डा. मुरारि पराजुली
चुनावको माहोल तातेको छ । घनश्याम भुसाल नेपाली राजनीतिका एक बिम्ब हुन्; त्यस्तो बिम्ब जसले विचारको निष्ठा, इमान र सत्यताको द्योतन गर्छ । घनश्याम समयको वस्तुगत विश्लेषण गर्छन्; त्यसको सारबाट नीति बनाउँछन् र कार्यान्वयनका लागि अहोरात्र खटिरहन्छन् । आज सिङ्गो देशले खोजिरहेको मान्छेको बिम्ब घनश्याम भुसालहरू हुन् । विचारका दृष्टिले समाजमा मान्छे तीन थरी हुन्छन्— अबुझ, परम्परागत र सृजनात्मक । समाजको ठूलो हिस्सा विचारको विश्लेषणप्रति खासै सरोकार राख्दैनन् । उनीहरू जस्तो परिस्थिति आउँछ त्यसलाई स्वीकार गर्दै जान्छन् । अर्का थरी हुन्छन्— जो उन्नत विचारका पक्षपाती त हुन्छन् तर त्यस विचारमा अन्तर्निहित समय सन्दर्भको परख गर्न जान्दैनन् । यिनीहरू विचारका सधैँ समर्थक हुन्छन् र कसैले विचारको रचनात्मक कुरा ग¥यो भने सधैँ शंकाका दृष्टिले हेर्छन् । यिनीहरू वैचारिक झुण्डमा बहुमतमा हुन्छन् र विचारको सृजनशील प्रयोगमा तगारो बनेर बसिरहेका हुन्छन् । विचारको रुढतामा बसिरहन चाहने यिनको मस्तिष्कलाई बदल्न समयको जबर्जस्त चाबुक यिनका शिरमा बज्रनै पर्छ । साह्रै अल्प संख्यामा रहने एकथरी भनेका जहिले पनि विचारलाई समयको वस्तुगत सन्दर्भसँग जोडेर हेर्न रुचाउनेहरू हुन् । यिनीहरू आफ्ना निष्कर्षहरूलाई अगाडि सार्छन्, त्यसको व्याख्या र प्रतिरक्षा गर्छन् । यिनीहरूमाथि वैचारिक आक्रमण भइरहन्छन् तर समयको आरनमा यिनका सृजनात्मक सोचहरू खारिँदै जान्छन् र दुनियाँले त्यसलाई वरण गर्दै जान्छन् । घनश्याम भुसालहरू यही सृजनशील वैचारिक कोटिका मनीषीहरू हुन् ।
राजनीतिक दलहरू विचारका सम्वाहक मानिन्छन् । नेपाली सन्दर्भमा कम्युनिस्टहरूले मात्रै विचारको खेती गरे, यद्यपि नेपाली कांग्रेसमा वी.पी.ले अगिल्लो चरणमा प्रगतिशील विचारको सृजनात्मक सुरुवात गरेका थिए तर पछिल्लो चरणमा उनमा देखापरेको कम्युनिष्टविरोधी मनोविज्ञान यसरी झांगियो कि जसले गर्दा उनी मेलमिलापका नाममा पुरातन सामन्तवादसित बढी लहसिए; २०३० को दशकमा आइपुग्दा मुलुकले जुन कोल्टे फेराइका निम्ति जुर्मुराउन लागिरहेको थियो त्यसका निम्ति तीव्र क्रान्तिकारी विचारले समेल्ने सिर्जनशीलता उनले देखाउन सकेनन् । वी.पी. को अवसानपछि नेपाली कांग्रेसमा आजसम्म त्यस्तो कुनै सृजनात्मक विचारवान् व्यक्तित्व देखिएको छैन । भन्न त प्रदीप गिरीलाई कांग्रेसका विचारशील नेता भनेर मानिन्छ तर उनी विचारका सृजनात्मक प्रयोगकर्ता नभई केवल अध्येताका रूपमा मात्र चिनिएका छन् । उनी बनिबनाउ विचारका बेसी नै जानकार र व्याख्याता हुन् तर समयसन्दर्भका कसीमा विचारलाई सृजनात्मक गति दिने विषयमा यिनको भूमिका देखिँदैन । बरु, २०६० को दशकमा नरहरी आचार्यले समयसन्दर्भलाई चिने र त्यसप्रति अनुराग पनि देखाए तर त्यसलाई संस्थागत गर्न उनी असफल नै रहे ।
