कपिलवस्तु–१ मा एमालेको ‘क्लिन स्वीप’

मेचीकाली संवाददाता

९ मंसिर २०७९, शुक्रबार
304 shares

बसन्ती आचार्य
कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ बलराम अधिकारी फराकिलो मतान्तरले विजयी भएका छन् । पाँचदलीय गठबन्धनबाट उम्मेदवारी दिएका चक्रपाणि खनाल (बलदेव) लाई फराकिलो मतान्तले पराजित गर्दै अधिकारी विजयी भएका हुन् । एमालेका केन्द्रिय सदस्य, कपिलवस्तु जिल्ला इञ्चार्जसमेत रहेका अधिकारी ३४ हजार ६ सय ७५ मतसहित विजयी भएका छन् भने माओवादी सचिवसमेत रहेका खनालले १८ हजार ९ सय ८३ मत प्राप्त गरेका छन् । एमालेका अधिकारी १५ हजार ६ सय ९२ मतको फराकिलो अन्तरले विजयी भएका हुन् ।

यस्तै प्रदेशसभातर्फ १ (क) मा एमालेका विष्णु पन्थी विजयी भएका छन् । सम्पन्न प्रदेशसभा १ को मतगणनामा उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै अगाडि देखिएका पन्थी फराकिलो मतान्तरले विजयी भएका हुन् । पन्थीका प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेशसभामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

यसैगरी प्रदेशसभा (ख) मा एमालेका उम्मेदवार मधुसुदनशरण चौधरी विजयी भएका छन् । चौधरीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सहसराम यादवलाई २ हजार ६ सय ८२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । कुर्मीले ११ हजार ७ सय ४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी यादवले ९ हजार ३३ मत प्राप्त गरेको निर्वाचन क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिए ।

निर्वाचनमा पराजित भएका यादव लुम्बिनी प्रदेशसभाका भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनी ०७४ मा यसै क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए । यस्तै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार फैजल खानले ८ हजार ८ सय ७ मत प्राप्त गरेर तेस्रो भएका छन् ।