बुटवल, । बुटवलको चौराहा–योगिकुटी सडक खण्डको दायाँबायाँ हरियालीसँगै सुन्दर बगैंचा बनाउने अभियानमा स्थानीय र जनप्रतिनिधिका बीचमा सहकार्य भएको छ । स्थानीहरुले जनप्रतिनिधिहरुसँगै सडक किनारका दायाँबायाँ सुरक्षित तारबार गर्दै फुलबारी निर्माण गरेका छन् ।
खासगरी बुटवलको वडा नं। १० र ११ मा पर्ने व्यापारिक मार्गको दायाँबायाँ स्थानीय र त्यहाँका जनप्रतिनिधिहरुले सुन्दर फुलबारी निर्माण सुरु गरेका छन् । वडा नं। १० का समुदाय–जनप्रतिनिधिले त त्यहाँको फुलबारी निरिक्षणका लागि सिसी क्यामेरा नै जडान गरेका छन् ।
सिद्धार्थराजमार्गको छ लेनसडक अन्र्तगत योगीकुटीदेखि राजमार्ग चौराहसम्मको २ किलोमिटर सडक दुवै छेउलाई सिर्गाने नमुना अभियानको मंगलबार एक समारोहका बीच नगरप्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे । त्यसक्रममा उनले समुदायको सहकार्यले आफूहरुलाई थप हौसला मिलेको बताए । सडक किनारको ‘ग्रीन बेल्ट जोनमा’ मा रहेको ढुंगा–गिटीसहितको मिस्कटलाई कैयौं दिन लगाएर हटाई त्यहाँ फुलबारीका लागि आवश्यक माटो मल जुटाइएको थियो ।
सडक निर्माणका क्रममा त्यो ग्र्रीन जोनमा मिस्कट राखिएको भन्दै चौतर्फी आलोचना भएको छ । समुदाय–जनप्रतिनिधि सहकार्यमा त्यो मिस्कट हटाइएको थियो । त्यहीँ ठाउँमा विभिन्न जातका हाइब्रीड फुल र उस्तै प्रकारका बिरुवाहरु रोपिएको छ । मंगलबार नगर प्रमुख सुवेदीसहित वडा नं। १० का अध्यक्ष पदम थापा,सदस्यहरु,वडा नं। ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीलगायत जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, उद्योग संघ, व्यापार संघका प्रतिनिधिहरु र समुदायको सहभागिता थियो ।
फुल र बिरुवा रोप्ने गरी खनजोतको काम गर्न त्यहाँका टोलविकास संस्थाका महिला तथा जनप्रतिनिधिहरुले एक महिनाभन्दा लामोसमयदेखि पहल गरेको वडा नं। १० सदस्य बलु पुनले जानकारी दिए । यो स्थानमा करेसाबारीसमेत बनाउने तयारी छ ।
योगीकुटीदेखि चौराहसम्म दुवै तर्फका सडक छेउका घर तथा वरिवरिका घरहरुका महिलाद्वारा समूह बनाएर सडकलाई फुलबारी बनाउने अभियान थालिएको कालिका टोलकी अगुवा माया गलामीले बताइन् । उनले सिंचाइका लागि पानीको व्यवस्था मिलाइदिन जनप्रतिनिधिहरुसित अनुरोध पनि गरेकी छन् ।
उप–महानगरपलिकाले सडक किनारलाई हरियाली बनाउन बजेट विनियोज गरेको भएपनि महिलाहरुले समुदायबाटसमेत अफै रकम जुटाएका छन् । वडा नं।११ मा मात्रै विभिन्न सात वटा समूह बनाएर रकम संकलन गरी काम गरिएको थियो ।
यस्तै वडा नं। १० का महिलाहरुले पनि पाँच वटा समूह बनाएर काम गरेको त्यहाँका अगुवा बलु पुनले बताए । पुनकै नेतृत्वमा त्यहाँ करिब ६० हजार बराबरको लगानीमा सिसी क्यामेरा जडान गरेर फुलबारीको चौबीसै घण्टा निगरानी गर्ने व्यवस्था मिलाइएको अर्का युवा अगुवा नन्दु काउचाले बताए । त्यहाँ किनारमा अर्को छुट्टै बत्ती जडानको पनि तयारी रहेको कालिका फुलबारी संस्थाका अध्यक्ष खड्गबहादुर थापाले बताए ।
उप–महानगरपालिकाले हरियाली बनाउनका लागि भन्दै ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । सडकको दुवै साइडका लागि १५÷१५ लाखको दरले बजेट विनियोजन गरिएको बताए । अहिले महिलाहरुले थप कामका लागि स्वेच्छाले आफै पनि रकम उठाएको वडा नं। १० का अर्का अगुवा धर्मराज पौडेलले बताए ।
सोही अवसरमा बुटबल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजूले निजी क्षेत्रले पनि यस्तो काममा लागि सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले अरु क्षेत्रमा पनि यस्लाई विस्तार गर्नका लागि उवासंघ सहकार्य गर्न तयार रहेको बताए ।
लुम्बिनी नर्सरीका संस्थापक सञ्चालक रमेश पाण्डेले बुटबलदेखि लुम्बिनीसम्म नै सडकको दुवै साइडमा फुल र बिरुवा रोप्ने अभियान रहेको त्यसमा आफूले सहयोग गर्दै आएको बताए । उनले यसअघि तिलोत्तमा नगरपालिका पनि सडक किनारमा यसैगरी सहकार्य गरेका थिए । तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा पनि यसैगरी फुलबारी निर्माणको काम चलिरहेको छ । त्यहाँ पनि जनप्रतिनिधि र समुदायका बीचमा सहकार्यमा यस्तो अभियान चलिरहेको छ ।
सडकका किनारमा नमुना फुलबारी निर्माण
