विरुद्धमा अनेकौँ भ्रम र हल्लाहरु फैलाइएको छ’ विश्लेषक तथा प्राज्ञ गोपिरमण उपाध्यायले भने–अहिलेको पुस्ता स्थायित्व र स्थिरता चाहन्छ त्यहीँ लक्ष्यमा मतदान गर्छ ।’ उनी जस्ता विश्लेषकहरुले यसपालि जसरी पनि स्थायीत्व र स्थिरताका लागि एउटा मौका दिने बताइरहेका छन् ।
लामो राजनीतिक अस्थिरता र कहिल्यै पूरा अवधि नटिक्ने सरकारका कारण जनताहरु आजित भइसकेका छन् । यसपाली जुन खालको ऐतिहासिक पहल गरिएको छ र जनतासमक्ष अपिलसमेत गरिएको छ यो वास्तवमै मुलुकको हीतका लागि छ ।
सधैं टुक्रा–टुक्रा रहेका वाम पार्टीहरु यसपालि चुनावी तालमेलमा छन् । तालमेललाई प्रभावकारी बनाउनका लागि चुनावपछि पार्टी एकता गर्नेसमेत घोषणा भइसकेको छ दुवै पार्टीका नेता–कार्यकर्ताहरुका बीचमा असाध्यै राम्रो सम्बन्ध स्थापित भइसकेको छ । वामको तालमेलपछि अर्को शक्ति कांग्रेसले पनि सकेसम्म धेरै दलहरुसित तालमेलको गरेको छ ।
पाँच नम्बर प्रदेशका २६ प्रतिनिधिसभा र ५२ प्रदेश सभाका क्षेत्रमा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय तहको चुनावपछि पनि धेरै ठाउँमा मतदाता थपिएका छन् । थोरै मात्रै मतको अन्तरमा जित हार भएका आधारमा पुरानो तथ्यांकका आधारमा गरिएका आँकलन यसपालि नमिल्न सक्छन् । अर्कोकुरा स्थायीत्वका लागि भन्दै गठबन्धन भएर जसरी माहोल बनेको छ त्यस्ले पनि एकखालको वातावरण बनाइसकेको विश्लेषकहरुको टिप्पणी छ ।
रुपन्देहीमा पाँच लाख २२ हजार छ सय दुई मतदाता छन् । यसमा झण्डै ६१ हजार नयाँ मतदाता हुन् । कुल मतदातामध्ये महिला दुई लाख ६३ हजार आठ सय १३, पुरुष दुई लाख ५८ हजार सात सय ८३ र तेस्रो लिङ्गी मतदाता छ जना छन् । रुपन्देहीमा आउँदो मंसिर २१ गतेको चुनावका लागि पाँच सय ९८ मतदान केन्द्र र दुई सय आठ मतदान स्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
रुपन्देहीमा हालैको स्थानीय निर्वाचनमा एमाले–माओवादीले कांग्रेस–राप्रपाले भन्दा झण्डै १५ हजार मत बढी ल्याएका छन् । यहाँका १६ वटा स्थानीय तहमा प्राप्त मतलाई अहिले विभाजन भएको निर्वाचन क्षेत्रमा छुट्टाएर बनाइएको तथ्यांकअनुसार समग्र रुपन्देहीको प्राप्त मतमध्ये एमाले–माओवादीको मत एक लाख २४ हजार ६ सय ७३ छ भने कांग्रेस–राप्रपाको मत एक लाख ९ हजार ७ सय ४४ छ ।
प्रदेश ५ मा प्रतिनिधिसभाका २६ सिट छन् जसमध्ये मधेसका पाँच जिल्ला बाँके (३), बर्दिया (२), दाङ (३), कपिलवस्तु (३), रुपन्देही (५) र नवलपरासी (२) मा मात्रै १८ सिट छन् । यी क्षेत्रहरुमा बाम गठबन्धन नै बलियो देखिएको छ ।
स्थानीय तहमा प्राप्त मत अनुसार रुपन्देहीमा प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले–माओवादीको मत ३३ हजार सात सय ३० छ भने कांग्रेस–राप्रपाको मत २६ हजार सात सय ४६ रहेको छ । यो क्षेत्रमा एक लाख १२ हजार एक सय ३१ मतदाता छन् । यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमाले–माओवादीको मत ३६ हजार दुई सय ७९ रहेको छ भने कांग्रेस–राप्रपाको २१ हजार पाँच सय ४१ छ । यो क्षेत्रमा जनमुक्तिले दुई हजार सात सय ४५ मत ल्याएको थियो । यो प्रतिनिधि सभा क्षेत्रमा एक लाख पाँच हजार दुई सय छ मतदाता छन् । क्षेत्र नं. ३ मा एमाले–माओवादीको मत २९ हजार दुई सय ८५, कांग्रेस–राप्रपाको २७ हजार नौ सय ३३ छ । यहाँ संघीय समाजवादी फोरमले चार हजार एक सय ९७ र फोरम लोकतान्त्रिकले दुई हजार दुई सय नौ मत