विष्णुप्रसाद पौडेल र योजनाबद्ध विकास

मेचीकाली संवाददाता

२९ कार्तिक २०७९, मंगलवार
344 shares

अमृत गिरी
हामीकहाँ लामो राजनीतिक अस्थिरताका कारण नयाँ पुस्तालाई समग्र राजनीतिप्रति नै वितृष्णा बढाएको छ । हिजोको राजनीतिक व्यवस्था परिवर्तनको लडाइँमा समर्पित र स्वतन्त्रताका लागि लामो लडाइँ लडेका नेताहरुलाई एउटै कोटरीमा राखेर टिप्पणी हुने गर्छन् । सबै नेता खराब छैनन र सबै नेता सही पनि छैनन् । कोही नेता विकासवादी छन् त कोही विचारवादी ।
स्पष्ट विचार भएको र विकास गर्ने हुटहुटी भएका नेता भने थोरै छन् । तीमध्ये एक हुन विष्णुप्रसाद पौडेल । समन्वयकारी, गतिशील, स्पष्ट विचारका साथै विकासको रोलमोडल बनाउने क्षमतावान नेताका रुपमा विष्णुप्रसाद पौडेललाई धेरैले प्रशंसा गर्छन् । विकासलाई जनताको जीविकासँग प्रत्यक्ष जोड्ने र समृद्धिलाई जनहीतमा केन्द्रित गराउन भिजन भएका नेता हुन् विष्णुप्रसाद पौडेल । मध्यम वर्गीय परिवारमा जन्मेका र दुखजिलो जीवन भोगेका उनको राजनीतिक यात्रा विचार, विकास र जनताका दैनिकी फेर्नुमा केन्द्रित छ ।

२०१६ मंसीर १६, तदनुसार १९५९ डिसेम्बर १ का दिन विष्णुप्रसाद पौडेलको जन्म पुतलीबजार नगरपालिका वडा नं. १०, स्याँङ्जामा भएको हो । हाल ललितपुर महानगरपालिका वडा नं. २५, सैवु आवासमा निवास गर्ने उनले पार्टीको सामान्य होलटाइमर कार्यकर्ता देखि शक्तिशाली नेकपाको महासचिव र सरकारको उपप्रधानमन्त्री र अर्थमन्त्री समेत भएर आफ्नो कार्यकुशलता प्रदर्शन गरेका पौडेल २०७२ कार्तिक १९ देखि २०७३ श्रावण १९ सम्म ः अर्थ मन्त्री,२०६७ चैत्र ३ देखि २०६८भदौ ११सम्म ःरक्षा मन्त्री, २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म ः जलश्रोत मन्त्री,२०५३ चैत्र १२ देखि २०५४ असौज १० सम्म ः युवा, खेलकूद तथा संस्कृति मन्त्री बने । उनले जुनजुन मन्त्रालय सम्हालेका हुन् र हरेक पटक उनले निर्विवाद रूपमा आफ्नो कार्यकुशलता प्रदर्शन गरेका हुन् ।

सर्पले डस्दा टालो बाँधेर भागे
सानै उमेरमा भूमिगत राजनीतिमा लागेका उनलाई एकपटक भारतीय सीमावर्ती क्षेत्र (मर्चवार नजिकै) सर्पले डस्यो । उनी त्यसबेला जीवराज आश्रितलगायतका नेताहरुलाई भारतमा पठाउने र उताबाट आएका डकुमेन्ट लिने भन्दै सीमा पारि गएर फर्किँदै थिए । त्यहाँ नजिकै प्रहरी देखेपछि कतिपय नेताहरु भागे । तर, उनी भागेनन् बरु उल्टै प्रहरीलाई उनीहरुको समेत हितका लागि राजनीतिमा होमिएको बताउँदै कन्भिन्स गर्न लागे । प्रहरीले पैसा माग्यो र उनीसँग भएको केही मोहोर पैसा प्रहरीलाई दिएर उनी उम्किए । केही पर पुगेका बेलामा झाडीमा उनलाई सर्पले डस्यो । मोदनाथ प्रश्रितहरुसँगै थिए । कपडाको टालो सर्पले टोकेको ठाउँमा बाँधेर उनी आश्रयस्थलमा पुगे । त्यसबेला सर्पदंशको उपचार सहज थिएन । संयोगबस उनलाई सर्पको विष धेरै बेर रहेन र उनी केही दिनमै निको भए । तिनै दिन सम्झेर पनि उनी मन्त्री भएका बेलामा देशैभरि स्वास्थ्य संस्थाको स्थापना, स्तरोन्नति र विकासका लागि प्रयाप्त बजेट विनियोजन गरे । रुपन्देहीकै विभिन्न ठाउँमा सर्पदंश अस्पताल निर्माणका लागि बजेट छुट्याए ।