वी.पी. सँगै समानान्तरमा नेपाली राजनीतिमा उन्नत वैचारिक आन्दोलन छोड्ने पुष्पलाल नै हुन् । उनको विचारले लामो समयसम्म नेपालमा अगुवाइ गरिरह्यो । तर उनको अवसानपछि भने विस्तारै विश्व राजनीतिले नयाँ मोड लियो । २०३० को दशकमा उनी कालकवलित भए तर २०४० को दशकमा उनले नेतृत्व गरेको विचारले सृजनशीलता खोजिसकेको थियो । यही दशकमा सोभियत समाजवादमाथि पश्चिमा पुँजीवादको जोडदार आक्रमण र स्वयं लेनिनले सुरु गरेको क्रान्तिकारी विचारमाथिको सृजनात्मक अभ्यासको अभावले रसियासहित पूर्वी युरोपमा कम्युनिष्ट सत्ता धराशयी भइरहेका थिए । विश्व कम्युनिष्ट आन्दोलन संकटमा परिरहेका बेला नेपालमा त्यसको सृजनशील वैचारिक प्रयोग गर्ने मदन भण्डारी कालचेत भएका युगद्रष्टा थिए । यिनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद नेपालमात्र होइन संसारभरकै कम्युनिष्टका लागि युगसापेक्ष वैचारिक आदर्श हुनसक्दछ । उनको हत्या नभएको भए सम्भवतः त्यसलाई उनले विश्वव्यापीकरण गर्न सक्थे होलान्; तर दुर्भाग्य ! विचारकै अन्वेषकको षड्यन्त्रमूलक हत्या भइसकेपछि त्यस विचारलाई उनले जस्तै गरी व्याख्या विश्लेषण गर्नेको अभाव हुने नै भयो ।
आज मदन भण्डारीको भौतिक अवसान भएको पनि करिब २५ वर्ष हुन लाग्यो । पच्चीस वर्षअघिको विचारप्रवाहको नक्सा पनि स्वभावतः बदलिएर देखापरेको छ । जनताको बहुदलीय जनवादले स्वभावतः परिष्कार र परिमार्जन खोजेको छ; नयाँ सन्दर्भमा यसको पुनव्र्याख्या र समृद्धि समीचिन छ । यही जनताको बहुदलीय जनवादको समयानुकूल पुनव्र्याख्या र समृद्धिका लागि अब घनश्याम भुसालहरूको जरुरत छ । घनश्यामहरूकै जरुरत किनभने यिनीहरूले आफ्नो सृजनशील क्षमताको उद्घाटन नेकपा एमालेको आठौँ र नवौँ महाधिवेशनमा प्रस्तुत गरिसकेका छन् । राजनीतिका दुई संरचनात्मक क्षेत्र हुन्छन्— पार्टीभित्रको आन्तरिक संरचना र जनताबीचको प्रत्यक्ष संरचना । आवधिक निर्वाचन हुने ठाउँमा पार्टीभित्रको आन्तरिक संरचनामा मात्र कुनै नेताले आफ्नो वर्चस्व बढाएर मात्र हुँदैन । पार्टीको वैचारिक राजनीतिलाई जनताबाट अनुमोदित गराउन उनीहरू जनताका अगाडि पनि प्रत्यक्ष रूपमा भिडेर कौशल प्रस्तुत गर्नुपर्ने हुन्छ ।
यो समय भनेको घनश्याम भुसालहरूको हो; किनभने यिनीहरूले पार्टीभित्र मात्र होइन जनताका माझमा सुदूर भविष्यको भरोसालायक उज्यालो पेस गरिरहेका छन् । सृजनशील विचारका हकमा घनश्यामहरू कति प्रभावी भइसकेका छन् भने एमालेभित्र मात्र होइन, पछिल्लो महाधिवेशनमा माओवादीले ल्याएको र पारित गरेको एक्काइसौँ शताब्दीको जनवादमा व्यक्त विचारहरू घनश्याम भुसालले धेरै पहिल्यै अन्वेषण गरिसकेका थिए । यसैले यो युगका विचारसारथिहरू भनेका घनश्याम भुसालहरू नै हुन् । कुनै पनि विचार ल्याउन र बहस गर्नका लागिमात्र हुँदैनन् । विचारको अन्वेषण भनेको जीवनसमृद्धिका लागि हो । त्यस