तिलोत्तमा, । तिलोत्तमा व्यापार संघको आयोजनामा बुधबारदेखि मणिग्राममा तिलोत्तमा व्यापार मेला शुरु भएको छ । मेलाको उद्घाटन गर्दै पुर्वमन्त्री एवं एमाले स्थायी समिति सदस्य छविलाल विश्वकर्माले मुलुक अब आर्थिक विकासको बाटोमा अघि बढ्ने बताए । केही समयभित्रै मुलुकले स्थिर सरकार पाउने र उक्त सरकारले शान्ति, सुशासन, स्थिरता र विकासलाई मूल मुद्दा बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।
निर्वाचनबाट ताजा जनादेश आइसकेपछि पनि वर्तमान सरकार अनेक बहानामा सत्ता लम्ब्याउन उद्दत रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्माले निर्वाचन आयोगले समेत सरकारको सत्ता लम्ब्याउने प्रयासलाई सहयोग पु¥याएको आरोप लगाए । ‘जनादेशको सबैले सम्मान गर्नुको विकल्प छैन, अब छिटो सरकार निर्माण गर्नेतर्फ सबैको सहयोगी भूमिका हुनुपर्छ’–विश्वकर्माले भने ।
बारम्बार व्यवसायीमाथिको हत्या र आतंकले व्यवसायीको सुरक्षामा चुनौती थपिएको उल्लेख गर्दै उनले राज्यको कमजोरीका कारण हत्याका शृंखला दोहोरिएको बताए । ‘अवको सरकारले शान्ति सुरक्षालाई मजबदुत बनाउने छ’–उनले भने । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य लिला गिरीले रुपन्देही आर्थिक विकासको केन्द्र बन्दै गएको उल्लेख गर्दै वर्षेनी आयोजना हुने मेला तथा महोत्सवले व्यापार बिस्तार, उत्पादनको बजारीकरण र व्यवसायीकरणमा सहयोग पु¥याएको बताए ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दधिराम न्यौपानेले अब राजनीतिक आन्दोलन सकिएकाले आर्थिक विकास अबको एजेण्डा भएको र यसलाई साझा मुद्दा बनाएर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय भोजप्रसाद श्रेष्ठ र डा.कृष्ण न्यौपानेले व्यवसायीहरुले ढुक्कसँग व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माणको लागि अवको प्रदेश सरकारले पनि भूमिका खेल्ने बताएका थिए ।
यस्तै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले मेलाले यस क्षेत्रको उद्योग र व्यापारको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने बताए । त्यस अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई, जिल्ला सदस्य यज्ञ गैरे, कांग्रेसका नगर कमिटी संयोजक हरिलाल पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ पाण्डे, तिलोत्तमा व्यापार संघका प्रथम उपाध्यक्ष बाबुलाल भुसाल, महासचिव विष्णु बराल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीलगायतले बोलेका थिए । माघ ९ गतेसम्म चल्ने मेलामा कृषि, गार्मेन्ट, हस्तकला, खाद्यान्न र होटल तथा रेष्टुरेन्टलगायतका ३२५ स्टल सहभागी भएको मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष झविन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
यसैबीच उद्घाटन समारोह पूर्व निकालिएको जनचेतनामूलक ¥यालीमा सहभागी संघ संस्थाहरुमध्ये प्रथम, द्वितीय र तृतीय र प्रोत्साहन हुनेलाई पुरस्कृत गरिएको छ । करिब ७५ संघ संस्थामध्ये क्षेत्री समाज तिलोत्तमा नगर समिति प्रथम,दर्शन कल्याण ठकुरी समाज दोस्रो, नमुना टोल विकास महिला समूह तेस्रो र थारुजागृति आमा समूह प्रोत्साहन भएको मूल्याङ्कन समितिका संयोजक डा. रोहितराज क्षेत्रीले बताए ।
तिलोत्तमा व्यापार मेला शुरु