सहज र मिलनसार नेता
सबैको स्वभाब एउटै हुँदैन र छैन पनि । विष्णु पौडेल समाजमा सहजै भिज्न सक्ने र सरल नेताका रुपमा स्थापित छन् । देशका जुनसुकै कुनाका नेता कार्यकर्ताहरु नै किन नहोऊन् उनी सबैसँग उत्तिकै परिचित र सरल रुपमा प्रस्तुत हुने व्यक्तित्वमा पर्छन् । विपक्षीको पनि मन जित्न उनलाई गाह्रो पर्दैन र चूनावमा विजय हासिल गर्न कठिन हुँदैन ।

विकासका रोलमोडल बनाउने केही योजना

१) सदरमुकाम जोड्ने सडक
तत्कालीन जिल्ला र लुम्बिनी अञ्चल सदुमुकाम जोड्ने सडक जीर्ण र साँघुरो थियो । कैयन् राजनीतिक दलका नेताहरु चुनिने र केन्द्रमा जाने गरेपनि यसक्षेत्रमा राम्रो सडक थिएन । नेता पौडेलको पहलमा बुटवल–भैरहवा, भैरहवा–सुनौली र भैरहवा–लुम्बिनी सडक विस्तार गरी ६ लेनको बनाउने कामको थालनी भयो । यतिमात्रै होइन, तराई–मधेशमा रहेका २२ जिल्लाका सदरमुकाम र सदरमुकामलाई राजमार्गसँग जोड्ने व्यवस्थित सडक निर्माणको थालनी गर्ने नेता उनै विष्णु पौडेल हुन् ।

२) जलसम्पदाको सदुपयोग र विकास
विश्वका धेरै मुलुकमा नदीहरुलाई डाइभर्सन गरिएका छन् । छिमेकी मुलुक चाइनामा याङ्सी नदीलाई धेरै ठाउँमा घुमाइ सिँचाइ र खानेपानीमा उपयोग गरिएको छ । हामीकहाँ पनि कालीगण्डकी नदीको केही पानीलाई पाल्पाको राम्दी नजिकैबाट ड्राइभर्सन गरी तिनाउ नदीमा ल्याउने योजनाको सोंच विष्णुप्रसाद पौडेलले नै सुरु गरेका हुन् । यो आयोजनाको डीपीआर पूरा भइसकेको छ । कालीगण्डीको केही प्रतिशत पानीलाई व्यवस्थित सुरुङमार्फत तिनाउमा ल्याउने र तिनाउलाई रुपन्देहीका कैयन् खेतीयोग्य जमिन हुँदै कपिलवस्तु र नवलपरासीसम्मै सिंचाइ सुविधा पु¥याउने ड्रिम प्रोजेक्ट हो । यसरी नदी डाइभर्शन गर्दा त्यहाँ जलविद्युत् निकाल्ने, खानेपानी आपूर्ति सहज बनाउने मात्रै होइन, जलर्पटनको समेत केन्द्र बनाउने उनको सोंच छ ।

