काठमाडौं, । सर्वोच्च अदालतले अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा.गोविन्द केसीलाई वकिलको जिम्मामा रिहा गर्न आदेश दिएको छ । आदेशसँगै केसी रिहा भएका छन् । साथै सर्वोच्चले डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडी बाँकी कारबाही अघि बढाउन भनेको हो । अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने बुधबार बहस भएको छ ।
केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट र माफिया भएको आरोप लगाएका छन् । उनले आफ्नो आन्दोलन न्यायलय विरुद्ध नभई व्यक्तिमाथि भएको बताएका छन् । उनले भने, ‘मैले कुनै संस्था विरुद्ध आन्दोलन गरिरहेको छैन । प्रधानन्यायाधीश गोपाल पराजुली (व्यक्ति) माथि हो ।’
डा. केसीले आफूलाई दया र कृपाले छाड्न नपर्ने बताए । उनले आफू हिरासत मुक्त हुन पनि नचाहेको उल्लेख गरेका छन् । उनले भने, ‘मलाई दयामायाले छाड्न पर्दैन । म हिरासतमै भएपनि आफ्ना माग पुरा नहुन्जेल अनसन बस्छु ।’
उनले सम्बन्धित निकायलाई आफ्नो माग पुरा गरेपछि मात्रै हिरासत मुक्त गर्न आग्रह गरेका छन् । बहसमा अधिकांश कानुन व्यवसायीले केसीको मागमाथि व्याख्या गर्दै गोपाल पराजुलीमाथि लागेका विभिन्न आरोप तथा विवादबारे छाविन गर्नुपर्ने बताएका थिए ।