गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका बोहरा निर्वाचित

मेचीकाली संवाददाता

१० मंसिर २०७९, शनिबार
328 shares

बुटवल, मंसिर १० । रुपन्देही–३ मा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएका छन् । बोहराले २ हजार ६८१ मतान्तरले कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खाणलाई पराजित गरेका हुन् । बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

उनी २०३६ र २०४२ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित बोहरा २०७४ को निर्वाचनमा भने तत्कालीन एमाले नेता घनश्याम भुसालसँग क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए ।
रूपन्देही सदरमुकाम सिद्धार्थनगर (भैरहवा) सँग जोडिएको क्षेत्र नम्बर ३ दीपक बोहराको गृहनगर हो । २०४८ सालदेखि संसदीय राजनीति जित्दै आएका खाँणले पहिलोपटक राप्रपा नेताले ‘ब्रेक’ लगाइदिएका हुन् ।

खाँणले सत्तारुढ गठबन्धनको साथ थियो भने बोहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) साथ रहेको थियो । पञ्चायतकालदेखि रूपन्देहीमा चुनाव लड्दै आएका बोहरा खाँणसँग पहिलो चुनावी भेट थियो । रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् । बोहरा पोष्ट कोभिडले चुनावी अवधिभर आवाजविहीन थिए । उनले अहिले स्पिच थेरापी गरिरहेका छन् । घरदैलो होस् वा चुनावी सभा, उनी पुग्छन् तर बोल्दैनथे । बाध्यकारी अवस्थामा बोलेको पनि सहयोगीबाहेक अरुले बुझ्दैनन् । चुनावीसभामा उनले लेखेको भाषण अरूले नै पढिदिन्छन् । आवाजविहीन उम्मेदवार बोहराको चुनावी कमाण्ड सम्हालेका छन्, पूर्वगृहमन्त्री निरञ्जन थापाले ।

दुई महिनादेखि बोहराले ‘भ्वाइस रेस्ट’ मा थिए । ‘पोस्ट कोभिड’ समस्याले उनले चर्को बोल्न नहुने भएको हो । उनको चुनाव हाँकिरहेका पूर्वगृहमन्त्री थापाले पूरै चुनावी अभियान हाँके । बोहोरानिवास सिद्धार्थनगर भैरहवामा राप्रपा जिल्ला अध्यक्ष प्रतापशमशेर राणा र नातिनी स्वाती थापाले सहजीकरण गरेका थिए ।

बोहरा यसक्षेत्रका विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउँछन् । बुटवल–तानसेन सडक र भालुवाङ–प्युठान सडकको ट्रयाक खोलेर पञ्चायत कालमा समाज सुधारक बडाहाकिमका रुपमा परिचित प्रतिमान चन्द बोहोरा र नीमा बोहोरोका माहिलो छोराको रुपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक बोहरा रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेतताका रुपमा स्थापित छन् ।

व्यवस्थित बस्ती, बस्तीमा सडक, खानेपानी, विद्युत्, सिंचाइदेखि शिक्षामा गुणस्तर सुधारलगायतका काममा बोहोराले सिसिलाबद्ध काम गरेका छन् । भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलूभूज) को सुरुआत गर्दै तराईका अन्न भण्डारमा सिंचाइको प्रभावकारी व्यवस्थापन गर्ने नेताका रुपमा बोहोरालाई लिइन्छ । उनी जे जति राजनीतिमा आबद्ध भए यसअवधिमा विकासका विभिन्न आयोजनाहरुलाई अगाडि बढाउने भूमिका निर्वाह गरे ।