३) आन्तरिक वाइपास र रणनीतिक सडक
खासगरी लुम्बिनीलाई केन्द्रमा राखेर यसक्षेत्रलाई जोड्नै विभिन्न आन्तरिक र राणनीतिक महत्वका सडकहरुको सञ्जाल विस्तार गर्ने र स्तरोन्नति गर्ने कामका शुत्राधार उनै नेता विष्णुप्रसाद पौडेल हुन् । आन्तरिक बाइपास र रणनीतिक महत्वका सडकहरुलाई निरन्तरता दिन, पूर्णता दिन पौडेलकै निर्देशनमा प्रदेश सरकारका मन्त्री भएका लिला गिरी र बुटवलको मेयर बनेका शिवराज सुवेदी, बासुदेव घिमिरे, नेताहरु भोजप्रसाद श्रेष्ठ, चित्रबहादुर कार्कीलगायतका नेताहरुले पनि महत्वपूर्ण योगदान गरेका छन् । भारतीय सीमाना कर्कहवाबाट लुम्बिनी हुँदै बेथरी र बेथरीबाट बेलबास हुँदै नुवाकोट र बेसबासबाट ढोरपाटन सडक हुँदै उत्तरमा कोरला नाकासम्म जोड्ने महत्वपूर्ण सडकको विस्तारका लागि नेता पौडेलले नै अगुवाई गरे । बुटवल चक्रपथ, सैनामैना चक्रपथ, तिलोत्तमा चक्रपथ, कालिका पथ, श्रवणपथलगायतका बाइपास र रणनीतिक महत्वका सडकहरु एमाले नेतृत्वको अगुवाईमा नै नमुना बनिरहेका छन् ।

४) विद्युत् विकासमा त्यो फड्को
विष्णुप्रसाद पौडेल जलस्रोतमन्त्री हुँदा मुलुकमा १८ घण्टे लोडसेडिङ्ग थियो । विद्युत् विकाससम्बन्धी नीति २०५८ दराजमा थन्किएको थियो । पौडेल जलस्रोतमन्त्री भएपछि सो नीतिको पूर्ण कार्यान्वयनतर्फ लागियो र पौडेलकै सक्रियतामा भारतबाट ३०० मेगाबाट विद्युत् खरिद गर्ने सम्झौता भएको थियो । त्यसबेलाकै नीतिका कारण विद्युत् उत्पादन बढ्यो, लोडसेडिङ्ग हट्यो र अहिले भारतलाई विद्युत् विक्री गर्ने अवस्थामा नेपाल पुगेको छ । यसक्षेत्रमा अनियमित विद्युत, लो भोल्टेज र उद्योगहरुमा समेत प्रयाप्त विद्युत् नपुग्ने अवस्था थियो । यसलाई समाधान गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह भयो । विद्युत्का सवस्टेशनहरु धमाधम निर्माण भइरहेका छन्, प्रशारण लाइन व्यवस्थित रुपमा विस्तार भइरहेको छ, विद्युत् उत्पादन निरन्तर बढिरहेको छ । अब खपत बढाउने र विपन्नका लागि निशुल्क विद्युतको कुरा पनि यहीँ नेतृत्वको संकल्प छ ।

५) नयाँ प्रविधिसहितका सुरुङ र द्रूत मार्ग
बुटवल र पाल्पा जोड्ने सिद्धबाबा खण्डमा सुरुङ मार्ग बन्दैछ । योसहित नेपालमा आधा दर्जन सुरुङ्ग मार्ग बन्दैछन् तिनका लागि बजेट विनियोजन पौडेल अर्थमन्त्री हुँदा गरेका हुन् । सुरुङ्ग मार्ग सुरक्षाका लागि मात्र हैन, सडक छोटो बनाउन र डिजल पेट्रोलमा हुने ठूलो धन रासी बचाउने उपाय पनि हो । बहुप्रतिक्षित सिद्धबाबा सुरुङ्ग मार्गका लागि बजेटको स्रोत सुनिश्चित गर्ने मात्रै होइन, अहिले टेण्डर प्रक्रियासमेत पूरा भइसकेको छ ।

६) पुल प्रविधिमा नयाँ फड्को
बुटवलकै कैयन् बस्ती र वरपरका अरु धेरै बस्तीहरुमा आऊजाऊ गर्न जितगढी सम्पदा स्थलनिरको पुल मात्रै थियो । तिनाउ–दानव किनारमा रहेका अरु धेरै बस्ती जोड्ने पुलहरु थिएनन् । अहिले यी दुई नदीमा झण्डै डेढ दर्जनभन्दा धेरै पुल बनिसकेका छन् भने तिनाउमा मुलुककै आधुनिक सिग्नेचर पुल बन्ने छ । नेपालमा सिग्नेचर पुलको अवधारणा ल्याउने नेतामा विष्णुप्रसाद पौडेल नै हुन् ।