समृद्धिका लागि विचारको कार्यान्वयन हुनुपर्छ । कार्यान्वयनको मार्गचित्र प्रस्तुत गर्ने भनेका यिनै विचारसारथिहरू हुन् । यसैले हाम्रो वर्तमान र भविष्यलाई सुस्पष्ट गन्तव्यमा पु¥योउने सुदृढ र समृद्ध जनताको बहुदलीय जनवादी विचारको कार्यान्वयन गर्न सक्ने अभियन्ताहरू भनेका घनश्याम भुसालहरू नै हुन् । जनताकहाँ प्रत्यक्ष पुगेर त्यसलाई अनुमोदित गर्नका लागि घनश्यामहरूको विजय सुनिश्चित हुनु जरुरी छ । दलहरू विचारका अन्वेषक हुन् तर त्यसलाई क्षेपण गर्ने ठाउँ भनेकै जनसमुदाय हो ।
जनताको बहुदलीय जनवादको मार्गबाट वैज्ञानिक समाजवादमा पुग्न यस देशका लागि घनश्याम भुसालहरूको खाँचो छ । बडो सौभाग्य मान्नुपर्छ— रूपन्देही जिल्लाको क्षेत्र नं. ३ को प्रतिनिधिसभा उम्मेदवारका रूपमा घनश्याम भुसाल आइपुगेका छन् । घनश्याम नआएको भए अरू कोही आउन सक्थ्यो तर घनश्याम आउनु र अरू आउनुमा आकाशजमिनको अन्तर छ । अरू आउनुभनेको अरू कसैले खनिदिएका मार्गमा चल्ने पथिकहरू आउनु हो भने घनश्यामहरू आउनु भनेको आपूm हिँड्ने बाटाको आफै मार्गचित्र बनाउनेहरू आउनु हो; यिनीहरू त्यस्तो मार्गचित्र बनाउँछन् जुन चित्रको यात्राले गन्तव्यलाई निष्कंटक यात्राको प्रत्याभूति दिन्छ । त्यसो त त्यस मार्गमा काँडा ओछ्याउने देशीविदेशी प्रतिक्रियावादीहरूका चुनौतीपूर्ण व्यवधानहरू आइनपर्ने होइनन् तर ती सबै जटिलताहरूलाई चिर्ने ह्याउ भने घनश्यामहरूमा मात्र हुनेछ ।
जनताकहाँ गएर मत माग्ने कुरो सहज छैन । आज पनि जनतालाई दिग्भ्रमित तुल्याएर चुनाव जित्ने अपराधीहरूको बिगबिगी उत्तिकै छ । सुनिन्छ, कति ज्यानमाराहरूले यसपाला पनि जेल वा गुप्त ठाउँबाटै आफ्ना उम्मेदवारी दिएका छन् । पूर्वी तराईको एउटा निर्वाचन क्षेत्रबाट उठेको तथाकथित् लोकतन्त्रवादी पार्टीको उम्मेदवारलाई एउटा अपराधीले जेलबाटै समर्थन जनाएर त्यस क्षेत्रमा तरंग ल्याइदिएको छ रे । हामीले बाँचिरहेको युगका एक सशक्त समयसारथि घनश्याम भुसाल उठेको क्षेत्रबाट पनि यस्ता प्रवृत्तिले टाउको उठाइरहेका छन् रे । सुनिन्छ— यो प्रवृत्तिले यतिखेर जनतासँग निकै साखुल्ले भएर रातारात बिजुलीका पोल खसालिरहेको छ रे, गरिब बस्तीमा पुगेर जनताको अभिमतलाई रक्सी र मासुसँग व्यापार गरिरहेको छ रे । यस देशको लोकतन्त्रको सिङ्गै ठेकेदारी लिने दलले आज त्यसैका नाममा आफ्नो उम्मेदवारी नदिएर आफ्नै नेताको हत्या गर्ने त्यस योजनाकारलाई समर्थन जनाइरहेको छ रे । कहाँ देश बनाउने सपना बोकेर हिँडेका स्वप्नदर्शी घनश्यामहरू र कहाँ मुलुकलाई पञ्चायत कालदेखि चुसिरहेका अपराधीहरू ! पञ्चायत कालमा लोकतन्त्रको वैचारिक टुकीलाई जोगाउँदै हिँडेका प्रजातन्त्रवादीहरूको आमहत्या गराउन सरिक व्यक्तिलाई आफ्नो दलबाट उम्मेदवार नउठाएर उसैलाई फूलमालाले स्वागत गरेर भोट दिन आतुर एवं निष्ठाको राजनीतिमाथि बलात्कार गर्ने शक्तिमान कांग्रेस नेताहरूलाई भन्नु केही छैन तर कांग्रेसमा लोकतन्त्रको निष्ठालाई बचाइरहनु पर्छ भन्ने चाहना भएका तमाम न्यायप्रेमी लोकतन्त्रवादी कांग्रेसहरूका उम्मेदवार भने यतिखेर घनश्याम भुसाल नै हुन् ।