ल्याएका थिए । यो क्षेत्रमा एक लाख नौ हजार दुई सय ७८ मतदाता छन् ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. ४ मा एमाले–माओवादीको मत धेरै कम छ । यो क्षेत्रमा हालै राजपा, स्वतन्त्र र संघीय समाजवादी फोरमलगायतका विभिन्न दलबाट एमालेमा प्रवेश गरेकाहरुको उल्लेख्य संख्या रहेकाले यहाँ वाम गठबन्धनका उम्मेदवारले यसपालि इतिहास रच्ने दाबी गरिरहेका छन् । यो क्षेत्रमा एमाले–माओवादीको मत मात्रै चार हजार दुई सय १७ ल्याएका थिए । तर यो अहिले पूरै फेरिएको छ । कांग्रेस–राप्रपाको मत १२ हजार दुई सय ९१ थियो । यो क्षेत्रमा संघीय समाजवादी फोरमले नौ हजार तीन सय ४०, फोरम लोकतान्त्रिकले छ हजार नौ सय ७८ र स्वतन्त्रका रुपमा सात हजार चार सय ५७ मत आएको थियो । यो क्षेत्रमा ८९ हजार आठ सय ३५ मतदाता छन् । यहाँ अन्तिम समयसम्म पनि के हुन्छ भन्न सकिने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् ।
क्षेत्र नं. ५ मा एमाले–माओवादी भन्दा कांग्रेस–राप्रपा मात्र ७१ मतले अगाडि थिए । यहाँको चुनावी अभियानका क्रममा धेरै नयाँ अनुहारहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् । यो क्षेत्रमा एमाले–माओवादीको मत २१ हजार एक सय ६२ छ भने कांग्रेस–राप्रपाको मत २१ हजार दुई सय ३३ छ । पाँच नं. क्षेत्रमा एक लाख ६ हजार एक सय ५३ मतदाता छन् ।
रुपन्देहीका प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्र मध्ये ६ वटामा वाम गठबन्धन धेरै मतले अगाडि छ । बाँकी ४ प्रदेश सभाका क्षेत्रमा कांग्रेस–राप्रपा अगाडि छन् । यसैगरी कपिलवस्तुका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एक र दुईमा एमाले–माओवादीको मत भन्दा कांग्रेस–राप्रपाको मत धेरै थियो तर यहाँ न वाम गठबन्धनमा नवप्रवेशीहरु धेरै भएकाले यो मतको अन्तर धेरै पर्ने निश्चित रहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
कपिलवस्तुको एक नं. क्षेत्रमा एमाले–माओवादीको मत २३ हजार आठ सय ५७ छ भने कांग्रेस–राप्रपाको २४ हजार दुई सय २४ छ । यहाँ सं.स.फो.ले आठ हजार तीन सय ११ मत ल्याएको छ । यहाँका मधेशी समुदायका लोकप्रीय नेताहरु स्थानीय चुनावपछि एमालेमा प्रवेश गरेकाले स्थानीय तहको यो मतको संख्या फेरबदल हुने निश्चित छ । यस्तै क्षेत्र नं. २ मा एमाले–माओवादीको मत १५ हजार आठ सय १४ छ भने कांग्रेस–राप्रपाको मत २६ हजार नौ सय छ । यही क्षेत्रमा बहुजन पार्टीले सात हजार तीन सय ३४, स्वतन्त्रले छ हजार तीन सय ३१ र संसफोले दुई हजार सात सय ३६ मत ल्याएका छन् । क्षेत्र नं. ३ मा एमाले–माओवादीको मत १७ हजार ९७ रहेको छ भने कांग्रेस–राप्रपाको मत १२ हजार नौ सय ७४ रहेको छ । यहाँ ससफोले छ हजार छ सय ५३ र स्वतन्त्रले पाँच हजार पाँच सय नौ मत ल्याएका छन् ।
यसैगरी गुल्मी जिल्लाका प्रतिनिधि सभाका दुवै र प्रदेशसभाका चार वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन हजारौँ मतले अगाडि छ । यहाँ १ नं. क्षेत्रमा एमाले–माओवादीको मत ३७ हजार एक सय १३ छ भने कांग्रेस–राप्रपाको २५ हजार छ सय ८८ छ । २ नं. क्षेत्रमा एमाले–माओवादीको मत ३२ हजार १८ छन् भने कांग्रेस–राप्रपाको २३ हजार एक सय ९४ छ । यहाँ लोकप्रिय नेता प्रदीप ज्ञवाली र विकासप्रेमी नेता गोकर्ण विष्ट वाम गठबन्धनका साझा नेता हुन् । कांग्रेसबाट चन्द्र भण्डारी र चन्द्र केसी प्रतिस्पर्धामा छन् ।