७) नदी किनारका बस्तीको सुरक्षा र भारतीय सिमासम्मै करिडोर
पुलको व्यापकतासँगै तिनाउ र दानव नदी किनारका बस्तीलाई सुरक्षित पार्ने करिडोरको समेत परिकल्पना गर्ने नेता उनै पौडेल हुन् । तिनाउ र दानव नदीको किनारै किनार लुम्बिनी, विमानस्थल हुँदै भारतीय सिमानासम्म व्यवस्थित सडक निर्माण गर्ने पौडेलको अर्को ड्रीम प्रोजेक्ट हो । तिनाउ र दानव किनारमा बन्दै गरेको करिडोरबाट प्रभावित हुने परिवारलाई सोही वडामा आकर्षक घडेरी र आवासविहीनलाई आवासको ग्यारेन्टी गर्दै योजना साकार पार्ने काममा पौडेल केन्द्रित छन् ।

८) अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र
विष्णुप्रसाद पौडेलका ड्रिम प्रोजेक्टमध्येका बुटवलमा अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्रको पूर्णताले यसक्षेत्रको विकासमा नयाँ आयाम थपेका छन् । काठमाण्डौ उपत्यका बाहिरको पहिलो र ठूलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बुटवल सभाहल) को निर्माणकार्य पूरा भएको छ भने नजिकै अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको निर्माण कार्य धमाधम भइरहेको छ ।
यसका अतिरिक्त बुटवल मेडिकल कलेज, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल खानेपानी आयोजना, संयुक्त फोहोर प्रशोधन केन्द्र (सैनामैना), लुम्बिनी परिक्रमा पथ, बुटवल मेडिकल कलेज, खेलकुदका रंगशाला, पालिकास्तरमा अस्पताल, सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर विकासलगायतका कैयन आयोजना विष्णुप्रसाद पौडेलका ड्रिम प्रोजेक्ट हुन् । यिनको पूर्णताले यसक्षेत्रको मात्रै होइन, मुलुककै कायापलट हुने निश्चित छ ।

९) बृहत् लुम्बिनीको अवधारणा
लुम्बिनीलाई केन्द्रमा राख्दै बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई जोड्दै बृहत् लुम्बिनीको अबधारणाका साथ यी क्षेत्रमा योजनाबद्ध विकासको थालनी गर्ने नेता विष्णुप्रसाद पौडेल नै हुन् । पूर्वमा दाउन्ने पहाड र पश्चिममा धानखोलाको पहाडका बीचको तीन जिल्ला र यी जिल्लासँग जोडिएका पहाडी भेगलाई समेत समेटेर बृहत् लुम्बिनीको अवधारणा ल्याउने नेता विष्णुप्रसाद पौडेल हुन् । जापानी प्रोफेसर केञ्जो टाँगेले बनाएको लुम्बिनीको गुरुयोजना अलपत्र थियो । कैयौं वर्षसम्म पनि पूरा हुन सकिरहेको थिएन । तर, जब विष्णु पौडेल मन्त्री बने उनैको पहलमा लुम्बिनीमा आवश्यक बजेटको प्रबन्ध गर्दै गुरुयोजना पूरा गराउने चरणमा पु¥याए । बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई जोड्लै बुद्ध सर्किटलाई विस्तार गर्ने, बुद्धवलीका क्षेत्रको समग्र विकास गर्दै बृहत् लुम्बिनी शान्ति सहरको निर्माण गर्ने विष्णु पौडेलको अवधारणा साकार हुँदा यो क्षेत्र वास्तवमै नमुना हुने निश्चित छ ।

रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा, लिला गिरी, दधिराम न्यौपाने, भूमिश्वर ढकाल, तुलसीप्रसाद चौधरी, भोजप्रसाद श्रेष्ठ, बासुदेव घिमिरेलगायतका नेताहरुको समन्वय, सहकार्य र नेतृत्वमा रुपन्देहीको समग्र विकासको खाका साकार पार्ने संकल्प छ । यसका साथै रुपन्देही, कपिलवस्तु र नवलपरासी (बर्दघाट पश्चिम) लाई जोडेर बृहत् लुम्बिनी मेगासिटी बनाउने जुन अवधारणा सार्वजनिक भएको छ यसको कार्यान्वयन हुँदा यो क्षेत्र मुलुककै नमुना बन्ने निश्चित छ । यो अवधारणा साकार पार्नुपर्ने छ ।