यतिखेर मुलुकलाई विचारको बाटोबाट समृद्धिको दिशातिर डो¥याउने अभिमतको संरक्षण गर्दै यसको अगुवाई गर्नेलाई निर्वाचनमा जिताउने वा उनै पञ्चायती अपराधीहरूका अगाडि आत्मसमर्पण गरेर अझै पनि आयल निगमको लागि करोडौँ कमिसन खाई बगरको जग्गा किनेर देशलाई लुट्ने एवं अपराधलाई संस्थागत गर्ने व्यक्तिलाई जिताउने हो भन्ने प्रश्न सर्वाधिक चासोको विषय भएर आएको छ । चाहे लोकतन्त्रवादीले जितून् वा वामपन्थीहरूले जितून् तर देशलाई समृद्ध बनाउने औ सामाजिक न्यायलाई जोगाउनेहरूले मात्रै जितून् ।
यसैले रुपन्देहीको क्षेत्र नं. १ मा छविलाल विश्वकर्मा र उनका सारथीहरु डा. कृष्ण न्यौपाने र दधिराम न्यौपानेले जितून् । २ मा विष्णुप्रसाद पौडेल र उनका सारथीहरु लिला गिरी र भोजप्रसाद श्रेष्ठले जित्नुपर्छ । घनश्याम र उनका सारथीहरु विश्वास बराल र तुलसीप्रसाद चौधरीले जित्नुपर्छ, क्षेत्र नं. ४ मा युवा नेता ओमप्रकाश यादव र उनका सारथीहरु पल्लबी शुक्ला र सन्तराम यादवले जित्नुपर्छ । लुम्बिनीसमेत परेको क्षेत्र नं. ५ मा डिलाराम आचार्य र उनका सारथीहरु भूमिश्वर ढकाल र राजु फकिरले जितून् । यदी यहाँको समृद्धि चाहने हो भने एक पटक यो गठबन्धनलाई बहुमत दिन जरुरी छ । बहुमतको एउटा स्थायी सरकारको नेतृत्वमा यो गठबन्धनलाई एउटा अवसर दिनुपर्छ । देशले कैयौं राजनीतिक अस्थिरता र अलमलहरु भोग्यो, मुलुक अगाडि बढ्नै सकेन् र अगाडि बढाउने खालका सरकारहरुलाई मुस्किलले ९ महिनामात्रै टिक्न दिइयो । केपी शर्मा ओलीले जुन सपना र संकल्प देखाएका थिए उनलाई टिक्नै दिइएन् । यसकारण उनलाई एउटा बहुमतसहितको स्थायी सरकारको नेतृत्वमा पु¥याउन जरुरी छ । माओवादी केन्द्रका नेता प्रचण्डले भावी प्रधानमन्त्री केपी ओली नै भएको भनेर घोषणा गरेपछि यसले गठबन्धनका नेता–कार्यकर्तामा एउटा उत्साह पैदा गरेको छ ।
हामीले हाम्रा छोराछोरीलाई हस्तान्तरण गर्ने संस्कार समतामूलक, सामाजिक न्यायपूर्ण, मुलुकप्रतिको जिम्मेवारी बोध र देशभक्तिको भाव हो वा अझै पनि अपराधीहरूकै चलखेल र उनीहरूका अगाडि जहिले पनि आत्मसमर्पणको बाटो पक्रने संस्कार हो ? निष्ठावान् लोकतन्त्रवादी र परिवर्तनकारी वामपन्थी शक्तिहरूले सोच्ने बेला आएको छ । जसले जे भनोस्— यो समय भनेको घनश्याम भुसालहरूजस्ता त्यागी आदर्शवान् र निष्ठाको वैचारिक संघर्ष गर्नेहरूको हो । यिनीहरूले जिते देशले सजिलै उन्मुक्ति पाउँछ र समृद्धिको यात्रा अगि बढ्छ होइन हाम्रा अभिमतबाट अपराधीहरूले प्रश्रय पाए भने निश्चित छ—यो देशको समुन्नतितर्फको यात्रा फेरि पनि लामो समयसम्म बन्दी हुनेछ ।
घनश्यामहरुको समय