यस्तै पाल्पा जिल्लाका प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्रमध्ये दुवैमा वाम गठबन्धनको मत धेरै छ । यहाँको १ नं. क्षेत्रमा एमाले–माओवादीको मत २९ हजार सात सय ८० छ भने कांग्रेस–राप्रपाको २० हजार तीन सय ३२ छ । क्षेत्र नं. २ मा एमाले–माओवादीको मत ३३ हजार आठ सय ४३ छ भने कांग्रेस–राप्रपाको मत २४ हजार नौ सय ११ छ । यहाँका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन हजारौँ मतले अगाडि छ ।
यसैगरी बर्दिया जिल्लाका प्रतिनिधि सभाका दुवै निर्वाचन क्षेत्र र प्रदेशसभाका चार वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन अगाडि छ । यहाँको १ नं. क्षेत्रमा एमाले–माओवादीको मत ५५ हजार सात सय १५ छ । भने कांग्रेस–राप्रपाको २६ हजार सात सय ७० छ । २ नं. क्षेत्रमा एमाले–माओवादीको मत ५३ हजार नौ सय ९० छ भने कांग्रेस–राप्रपाको मत २९ हजार दुई सय ६९ छ ।
परासी जिल्ला अन्र्तगत क्षेत्र नं. १ मा एमाले–माओवादीको मत २९ हजार ९९ छ भने कांग्रेस–राप्रपाको ३२ हजार दुई सय २४ छ । प्रदेशसभामा भने वाम गठबन्धनको धेरै मत छ । यस्तै २ नं. क्षेत्रमा एमाले–माओवादीको मत २५ हजार एक सय ९७ छ भने कांग्रेस–राप्रपाको २२ हजार छ सय ८० रहेको छ ।
यस्तै दाङको क्षेत्र नं. १ मा एमाले–माओवादीको मत ३२ हजार तीन सय ९१ छ भने कांग्रेस–राप्रपाको मत २० हजार एक सय सात मत छ । दुवै प्रदेशमा वाम गठबन्धनको मत हजारौँ बढी छ । २ नं. क्षेत्रमा एमाले–माओवादीको मत ३९ हजार पाँच सय ९५ छ भने कांग्रेस–राप्रपाको २२ हजार दुई सय ३० मत छ । यो क्षेत्रका पनि दुवै प्रदेशमा वाम गठबन्धन हजारौँ मतले अगाडि छन् । ३ नं. क्षेत्रमा एमाले–माओवादीको मत ५३ हजार दुई सय ३२ र कांग्रेस–राप्रपाको मत ३४ हजार ९ सय ४० छ । रोल्पाको १ नं. क्षेत्रमा एमाले–माओवादीको मत ४८ हजार ३३ छ भने कांग्रेस–राप्रपाको मत २१ हजार सात सय ८२ छ । यहाँका दुवै प्रदेशसभामा वाम गठबन्धन हजारौं मतले अगाडि छ ।
बाँकेको क्षेत्र नं. १ मा एमाले–माओवादीको मत ३१ हजार एक सय छ भने कांग्रेस–राप्रपाको मत २४ हजार आठ सय ९३ छ । क्षेत्र नं. २ मा एमाले–माओवादीको मत १९ हजार छ सय १६ छ भने कांग्रेस–राप्रपाको मत २६ हजार ९ सय २२ छ । यहाँका दुवै प्रदेशसभा क्षेत्रमा कांग्रेस–राप्रपा गठबन्धन अगाडि छ । क्षेत्र नं. ३ मा एमाले–माओवादीको मत २८ हजार तीन सय ७३ छ भने कांग्रेस–राप्रपाको मत २० हजार ५१ छ । यहाँका दुवै प्रदेश सभामा वाम गठबन्धनको मत धेरै छ ।
अर्घाखाँचीको १ मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनको मत हजारौँले बढी छ । यहाँको १ नं. क्षेत्रमा एमाले–माओवादीको मत ५५ हजार ८४ छ भने कांग्रेस–राप्रपाको मत ३६ हजार तीन सय ४२ मत छ । प्यूठानमा पनि एक मात्र प्रतिनिधिसभा क्षेत्र छ । प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धन हजारौँ मतले अगाडि छ । यहाँ एमाले–माओवादीको मात्रै मत ४६ हजार ३१ छ भने वाम तालमेल गरेको जनमोर्चाको मात्रै मत १५ हजार नौ सय ८१ छ । कांग्रेस–राप्रपाको १७ हजार पाँच सय ५४ छ । रुकुम जिल्लामा पनि एक मात्रै प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र छन् । यी सबैमा वाम गठबन्धनको मत धेरै छ । क्षेत्र नं. १ मा एमाले–माओवादीको मत १२ हजार चार सय १९ छ । कांग्रेस–राप्रपाको मत चार हजार एक सय ६१ छ ।
आज प्रचार–प्रसारको अन्तिम दिन
