टिप्पणी
तिलोत्तमा÷प्रायः विवाहमा बधुतर्फ एउटा समान दृश्य देखिन्छ । निम्तालुले ल्याएका खाम (नगद) वा जिन्सी उपहारको विवरण टिप्न एउटा टेबुल÷कुर्सी हुन्छ । निम्तालुहरु खाम वा जिन्सी उपहारको विवरण टिपाएपछि खानपिन र अन्य क्रियाकलापमा सहभागी हुन्छन् । पछिल्लो समय वधूतर्फको विवाहमा जिन्सीको सट्टा खाम लैजाने परम्परा बढ्दै गएको पाइन्छ ।
यहीँ मंसिर २५ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ शित्तलकुञ्जमा भएको एउटा विवाहमा माथि उल्लेखित दृश्य देखिएन । निम्तालुले ल्याएको खाम वा जिन्सी उपहारको विवरण अद्यावधिक गर्न कोही खटिएका थिएनन् । न त त्यसका लागि छुट्टै टेबल÷कुर्सीकै व्यवस्था । निम्तालुलाई पठाइएको निमन्त्रणा कार्डमा खाम वा जिन्सी उपहारको विषयमा केही कुरा खुलाइएको थिएन ।
यहीँ कारण निम्तालुहरु खाम वा जिन्सी उपहार लिएर विवाह समारोहमा गएका थिए । तर खाम वा जिन्सी उपहारको विवरण राख्ने व्यक्ति नभेट्टिएपछि धेरै निम्तालुहरु केहीबेर अलमलमा परे । निम्तालुहरु एकले अर्काेलाई यो विषयमा सोध्न थाले । अन्ततः वधूतर्फका आफन्तले निम्तालुका जिज्ञासा मेट्टाउँदै प्रष्टाए–‘हामीले निम्तालुले ल्याएको खाम वा जिन्सी उपहार नलिने निर्णय गरेका छौँ । यसमा कसैले पनि अन्यथा नमान्नु होला ।’
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेकी छोरी सोनुको विवाहमा निम्तालुले ल्याएका खाम वा जिन्सी उपहार राखिएन । विवाहमा ठूलो संख्यामा निम्तालुहरु उपस्थित थिए । नगर प्रमुख र त्यसमाथि विभिन्न संघ–संस्थाको आवद्धता र आफन्तहरु नै धेरै भएकाले विवाह समारोहमा निम्तालुहरुको घुइँचो नै थियो । निम्तालुले विवाहमा बेहुला ई. बिपुल आचार्य र बेहुली सोनु घिमिरेलाई शुभकामना तथा आशीर्वाद दिन पाए । तर उपहार दिन पाएनन् ।
हाम्रो समाजमा छोराको विवाहमा सहभागी हुँदा उपहार लैजानु नपर्ने तर छोरीको विवाहमा जाँदा नगद वा जिन्सी लैजानुपर्ने परम्परा छ । यहीँ कारण छोरीको विवाहमा निम्ता बोलाएकाहरुलाई छोराको विवाहमा निम्ता नगर्दा त्यसको ठूलो आलोचना हुन्छ । उपहार लैजानु पर्ने भएकाले छोरीको विवाहको निम्तो भन्नासाथ कतिपयले नाक खुम्चाउँछन् त कतिपय ‘उपहार दिनुपर्छ भनेर आएन’ भन्ने आलोचनाबाट बच्न बाध्य भएर विवाहमा पुग्छन् । छोरा र छोरीको विवाहमा देखिने यस्तो विभेद अन्त्यको प्रयासस्वरुप घिमिरे परिवारले नयाँ अभ्यासको थालनी गरेको हो ।
यसलाई विवाहमा सहभागी भएका धेरै जनाले सकारात्मक रुपमा लिए । ‘छोरीको विवाहमा उपहार लिने परम्परालाई तोड्न खोज्नु अत्यन्त सान्दर्भिक छ ।’ तिलोत्तमा–८ बाट विवाहमा पुगेका आफन्त कृष्ण अर्यालले भने, ‘यसले छोरा र छोरीको विभेद घटाउन मद्दत गर्छ । यहाँ छोरीको विवाह पनि छोराको सरह नै भएको मैलै पाएँ ।’
नगर प्रमुख घिमिरेकी छोरी सोनु ललितपुरको गोदावरी–१२ सुनाकोटीका बिपुलसँग विवाह बन्धनमा बाँधिएकी हुन् । सोनुलाई लिन २५ जनाको संख्यामा जन्तीहरु आएका थिए । विवाहमा दाइँजोको व्यवस्था पनि थिएन । अधिकारकर्मी रिमा विसी छोरीको विवाहमा नगद वा जिन्सी नलिनु समाज परिवर्तनका लागि सकारात्कम कदम भएको बताउँछिन् । ‘यस्तो अभ्यासले छोरा र छोरीको विवाहलाई एउटा कोणबाट समान बनाउँछ,’उनले भनिन् । हाम्रो समाजमा विवाहमा यसरी संकलन हुने नगद वा जिन्सी उपहार बेहुलीलाई दिने परम्परा छ । जसलाई दाइजो वा गर्दुवा भनिन्छ । दाइजोका कारण समाजमा विभिन्न विकृतिहरु देखा पर्दै जाँदा त्यसको अन्त्यको प्रयास सबैका लागि अनुकरणीय हुन सक्छ ।
‘खाम’ विहीन विहे र हाम्रो समाज
